ओलीको रास्ट्रबादी धोती खुस्किंदै
म बाग्लुंग जिल्ला गल्कोटको बासिन्दा जुन ठाउँ राजनीतिक रुपमा बढी सक्रिय र जागरुक मानिन्छ । बिशेष गरी नेपाल कम्युनिस्ट पार्टी मसालका नेता चित्रबहादुर केसीले आफ्नै बाउले बनाएका तमसुक च्यातेर राजनीतिमा लागे पछि गल्कोट झन् राष्ट्रिय राजनीतिको समेत वरिपरि घुमिरह्यो । एकीकरण अघि गल्कोट एघार गाबिस मिलेर बनेको एक राज्य थियो । धेरै पहिलेको कुरा नगर्दा हामी जन्मे पछिको अबस्थामा त्यहाँ दलित बाहेक अरु जनजातिहरु कुनै फटाहा र शोसकहरुको दमनमा बस्नु परेन । त्यहाँका मगरहरु लाहुर जाने प्रथा भएकोले बाहुन भन्दा आर्थिक क्षेत्रमा अगाडी थिए । त्यहाँ जनाजातिहरुनै देश विदेश घुम्ने देख्नेमा पर्थे । उनीहरु चेतनशील थिए ।
मलाई सम्झना छ, चित्रबहादुर केसी कै गाउँको छेवैमा भए पनि हाम्रो गाउँमा कम्युनिस्ट थिएनन, सबै कांग्रेस । २०३६ सालमा चित्रबहादु केसी हाम्रो घरमा आएको याद छ मलाई । उहाँले निर्बाचन बहिस्कार गर्न भन्न आउनु भएको थियो । तर गाउँमा सबैले निलोमा भोट हाले । निर्बाचनमा धाँधली गरेर निर्दललाई बिजयी गराइयो । मलाई याद छ, त्यहि सेरोफेरोमा हामी ससाना बालबालिका समेत राजनीतिक रुपमा जागरुक थियौं । दिनभर स्कुल गएर फर्के पछि र साँझ खाना खाए पछि निर्दल मुर्दाबाद र बहुदल जिन्दाबाद भन्दै नारा लगाउँथ्यौं । हामी बुझेर भन्दा पनि समग्र त्यतिबेलाको राजनीतिक माहोलबाट प्रभावित थियौं ।
अहिले त्यसको करिव ३५ बर्ष पछि नेपालमा आकास पातालको फरक भैसकेको छ । थुप्रै आन्दोलन, क्रान्ति र द्वन्दहरुको शृंखला पछि राजनीतिक आन्दोलनको पट्यारलाग्दो चरण समाप्त भएको भान हुँदैछ । भागेर हिड्नुपर्ने अवस्थाबाट कम्युनिस्टहरु सत्तामा पुगिसकेका छन् । केपी वली राजा पछि अहिले सम्मकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् । लामो संक्रमण, अस्थिर राजनीति र बाहिरी हस्तक्षेपको पराकास्ट पछि नेपाली जनतामा आशाको संचार भएको छ । नेपाली जनता बन्दै र भत्कदै गरेका सरकारहरुको कारण आजित बनिसकेका थिए । सत्तामा बसेर भत्ता खान पल्केका बाहेक धेरैलाई कांग्रेसको पराजय नमिठो लागेको छैन । यसको कारण नेपाली जनताको स्थिर र बलियो सरकारको चाहना हो ।
नेपाली जनताले यति सारो विश्वास गरेर अहिलेको गठबन्धनलाइ बिजयी गराउनुमा प्रधानमन्त्री केपी वलीको नाकाबन्दी ताकाको बोलि र अडान अर्को मुख्य कारण हो । तराइबासीहरुलाई शिखण्डी बनाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको बेला ओली प्रधानमन्त्री थिए । सानो, आर्थिक रुपमा कम्जोर रास्ट्रको रुपमा नेपालले गर्न सक्ने केहि थिएन । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, सार्क जस्ता फोरमहरुमा नेपालले खासै प्रभावित गर्ने गरी नाकाबन्दीको बिरोधमा अन्तररास्ट्रिय जनमत निर्माण गर्न सकेन । तर वलीको बोलीले धेरैलाई राहत दियो । उनले भारतसंग नझुकी नाकाबन्दीको मुकाबिला गरिरहे । उनले बास्तवमा भन्ने हो भने केहि नगरी पनि नेपालीको मन जिते । ५०० रुपैयाँ लिटर पेट्रोल तिरेर पनि नेपालीहरु नाकाबन्दीमा झुकेनन् । ग्याँसमा पकाउनेहरुले दाउरा खोज्न गए तर सरकार माथि कुनै दवाव सिर्जना गरेनन । भारत गल्यो, त्यसपछि शेरबहादुर देउबा आए, चुनाव भयो र नाकाबन्दीको अबधिमा लिएको अडानको कारण ओलीलाई नेपाली जनताले प्रधानमन्त्रीको पदले पुरस्कृत गरे ।
मान्छे भन्छन कसैले अति गर्छ भने त्यसको भित्र केहि कुरा लुकेको हुनसक्छ । कसैले चर्का कुरा गर्छ भने दालमे कुछ काला है भनेर शंका पनि गरिन्छ । महाकाली सन्धिमा तीन हात उफ्रेर पार्टी फुटाल्ने हदसम्म पुगेर हस्ताक्षर गर्ने ओलीको रास्ट्रबादि रुपले एमाले भित्रै कौतुहलता सिर्जना गर्यो । तरपनि ठट्यौली शैलीमा वालुवाको घर निर्माण गर्दिने उनका भाषण धेरैले रुचाए । जुन जुन अभिव्यक्तिका कारण शेरबहादुर अलोकप्रिय भएका थिए र ओली सत्तासिन भएका थिए तिनै कुराहरु अहिले धरापमा पर्न थालेको महशुश नेपाली जनताले गर्न थालेका छन् । उनीहरुलाई थाहा हुनुपर्छ नेपाली जनता हिजोको सबै बिर्सिन्छन, आजको सबै सम्झिन्छन र भोलिको कुनै वास्ता गर्दैनन् । तर यतिबेला नेपाली जनताको विस्वास बिपरित यो गठबन्धन निर्माणको औचित्य र सुविधाजनक बहुमत प्राप्तिमा प्रमुख रहेका कारणहरु धरापमा परेको महशुश हुँदैछ ।
स्थायी र बलियो सरकार
भन्ने हो भने नेपालमा बिक्रम सम्बत २००७ सालदेखि नै कुनै सरकार स्थिर बन्न सकेन । २००७ देखि २०१७ सम्म राजा र कांग्रेसको खिचातानीले सरकारको फेरबदल भैरह्यो । २०१७ मा महेन्द्रले कु गरेर सत्ता आफ्नो हातमा लिए पछि राजा त बलिया बने तर प्रधानमन्त्री कहिल्यै पनि लामो समय काम गर्न सकेनन । २०४६ सालपछि नेपाली कांग्रेसले बहुमत प्राप्त गर्यो तर ३ बर्ष पछि छत्तीसे र चोहत्तरेको लडाईले मध्यावधि निर्बाचन भयो र त्यस यता कुनै पनि सरकार बहुमतको र शक्तिशाली बन्न सकेनन । यतिबेला एमाले र माओबादीको एकीकरण गर्ने उद्घोष सहित निर्बाचनमा गए पछि जनताको स्थायी सरकारको चाहना पुरा हुने देखेर यो वा त्यो नभनी गठबन्धनई भोट हाले । तर यतिबेला एकीकरणमा पनि उही पुराना खेल, बहुमत र अल्पमतको दुहाइ, सम्मान र अपमानको रटान देखिन थालेको छ । जुनसुकै नाममा पनि नहुने एकीकरण नेपाली जनतालाई स्वीकार्य हुँदैन । एकीकरण भएन भने सत्तामा बस्ने अधिकार कसैलाई छैन ।
तर रास्ट्रिय र बस्तुगत आबस्यकताहरुको बेवास्ता गर्दै आफ्ना आफ्ना मनोगत कुतर्क दिंदै ओली र प्रचण्डले एकीकरणलाइ दिनदिनै लम्ब्याउदै छन् ।
रास्ट्रियता र स्वाभिमान
गरिबी र रास्ट्रियता कम्युनिस्टहरुका जनता भुलाउने गुलिया लड्डु हुन् । गरिवहरु नभएको र बलियो राष्ट्र भएको ठाउँमा कम्युनिस्ट फ़स्टाउन सक्दैनन् । नेपालमा पनि भारतीय हेपाहा प्रवृतिको कारण उनीहरुका रास्ट्रबदि नारा राम्रै संग बिक्ने गरेका छन् । २०५१ सालमा बाबुरामले जनयुद्ध शुरु गर्नु अघि प्रस्तुत गरेको ४० सुत्रीय माघमा अधिकांश रास्ट्रियतासंग नै सम्बन्धित थिए । सोहि नाराले नै धेरै चोटी कम्युनिस्टहरु नेपालमा सत्तामा पुगेका छन् । ओलीको सत्तारोहणको प्रमुख कारण यहि रास्ट्रबदि नारा हो ।
तर अहिले केपी ओलीको सरकार त्यसमा पनि चुक्न थालेको छ । हनिमुन मनाउन दौडदै दिल्ली पुग्नु संयोग मात्र मान्न सकिन्न । उक्त भ्रमणमा निर्बाचनका बेला हाँकेका गुड्डीलाइ औपचारिक रुपमा भारत सामु राख्नुको सट्टा आफु नकारात्मक रुपमा प्रस्तुत भएकोमा माफी माग्न गए जस्तो देखिन पुग्यो । शेरबहादुर देउबाले भारतका रास्ट्रपति आउँदा बिदा दिने निर्णय लम्पसारबादी प्रवृतिको रुपमा चित्रित गरेका ओली अहिले मोदी आउँदा फेरी सोहि काम गर्दैछन । केपी ओली भारत जाँदा भारतमा सार्बजनिक बिदा दिइएको थियो ? मोदी आउँदा सार्बजनिक बिदा दिनु सम्पर्पणबाद होइन ? कि अरुले गर्दा रास्ट्राघाति तर त्यहि काम आफुले गर्दै रास्ट्रबादि भइन्छ ? शेरबहादुरलाइ रास्ट्रघाति र ओलीलाइ रास्ट्रबादि देख्ने कतिपय उपबुज्रुकहरुले अहिले के भन्दै छन् होला ?
संसारको हरेक देशको उदाहरण हेर्ने हो भने कुनै देशको दुताबासले त्यो देशमा स्थानीय रुपमा कुनै लगानी गर्न पाइन्न । तर भारतीय राजदुतले त्यो काम लामो समय देखि गर्दै आएका छन् । स्कुलहरुमा लगानी गर्ने र त्यहाँका बालबालिकाहरुलाई आफ्नो भजन गर्न लगाउने भारतीय प्रवृति देखिएकै हो । त्यसको ब्यापक बिरोध भए पछि शेरबहादुर देउबाले त्यस्ता परियोजना नबिकरण नगर्ने निर्णय गरेका थिए । तर अहिलेको रास्ट्रबादि सरकारले त्यस्ता परियोजनाहरु नविकरण गर्ने निर्णय गरेको छ । यसले ओलीको रास्ट्रबादि छबिमा फेरी धोति लगाइदिएको छ । यसले उनी पनि उही ड्याङ्गका मुला मात्र होइन, सोहि ड्याङ्गका झन् ठुला मुल साबित भएका छन् । यो निर्णयको देश बिदेशमा बसेर तातो न छारोका कुतर्क गर्ने ओलीभक्तहरुले कसरी परिभाषित गर्ने हुन् हेर्न धेरै दिन कुर्न भने पक्कै पर्दैन ।
जे भए पनि नेपाली जनताको भरोशा ओलीमाथि लागेका प्रमुख कारण माथिका दुइ मुद्धाहरु हुन् । सबै नेपाली चाहन्छन, ओलीले भने अनुसार गरुन । पार्टी एकीकरण होस्, सरकार बलियो र स्थिर होस् अनि बैदेशिक हस्तक्षेपमा कमि हुँदै जाओस । नत्र जसरी नाटकीय रुपमा ओली सत्तामा आएका थिए, त्यसरी नै बिदाइ हुनेछन । विचार सबैले गर्नु पर्छ, पांच बर्ष इतिहासमा लामो होइन, फेरी पनि जनतामा जानैपर्छ ।