प्रबाशी नेपालीले नेपालको चिन्ता कति गर्ने कति नगर्ने ?
म अमेरिका आएको १२ बर्ष नाघीसक्दा पनि कुरा मैले नेपाल र नेपालकै राजनीतिको वरिपरी रहेर गर्छु। मैले मात्र होइन मेरा संगी साथि सबैले नेपालकै कुरा गर्छन। हुर्केर, बढेर र जिन्दगीको ठुलो हिस्सा नेपालमा बिताएर आएका धेरै नेपालीहरुले सपना पनि नेपालकै देख्छौं। अमेरिका मात्र होइन बिदेशमा बस्ने हरेक नेपालीहरुको छलफलको बिषय नेपाल, नेपालको राजनीति र नेपालको अबस्थाको बारेमा हुने गर्छ।
बिदेशमा बस्ने नेपालीहरुले जति नेपालको चिन्ता गरे पनि त्यस बापत प्रतिक्रिया भने फरक हुने गर्छ। बिशेष गरी स्थायी रुपमा विदेश बस्नेहरुलाई भगौडा भनेर गाली गरिन्छ र नेपालको कुनै बिषयमा बोल्दा सक्छस भने नेपाल आएर राजनीति गर नत्र विदेश बसेर यसो गर त्यसो गर भन्ने अधिकार तंलाई छैन भन्ने गरिन्छ। लामो समय देखि बिदेशिएका नेपालीहरुले कमाएको र पठाएको रेमिट्यान्न्सले देश धानिए पनि त्यसको श्रेय प्रबाशी नेपालीहरुले पाउंदैनन।
नेपालमा बस्नेहरुलाई लाग्न सक्छ, “यिनीहरु आफु बसेको ठाउंको कुरा किन गर्दैनन् ? त्यहाँको राजनीतिको कुरा किन गर्दैनन् ? त्यहाँका बिकृति र विसंगतिका कुरा किन गर्दैनन्? किन नेपालको मात्र कुरा गर्छन” ? यी प्रश्नहरु नाजायज होइनन। नेपालमा बस्नेलाई बिदेशमा गएर बसेकाहरुले यसो गर त्यसो गर भनेर लेक्चर दिएको मन पर्दैन। सायद म नेपाल भएको भए पनि त्यसै गर्थें। तर विदेशको कुरा नगरी नेपालकै कुरा गरिरहनमा के कारण छ त भनेर नाखोतली उनीहरुको नियत माथि प्रश्न गर्नु जायज हुँदैन।
नेपालको धेरै चिन्ता गर्नेहरुमा पढेलेखेका मध्यम बर्गीय नेपालीहरु हुन्। विदेश गएर धन कमाएकाहरुले नेपालको चिन्ता गर्दैनन्। उनीहरुसंग पैसा प्रशस्त हुन्छ। चाहेको देश जान सक्छन, चाहेको बेला नेपाल जान सक्छन अनि विदेश धाउन सक्छन। उनीहरुलाई संसार एउटै देश जस्तो छ। तर बिदेशमा पनि मध्यम र अझै निम्न स्तरको जीवन जिउन बाध्य नेपालीहरु भने नेपालका धेरै कुरा गर्छन। त्यसको कारण प्रबाशमा उनीहरु पूर्ण रुपमा सन्तुस्ट हुँदैनन्। उनीहरुले देखेको सपना पुरा भएको हुँदैन। नेपालमा कामै नगरी वा अलिअलि काम गरेर दायाँ बायाँ गरेर जिन्दगी चलाएको यो बर्ग बिदेशमा कठिन परिश्रम गर्न बाध्य छ।उनीहरुलाई नेपाली संघ संस्था खोल्न, त्यहाँ सक्रिय रहन मन पर्छ। बिदेशी माटोले उनीहरुलाई पुरै आकर्षित गरिसकेको हुँदैन। नेपालमा बसेर सजिलो जिन्दगी बिताएको यो बर्ग नेपाल फर्किने सपना बोकेरै आएको हुन्छ। नेपाल राम्रो बन्यो भने नेपाली फर्किने सोंच राखेकोले यो बर्गले नेपालको चिन्ता गर्ने गर्छ। कठिन जीवन यापन गरेको निम्न बर्ग र ऐश आरामको जिन्दगी बिताएको धनी बर्गले नेपालको त्यति साह्रो चिन्ता गर्दैन।
स्वाभाविक रुपमा हामीले आफ्नो कर्मभूमिको पनि अध्ययन गर्नु पर्छ। लगभग १० बर्षदेखी मैले अमेरिकाको राजनीति नियाल्ने गरेको छु। अमेरिकी संचार माध्यमहरु, तीनका प्रस्तुतिहरु, अमेरिकाका प्रमुख दुइ राजनीतिक पार्टीहरु र तिनका गतिविधिहरु हेर्ने गरेको छु। २००८ मा बराक ओबामा रास्ट्रपतिको उम्मेदवार बनेर आएपछि मेरो अमेरिकी राजनीति प्रति चासो बढेको हो। पहिलो अफ्रिकन अमेरिकन रास्ट्रपति बनेका बराक ओबामाको भाषण शैली र उनको मान्छेहरुलाई मुग्ध पार्ने शैलीले उनलाई त्यो स्थानमा पुर्याएको थियो।
२००८ मा ओबामा रास्ट्रपति बन्दा प्रतिनिधि सभा र सिनेटमा समेत डेमोक्र्याट पार्टीको बहुमत थियो। फलस्वरूप उनले केहि काम गर्न पाए। स्वास्थ्य क्षेत्रमा सुधार गर्न ओबामा केयर नामक स्वास्थ्य बिधेयक संसदबाट पारित गर्न सफल भए। तर २०१० नोभेम्बरमा भएको मध्यावधि चुनाव संगै डेमोक्र्याट पार्टीको प्रतिनिधि सभा र सिनेटको बहुमत गुम्यो। निम्न आर्थिक स्तर हुनेहरुलाई सरकारी अनुदान दिने उक्त स्वास्थ्य बिधेयक मतदान गर्ने उच्च माध्यम बर्ग र उच्च बर्गको निशानामा पर्यो। सबैलाई अनिबार्य स्वास्थ्य बिमा किन्नु पर्ने बाध्यकारी प्राबधान रहेको उक्त बिधेयक कै खारेज गर्ने नारा बोकेर रिपब्लिकन पार्टी चुनावमा गयो र त्यसपछि भएका हरेक चुनावमा डेमोक्र्याटिक पार्टी पराजित हुँदै गयो।
ओबामाको अर्को चुनावी नारा अमेरिकामा गैर कानुनी रुपमा बसोबास गरिरहेका एक करोड बिस लाख भन्दा बढीको संख्यामा रहेका आप्रबासीहरुको ब्यबस्थापन गर्नु थियो। तर रिपब्लिकन पार्टीको अबरोधका कारण उनले त्यो काम गर्न पाएनन। वास्तवमा भन्ने हो भने एक्जुकिटिभ पावर प्रयोग गरेर गर्ने काम बाहेक कुनै पनि काम गर्न ओबामालाइ रिपब्लिकन पार्टीले दिएन। ओबामा केयरलाइ समेत खारेज गर्न पटकौं सम्म भोटिंग गराइयो। तर ओबामाले भिटो शक्ति प्रयोग गरेर त्यसलाई बचाए। तर उनले ८ बर्षको अबधिमा गणना गर्न लायक काम केहि गर्न नसक्ने गरी रिपब्लिकनहरुले अबरोध गरिरहे ।
२०१६ को नोभेम्बरमा भएको निर्बाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रंप रास्ट्रपति बने। उनले पनि ओबामाले गरेका कामहरु एक्जुक्युटिभ शक्ति प्रयोग गरेर खारेज गर्ने बाहेक अन्य धेरै काम गर्न सकेका छैनन्। अमेरिकाका हरेक नागरिकलाइ असर पर्ने कर जस्तो महत्वपूर्ण मुद्धामा पनि दुइ पार्टी एउटा ठाउँमा आउन सकेनन। बिशुद्ध पार्टी लाइनमा रहेर कर सम्बन्धि बिधेयक पास गरियो। हाउसमा त रिपब्लिकन पार्टीका समेत केहिले बिपक्षमा मतदान गरे। सिनेटमा बल्ल बल्ल सबै रिपब्लिकन एकै ठाउँमा आए तर डेमोक्र्याट एकजना पनि यो विधयेकको समर्थनमा भोट गरेनन।
मैले भन्न खोजेको खास कुरा के हो भने पार्टीगत रुपमा अमेरिका जति विभाजित छ, नेपाल छैन। नेपालको सन्दर्भमा हेर्ने हो भने जुन पार्टी पनि जुनसुकै पार्टी संग मिलेको उदाहरण छ। ठुला बिषयहरुमा संधै सर्बसम्मती भएको छ। अलिकति पनि बुद्धिमान र भिजन सहितको नेतृत्व हुने हो भने नेपाल बनाउन अमेरिका बनाउन भन्दा धेरै सजिलो छ।
अमेरिकाका यी दुइ पार्टीहरु कुन कुन कुरामा समान वा फरक छन् भन्ने बारेमा फेरी अर्को अंकमा कुरा गरौंला। धन्यवाद।लेखनाथ गौतम (चितवन, हाल टेक्सास, अमेरिका)