युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल मैदानमा सम्पन्न टुर्नामेन्टमा ६ टीमका ४२ जना भन्दा बढी भलिबल खेलाडीहरुको सहभागिता रहेको थियो।
डालस फोर्ट वर्थ क्षेत्रमा भलिबलको बिकासमा सम्पर्पित नेप्स्टार भलिबल क्लबले यो टुर्नामेन्ट आयोजना गरेको थियो। पछिल्ला बर्षहरुमा दशैं तथा तिहारको अबसरमा राज्य स्तरीय र अन्तर राज्य प्रतियोगिता गर्दै आएको नेप्स्टारले यसबर्ष बिभिन्न कारणले त्यो स्तरको टुर्नामेन्ट आयोजना गर्न अवस्था अनुकुल नभए पछि स्थानिय खेलाडीहरुको सहभागितामा मैत्रीपूर्ण खेल आयोजना गरेको हो। “ठुलो स्तरको कार्यक्रम गर्न नसके पनि मैत्रीपूर्ण खेल आयोजना गरेर त्यसलाई निरन्तरता दिएका हौं” क्लबका अध्यक्ष भुवन शिंह आलेले युएसएण्डनेपाल संगको कुराकानीमा भने।
स्थानीय मैत्रीपूर्ण भनिए पनि टुर्नामेन्टमा नेपाल भलिबलका पूर्व रास्ट्रीय कप्तान कैलाश भट्ट, नेपालका राष्ट्रिय स्तरीय खेलाडी दिपक थापा,रमेश बोहोरा, लोकेन्द्र कुसारी लगायत अन्य उत्कृस्ट खेलाडीहरुको सहभागिता थियो।
खेलमा ६ जना उत्कृस्ट खेलाडीहरुको नेतृत्वमा ६ वटा टीम निर्माण गरिएको थियो। मैत्रीपूर्ण र प्रतिष्पर्धा होस् भन्ने मूल उद्देस्यका साथ खेलाडीको चयन गरी टीम निर्माण गरिएको थियो। टीमहरुको नेतृत्व कैलाश भट्ट, दिपक थापा, रमेश बोहोरा, लोकेन्द्र कुसारी, सुजन परियार र इश्वर कार्कीले गरेका थिए। सबै खेलहरु मैत्रीपुर्ण, प्रतिष्पर्धात्मक र सभ्य रुपमा सम्पन्न भएका थिए।
मैत्रीपूर्ण भनिए पनि बिजेता र उपबिजेतालाई नगद, शिल्ड तथा पदक वितरण गरिएको थियो। टुर्नामेन्टमा रमेश बोहोराले नेतृत्व गरेको टीमले पहिलो स्थान हाँसिल गरेको थियो भने इश्वर कार्कीले नेतृत्व गरेको टीमले दोश्रो स्थान प्राप्त गरेको थियो। यसको ब्यबस्थापन खेलाडीहरुको सहयोगमा नेप्स्टारले गरेको थियो भने शिल्ड र पदक भने शाह फाउन्डेसनले प्रायोजन गरेको थियो।
कार्यक्रममा रेफ्रीको रुपमा भुवन शिंह आले, भिम थापा, कमल पौडेल, घनश्याम पोख्रेलले गर्नु भएको थियो। त्यस्तै कार्यक्रमको अबधिबर होस्टको रुपमा कार्यक्रम संचालन पत्रकार दुर्गेश बोगटीले गर्नु भएको थियो।