रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको संक्षिप्त इतिहास र आधारभूत भिन्नताहरु
हामी मध्ये धेरैलाई थाहा छ, अमेरिकामा दुइ पार्टीले राज्य गर्छन रिपब्लिकन र डेमोक्र्याट । अघिल्लो लेखमा यी दुइ पार्टीहरुका खास भिन्नता बारे केहि चर्चा गरेको थिएँ। हामी नेपालका राजनीतिक पार्टी र तिनीहरुका गतिबिधिले दिक्क हुँदा प्रायजसो बिकसित मुलुकको जस्तो राजनीतिक चरित्र र संस्कार हुनुपर्छ भन्ने गर्छौं। त्यस्तो मेसोमा सम्पन्न र धनि अनि बिस्वशक्तिको रुपमा अमेरिकाको नाम पहिलो नम्बरमा आउँछ। के अन्य बिस्वले सोंचे जस्तो यी दुइ पार्टीमा राजनीतिक संस्कार र चरित्र छ ? यो प्रश्न गम्भीर छ।
अघिल्लो लेखमा मैले नेपालका राजनीतिक पार्टीहरु मुख्य एजेन्डाहरुमा मिल्छन तर झिनामसिना कुराहरुमा बाझाबाझ गर्छन भनेको थिएँ। तर अमेरिकाका राजनीतिक पार्टीहरुको भिन्नता भने मुख्य कुराहरुमा नै देखिन्छ झिनामसिना कुराहरुमा यिनीहरुको फरक छुट्टाउन सकिन्न। यी दुइ पार्टी बीच आधारभूत कुराहरुमा नै भिन्नता छ। यी पार्टीहरु बीच यस्तो अन्तर हुनुमा यिनीहरुको स्थापनाकाल देखि कै इतिहास हेर्नु पर्ने हुन्छ।
डेमोक्र्याटिक पार्टीको स्थापना सन् १८२८ मा एन्ड्र्यु ज्याक्सनको नेतृत्वमा भएको थियो। तर डेमोक्र्याटिक पार्टीको स्थापना कालमा अमेरिकामा बढी गोराहरुको संख्या रहेका दक्षिणि राज्यहरुमा राम्रो पकड थियो। फलस्वरूप डेमोक्र्याटिक पार्टी दास प्रथासंग बढी जोडिएको थियो। १९६४-६५ मा डेमोक्र्याटिक रास्ट्रपति लिण्डन जोन्सनको नेतृत्वमा जातिबाद, रंगभेद बिरोधी बिभिन्न कार्यक्रमहरु ल्याए पछि मात्र डेमोक्र्याटिक पार्टी बढी उदारवादी पार्टीको रुपमा अगाडी आएको थियो। त्यहि नीतिगत परिबर्तनका कारण डेमोक्र्याटिक पार्टीले दक्षिणका धेरै राज्यहरुका आफ्ना समर्थक गुमायो र रिपब्लिकन पार्टीको पकड ती राज्यहरुमा हुन पुग्यो।
१९१२ मा स्थापना भए पछि एकछत्र रुपमा दक्षिणि राज्यका गोरहरुमा लोकप्रिय यो पार्टी सोहि उदारवादी नीतिका कारण ती राज्यहरु गुमाउन पुगेको थियो ।
दक्षिणका गोराहरुको बर्चस्व कायम राख्न दास प्रथा र हतियारको सम्बन्धमा दक्षिणपन्थी विचार अंगाली राखे पनि स्थापना कालदेखि नै डेमोक्र्याटिक पार्टी सामाजिक रुपमा उदारबाद, सामाजिक न्याय, मिश्रित अर्थतन्त्र र कल्याणकारी राज्यको अबधारणामा चलेको थियो। तर बिल क्लिन्टनको पालादेखि यसले केहि दक्षिणपन्थी विचारधारा अघि सारेको पाइन्छ। बिस्वब्यापिकरण र खुल्ला अर्थतन्त्र अहिलेको डेमोक्र्याटिक पार्टीको लाइन देखिन्छ जुन दक्षिणपन्थी विचारधाराको निकट छ।
अमेरिकाको अर्को पार्टी रिपब्लिकन पार्टी १८५४ मा स्थापित भएको थियो । डेमोक्र्याटिक पार्टी भन्दा कान्छो भए पनि यो पार्टीलाइ ग्र्याण्ड ओल्ड पार्टी भन्ने गरिन्छ। १८५४ मा दासप्रथा बिरोधीहरुद्वारा स्थापना गरिएको यो पार्टी १८६० मा अब्राहम लिंकन रास्ट्रपतिमा नियुक्त भए पछि मात्र सत्ताको केन्द्रमा आउन सफल भएको हो। डेमोक्र्याटिक पार्टीले दासप्रथा बिरोधी नीति अख्तियार गरे पछि दक्षिणका मतदाता आकर्षित गर्न रिपब्लिकन पार्टीले अनुदार नीति अनुसरण गर्न थाल्यो। दास प्रथा बिरोधीहरुद्वारा स्थापित पार्टी अहिले दास प्रथाको बिरुद्धमा खासै महत्वसाथ नबोल्ने पार्टीको रुपमा रुपान्तरण भएको छ।
रिपब्लिकन पार्टी स्थापनाकालदेखि नै खुल्ला बजार अर्थतन्त्रमा विश्वास गर्छ। ब्यापारी, ब्यबसायी र उद्योगीहरुको पक्षमा रिपबलिकन पार्टी बढी उदार मानिन्छ। धनी र ब्यबसायीहरुलाई कर छुट दिएर मात्र उनीहरु लगानी गर्न प्रेरित हुन्छन जसका कारण रोजगारी बढ्ने र अर्थतन्त्र सक्रिय रहने रिपब्लिकन पार्टीको मान्यता देखिन्छ।
रिपब्लिकन पार्टीको अर्को आधार धार्मिक सम्प्रदाय हो। एभान्जेलिकल क्रिस्चियनहरुको ठुलो प्रभाव रिपब्लिकन पार्टीमा रहेको छ। रिपब्लिकन पार्टी सामाजिक मुद्धाहरुमा परम्परागत मान्यताको पक्षपाति हो भने सानो सरकार उनीहरुको अर्को बैचारिक आधार हो।
रिपब्लिकन पार्टी बढी अर्थ केन्द्रित देखिन्छ । सामाजिक रुपमा महिलाहरुलाई अझै पनि दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने ठुलो संख्या रिपब्लिकन पार्टी भित्र बलियो छ। नैतिक मूल्यमान्यता भन्दा अर्थतन्त्र महत्वपूर्ण मानेकै कारण २०१६ मा दर्जनौं महिलाद्वारा यौन हिंसा गरेको आरोप लागेका डोनाल्ड ट्रंप रिपब्लिकन पार्टीको तर्फबाट रास्ट्रपतिको उम्मेदवार बने र रास्ट्रपति बन्न सफल भए।
अमेरिकाका यी दुइ पार्टीहरुको संरचना लगभग एकै खाले छ। जो रास्ट्रपति हुन्छ, त्यहि सो पार्टीको नेता हुने परम्परा छ। अहिले रिपब्लिकन पार्टीको चावी डोनाल्ड ट्रंपको हातमा छ। डोनाल्ड ट्रंपको नैतिक धरातल एकदम कमजोर भएका कारण रिपब्लिकन पार्टी पनि नैतिक संकटबाट गुज्रिरहेको छ। मी-टू आन्दोलनको शुरुवात समेत रास्ट्रपति ट्रंप र ट्रंपबादको बिपक्षमा केन्द्रित छ। घरेलु हिंसा, यौन हिंसा जस्ता मुद्धाहरुमा ट्रंपले आरोपितको पक्षमा खुलेर वकालत गर्ने गरेका छन्। पिडित भन्दा पीडकको पक्षमा उनले अवाज उठाउँदै आएका छन्।
खुल्ला बजार अर्थतन्त्रको वकालत गर्ने रिपब्लिकन पार्टी डोनाल्ड ट्रंपको उदय संगै अमेरिका फस्ट भन्ने नारा सहित अमेरिका भित्रै खुम्चिने अबस्थामा छ। खुल्ला बजार अर्थतन्त्र, स्वतन्त्र र खुल्ला समाजको वकालत गर्ने अमेरिकाको बिस्वस्नियता बिस्वभर घट्दै गैरहेको छ। स्थानीय रुपमा पनि डोनाल्ड ट्रंपको लोकप्रियता अन्य रास्ट्रपतिहरुको भन्दा निकै कम छ । केहि धार्मिक अतिबादी, दक्षिणपन्थी बाहेक ठुलो अमेरिकी जनता ट्रंपका निर्णयको बिरुद्धमा छन् । यहि कारण आगामी नोभेम्बरमा सम्पन्न हुने चुनावमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा र सिनेटमा बहुमत ल्याउने अनुमान गर्न थालिएको छ।