झुलाघाटबाट ५२ बालकको उद्धार
बैतडी, ८ चैत : बैतडीको सीमा नाका झुलाघाटबाट आज प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ ।
बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा नाका प्रहरीचौकी झुलाघाटका प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताउनुभयो ।
जसमध्ये २८ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने २४ जनालाई अहिले सीमा नाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेको पाण्डेयले बताउनुभयो ।
बाह्र वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घर परिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ । उद्धार गरेका सबै बालकलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । (रासस)