डालसको नेपाली पाठशालाका नानीबाबुहरु आइतबार दिक्षित हुने
मे ९, डालस, टेक्सास । टेक्सासको डालस वरपर बस्ने नेपालीहरुको साझा संगठन नेपाली समाज टेक्सास हो । सन् १९९८ देखि स्थापना भएर नेपाली समुदायको सेवामा निरन्तर समर्पित नेपाली समाज टेक्सास बिस्वभर नेपालीहरुद्वारा स्थापित संस्थाहरुमा सक्रिय मानिन्छ । २०१५ मा नेपालमा गएको महाभूकम्पमा यो संस्थाले ठुलो रकम सहयोग जुटाउन सफल भएको थियो भने अन्य क्रियाकलापहरुमा पनि यो संस्था उदाहरणिय मानिन्छ ।
यसले नेपाली भाषा सिकाउन, नैतिक शिक्षा सिकाउन नेपाली पाठशाला समेत संचालन गरेको छ ।शैक्षिक सत्रको समाप्ति संगै दिक्षान्त समारोह समेत गर्छ । बर्षभरी दिक्षान्त समारोहमा ती साना बालबालिकाले के सिके भनेर त्यहाँ प्रस्तुत गरिन्छ । कसैले गजबले नेपाली सिकेका हुन्छन भने कसैले नाच्न । उनीहरुको हौसला अझै बढाउन दिक्षान्त समारोहमा पुरस्कार, प्रमाणपत्र प्रदान गरिन्छ । उनीहरुले सिकेको नाच प्रस्तुत गर्ने अवसर प्रदान गरिन्छ । आफुले सिकेको कुरा सबैको सामु भन्ने अवसर पनि प्रदान गरिन्छ । यो बर्ष पनि नेपाली समाज टेक्सासले त्यो परम्परा कायम राखेको छ । आउँदो मे १४ आइतबार दिउसो १ बजे देखि नेपाली समाज टेक्सासले नेपाली पाठशालाका बिद्यार्थीहरुको दिक्षान्त समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी बालबालिका दिक्षित हुनेछन ।
भनिन्छ, डालस वरपर २० देखि ३० हजार नेपाली बसोबास गर्छन । उनीहरुका बालबच्चा पनि होलान । यति ठुलो जनसंख्याको बिचमा रहेको एउटा मात्र नेपाली भाषा स्कुलमा यति थोरै बिद्यार्थी किन भए होलान भनेर मानिसहरु सोध्ने गर्छन । यसमा संस्थाको कमजोरी छ कि स्वयम् अभिभावकको ? कोहि भन्छन नेपाली समाज टेक्सासको ब्यबस्थापन ठिक छैन, त्यसैले अभिभावकहरु आफ्नो बच्चा ल्याउन चासो दिंदैनन । फेरी नेपाली समाज टेक्सासका समाजसेवीहरु अर्कै भन्छन । हामीले बच्चाहरुलाई पिएचडि गराउने होइन, अलि अलि भाषा सिकाउने हो । अभिभावक आफ्ना बच्चाको पढाई प्रति गम्भीर देखिन्नन् । स्कुलमा बच्चा छोडेर गफ हाँकेर बसेर बच्चाले सिक्दैनन । हामीले अलिकति बाटो देखाउने प्रयत्न मात्रै गरेको हो, त्यसलाई साँच्चिकै परिणाममुखी बनाउन अभिभावक नै सचेत र सक्रिय हुनुपर्छ ।
मलाई लाग्छ कमजोरी दुवै पक्षका होलान, सुध्रिनु पर्छ । नेपाली समाज टेक्सासले पनि अलि ब्यबस्थित गर्नु पर्छ । अभिभावकले त झन् जिम्मेवार हुन जरुरी छ । भोलि तपाईंको बच्चाले नेपाली नजानेर हजुर बा आमासंग पनि अंग्रेजीमै भट्भटाउन शुरु गर्छ अनि बल्ल थाहा हुन्छ । यो वा त्यो नाममा नेपाली पाठशाला नपठाउने बाबा आमा पछुताउनु पर्नेछ । कृपया तपाईंहरुका पनि बालबालिका छन् भने उनीहरुलाई नेपाली सिक्ने अवसर दिनुस । गफ छाँटेर बस्नु भन्दा उनीहरुलाई सभ्य र सुसंस्कृत बनाउन समय दिनु पर्छ । बुढेसकालमा पुर्पुरोमा हात राखेर पछुताउनु भन्दा अहिले अलिकति समय लगानी गर्नु पर्छ । नेपाली भाषा सिकाउनु हाम्रो पहिलो कर्तब्य हो । अंग्रेजी बोले भनेर नाक फुलाएर नबस्नुस, नेपाली भाषा नै उनीहरुलाई हाम्रो इतिहास, पहिचान, संस्कृति जस्ता कुराहरुको वरिपरि राख्ने एकमात्र शुत्र हो ।