एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा एनआरएन अमेरिकाले गरेका गतिविधिको सुक्ष्म अध्ययन गर्ने हो भने यसमा उठेर रहर पुरा गर्ने बाहेक धेरै काम भएको देखिन्न। सदस्य बन्न भन्दा उम्मेदवार बन्न देखिएको हानथाप र होडबाजीले यहि तथ्यलाई प्रमाणित गर्छ।
हाम्रो नानी देखि लागेको बानी के हो भने हामी हिजोको बिर्सिन्छौँ, आज गल्ति गर्छौं र भोलि पछुताउँछौं। जतिबेला हाम्रो हातमा तालाचाबी हुन्छ, त्यसको सहि प्रयोग गर्दैनौं। कतिपयले त वीस डलरमा हाम्रो तालाचावी नै बेच्न पछि पर्दैनौं। चुनावमा आफ्नो अधिकार अर्कालाई सुम्पे पछि उसले हाम्रो भोटको मोलमोलाई गर्छ, पद बाँड्छ र पद लिन्छ। हाम्रो तालाचावी किनेको पैसा उठाउन उसले पदहरु बेच्छ, तपाईं हाम्रो नाम बेच्छ। हेर्दा हेर्दै उसले पदका खुड्किलाहरु चढेर हामीले नदेख्ने ठाउँमा पुग्छ। हामी हिस्स पर्छौं। संस्था कहिले मुद्धामा फस्छ, कहिले बिबादमा फस्छ। समाज विभाजित हुन्छ, संस्थाको उद्देस्य एकातिर हुन्छ भने तिनै पद बेचबिखनका ब्यापारीहरु भने मालामाल हुन्छन। प्रत्येक दुइ बर्षमा उनीहरु पैसा लिएर फेरी हामीसंग आउँछन्, हामीलाई किन्छन् र बाटो लाग्छन। भएको यत्ति हो।
जहिले सम्म हामीले योग्यताको आधारमा मान्छे चुन्ने इच्छा र तागत राख्दैनौ, त्यो बेलासम्म यस्तै हो। काम उही गरेर फरक परिणामको आशा गर्नु पागलपन हो। नेपाल देखि अमेरिकाका संस्थाहरुमा हुने चुनावहरुमा हामीले यहि गल्ति गर्दै आएका छौं अनि पटक पटक गल्ति दोहोर्याउँदै आएका छौं। फलानाले गरेन भनेर औंला ठड्याउन त सक्छौं तर इमान्दार नेतृत्व छान्न हामी सक्दैनौं। त्यसैको फलस्वरूप जुन जोगी आए पनि कानै चिरेको भन्ने कथन हरेक पटक चरितार्थ हुँदै आएको छ। त्यसैले बुद्धि पुर्याउने बेला यहि हो। को कति पानीमा छ भनेर छुट्टाउन प्रयास गर्ने बेला यहि हो। संस्थालाई बचाउने, सक्रिय र प्रभावकारी बनाउने हो भने बुद्धिको घैंटो उघार्ने बेला यहि हो। हाम्रोलाइ होइन राम्रोलाई चुन्ने अवसर यहि हो। सुसू गर्नु अघि दैलो देख्ने बेला यहि हो। पछुताउनु नपर्ने गरी आफ्नो बिबेक प्रयोग गर्ने बेला यहि हो।
सदस्यहरुको नामावली सार्बजनिक भएको छ। त्यसमा नक्कली नाम छन् भने औंल्याउने बेला पनि यहि हो। अहिले त्यहि नक्कली नामावली हासिल गर्न दौडधुप गर्ने र नामावली हात परेन भने बल्ल मुद्धा वा अन्य नौटंकी गर्नु हुँदैन। प्रकाशित नामावलीमा कुनै आशंका छ भने त्यसलाई सच्च्याउन वा त्यसलाई बाहिर ल्याउन यतिबेलै बल गर्ने हो। पछि हारेर उत्तानो टांग परेपछि रुँदै आउने होइन। शंका निवारणको लागि बहस र छलफल गर्ने यति बेलै हो। जिम्मेवार पक्षले पनि नामावलीको इतिवृतान्त प्रस्तुत गरेर सबैको विश्वास आर्जन गर्ने काम गर्नु पर्छ।
प्रबासमा नेपालीहरुको साझा संस्था एनआरएन नै हो। यसले मात्र नेपालीहरुलाई बिवास्ब्यापी रुपमा जोड्न सक्छ। यसको बिकल्प नभएको बर्तमान अबस्थामा यसलाई सुधार्नु भन्दा अर्को बिकल्प हामीसंग छैन। त्यसैले उम्मेदवारको क्षमता जाँच्ने बेला यहि हो। उनीहरुको बिगत हेर्ने र बिगतको काम गरेको तरिका हेरेर बिजयी गराउने हो। कसैले भनेको भरमा होइन आफैले बुझेर भोट हाल्ने हो। आफ्नो भोटको सदुपयोग आफै गर्ने हो। भोट हाल्न अर्कालाई आइडी र पासवर्ड दिने होइन आफैले कस्ट गर्ने हो। यदि हरेक सदस्यहरुले उम्मेदवार बुझेर र उसको बिगत एबम आगामी योजना हेरेर भोट हाल्ने हो भने पक्कै संस्था सुध्रिदै जान्छ। बिस्तारै यसले गतिला काम गर्न सक्छ र हामी यसको सदस्य हुनुमा गर्ब गर्न सक्छौं।
होइन भने पारा फेरी उस्तै हो। मान्छे उस्तै खाले आउँछन्। तिनले तपाईं हामी संग भोट माग्न आउंदैनन, भोट बैंक तिर लाग्छन। फलानासंग यति भोट छन् भनेर उसकै चाकरी गर्छन। त्यहि सिमित व्यक्तिहरुको घेरा भित्र प्रतिस्पर्धा हुन्छ, हानथाप हुन्छ। २० डलरमा हामीले हाम्रो अधिकार बेचिसके पछि वा उम्मेदवारको योग्यता र क्षमताको आधारमा होइन को कसको मान्छे भन्ने आधारमा मान्छे चुनिन्छन। उनीहरु संस्था वा सदस्यहरु प्रति जवाफदेही नभएर उनी प्रति हुन्छन जसले उनीहरुलाई त्यो पदमा पुर्याएका थिए। त्यसैले बुद्दि पुर्याउने बेला यहि हो। नत्र बिगत बिर्सिने, बर्तमानमा गल्ति गर्ने र भविस्यमा पछुताउने हाम्रो परम्परा कायम रहने छ। गल्ति दोहोर्याई रहने हो भने चाहिं भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न। रामराम।