मार्सी पुराण
महंगीले ढाड सेकेर उठ्न नसक्ने बनाएको वेला एका विहानै कसैले ढोकाको घण्टी बजायो । हेर्न जादा पार्सलको पोका लिएर हुलाकी आएको रहेछ । के पार्सल आएको रहेछ भनी खोलेर हेरें, राता राता फलेका गहुँका दाना जस्तै मोटा मोटा चामल को पोको रहेछ । नाम हेरें चिन जानका एकजना मित्रले जुम्ला देखि पठाएका रहेछन् । जे भएपनी कोदोको पिठोले पालो पाउने आशले लौ चामल भन्दै श्रीमतिलाई दिएँ । फेसबुकमा मस्त उनि एक छिन केहि बोलिनन। एकछिन पछि के हो यो भनेर उनले सोधिन । मैले चामल हो लौ पकाऊ भन्दै ति मित्रप्रति कृतज्ञ बन्दै बाहिर निस्कें ।
आफ्नै सुरमा बाहिर निस्किन लागेको मलाई एक्कासी बुढीको आवाजले झसङ्ग बनायो । भन्दै थिइन यो त मार्सि चामल हो खान हुन्न पच्दैन भन्दै मोबाइलमा ठुलै लफडाको महात्म्य नै देखाइन । यो कुराको वास्तविकता पत्ता लगाउनु पर्यो भनेर ढोकामै चामलको ढुवानी गर्ने उनै मित्रलाई फोन गरें । उनी अफिसमा व्यस्त रहेछन । पचाउन सके खाउ तर चरेसको थालमा खानु भने । के होला यो साच्चै खानै नहुने चामल हो त डाक्टर लाई सोध्नु प¥यो भनेर फोन गरेको कस्तो खालको डा. परेछ कुन्नी पाएको वेलामा जती हसुुरे पनि हुन्छ पच्छ भन्यो । उसको कुरो विश्वास लागेन अर्को डा. लाई फोन गरे कहाँको खेलो हरायको पि.एच.डि. वाला डाक्टर परेछ के के राजनितिक दर्शन छाट्यो “भन्ने हामीलाई लाई रा छ” भन्ने वाक्य बाहेक केहि पनि बुझिन । हरेस त खान भएन नि भनेर अर्को डाक्टर लाई सोधेको हामी आन्दोलनमा छौ मान्छे मर्न लागे हामिलाई मतलव छैन यस्तो कुरा सोध्ने अहिले भन्न मिल्दैन त्यहि पनि क्लिनिकमा आउछौ भने भन्छु भन्यो ।
अनि लागियो उसको क्लिनिक तिर । कुखुरा फर्मको शैलिमा पूरै अस्पतालनै चलाएको डा.ले भन्यो यो चामल खादै नखानुस पच्दैन कत्रा कत्रा सत्र हजार मान्छे ,अरबौ अरब पैसा, हात हतियार , लाज शरम सबै पचाउन सक्ने, हाच्छ्युं आउँदा पनि विदेशी ठूला हस्पिटलमा पुग्ने मान्छेलाई त यो चामल पचाउन नसकेर वेहाल भा छ । तैंले खादैँ नखा भन्यो । भारी मन लिएर घर फर्किएँ ।
यो चामलको बारेमा उठेको मेरो जिज्ञासा शान्त हुनुको सट्टा झन् अशान्त भयो । जसरी पनि पत्ता लगाउने अठोट गरेर ज्योतिषको घर तिर लागें । ज्योतिषले मलमासमा लागेको ग्रहणको दोष अनाजमा लाग्ने योग रहेको र त्यो पालो यस पटक मार्सि धानमा परेकोले नखाउ, यसको सेवनले अनाहकमा दोष लाग्छ भने । भोक ठूलो कि दोष ठूलो जे पर्ला पर्ला खान्छु भन्दै फर्किदै थिए । होइन यस्ता कुरा त बैद्ययलाई पो थाहा हुन्छ भनेर बैद्यलाई फोन गरेर सोध्न प¥यो भनेर फोन हानेको यो नम्वर उपलब्ध छैन भन्यो कुरो बुझ्दा बैद्यका कारिन्दाहरु झिटि झाम्टा धनमाल लिएर भागी सकेकोले बुढाको अहिले केहि पनि छैन खोजेर पनि भेटिन्नन् र भेटे पनि काम छैन भने ।
यो भात खान कर्ममा लेखेको रहेन्छ भन्दै हिड्दै थिए झल्यास्स एउटा कुरा याद आयो । यस्तो चामलको कुरा त झाँक्रिलाई पो थाहा होला ।चामलका गेडा छोएर रोग पत्ता लगाउने र प्रत्येक अनुष्ठानमा टपरीमा चामल नराखी कामै नगर्ने असलि चामल विशेषज्ञ त झाँक्रि पो हुन । डाक्टरको विभिन्न खालको टिप्पणीले वाक्क भएको मलाई बाटैमा पर्ने झाँक्रिको घरमा पस्न मन लाग्यो र झाँक्रिबाट समस्याको समाधान हुने आश बोकेर झाँक्रिको घरतिर लागे ।
झाँक्रिको घरमा पुग्दा लाग्यो म बल्ल सहि ठाँउमा आइपुगे । घरमा पुगेर आँगनबाट बोलाएँ, कोहि पनि बोलेन । घरमा भित्रबाट चुक्कुल लगाएको रहेछ । ढोेका ढक ढक गरे खुलेन । झाँक्रिले के गर्दै रहेछन् कुन्नि घर भित्रबाट गुनगुन आवाज मात्रै आयो । घर पछाडिबाट बोलाउनु पर्यो भन्दै करेसा तर्फ जाँदै थिएँ झल्यास्स “कवड्डी कवड्डीे” फिल्मको झाँक्रिवाको कर्तुत सम्झना आयो। त्यस पछि हिम्मत नै आएन । भारी मन लिएर घर फर्कदै थिएँ बाटोमा चिप्लिएर नराम्ररी लडेछु । देखाउन ल्याएको चामल पनि सबै पोखिएछ । पुर्पुरोमा नराम्ररी चोट लाएर बेहोस पो भएको रहेछु ।
होसमा आए पछि बल्ल महशुस गरें, दोष चामलको होइन यो त रोपे फल्छ, नरोपे फल्दैन । दोष त यसको स्वादमा पल्केर सबैको हितमा काम गर्नु पर्नेमा खुवाउनेको हितमा काम गर्ने र भात खुवाएर आफ्नो स्वार्थ पुरा गर्नेको हो भन्ने सम्झिँदै घर फर्कें । यसको मिठो स्वाद लिने उद्देश्यले आफैले त्यसलाई पकाएं र मिठो मानी मानी खाएँ । इतिश्री मार्सी पुराण !!