नेपाली समाज टेक्सासको नयाँ कार्यसमितिको पहिलो कार्यक्रम:एफवान सेमिनार सम्पन्न
जनवरी १५, डालस । नेपाली समाज टेक्सासको भर्खरै निर्बाचित नयाँ कार्यसमितिले काम थालेको छ । यहि सनिबार पुरानो कार्यसमितिबाट चावी हातमा लिएको यो समितिले त्यसको अर्को दिन अर्थात् आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थी भिसा अर्थात् एफवान भिसामा अमेरिका आएका नयाँ बिद्यार्थीहरुलाई लक्षित सेमिनार नेपाली समाज टेक्सासको हलमा सम्पन्न गरियो । भर्खर अमेरिका आएर बिभिन्न समस्याहरुसंग जुधिरहेका बिद्यार्थीहरुलाई सूचना र सम्पर्कको माध्यमबाट उनीहरुलाई सहयोग पुर्याउने उद्देस्यले उक्त सेमिनार आयोजना गरिएको थियो ।
७ बजे शुरु गर्ने र १० बजे समापन गर्ने सूचना दिइएको उक्त कार्यक्रम गजल उत्सव टेक्सासको कार्यक्रममा भएको बिलम्बका कारण ढिला करिव ८ बजे मात्र शुरु भएर करिव एघार बजे समापन भएको थियो । दुइ घन्टाको उक्त कार्यक्रम रोचक, उत्प्रेरक र सुचनामुलक थियो । कार्यक्रमको संचालन सुन्दर र मृदुभाषी नेपाली समाज टेक्सासकी वर्तमान युवा संयोजक श्रद्धा श्रेष्ठले कुशलातापुर्बक गरेकी थिइन ।
कार्यक्रममा सभापति वा आसन ग्रहणको लफडा गरिएन । भर्खरका युबाहरु कार्यसमितिमा आएकोले मन्चमा बसेर भाषण गर्ने चाहना उनीहरुमा देखिएन । अध्यक्ष सुमन थापा देखि महासचिव भक्त खड्का स्वयंसेवी बनेर सहयोग गरे । कार्यसमितिका अन्य सदस्यहरु पनि काममा नै व्यस्त रहे । एफवान भिषामा आएका बिद्यार्थीहरुको पनि राम्रै उपस्थिति रहेको उक्त कार्यक्रम शान्त पुर्बक संचालन भयो ।
कार्यक्रमको शुरुवात नेपाली रास्ट्रिय गानबाट गरियो । त्यस पछि सबैबीच परिचय गर्ने उद्देस्यले आइसब्रेक गर्ने भन्दै तातो आलु खेलाइयो । त्यस पछि सेमिनार शुरु भयो ।
सेमिनारको शुरुवातमा जोशिला युवा तथा डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष बिएन पन्तले उत्प्रेरक मन्तब्य दिए । युवा शक्तिको चर्चा गर्दै हिम्मतका साथ् चुनौतिको सामना गर्न बिद्यार्थीहरुलाई सुझाव दिए । त्यसपछिका अर्का बक्ता पंकज श्रेष्ठ थिए । उनले मिनिसोटामा बिद्यार्थीको रुपमा आउँदा देखि एक ब्यबसायी बन्दा सम्मको आफ्नो संघर्षको यात्रा सुनाए । संघर्ष र कठिनाइ नमिठो भए पनि त्यसबाट निस्किने प्रतिफल भने मिठो हुने उनको भनाइ थियो ।
कार्यक्रमलाई सांगीतिक माहोल दिन केहि गीत र नांचहरु प्रस्तुत गरिएका थिए । यसै क्रममा राम्रो नाचेर चर्चा कमाउन सफल सर्बश्री अधिकारीले आफ्नो नाच प्रस्तुत गरिन । त्यसपछि सुशान्तले आफ्नो कलेज लाइफका चुनौती सुनाउदै आफ्नो अनुभव बाँड्न चाहेकोले सम्पर्क गर्न र सहयोग माग्न गाह्रो नमान्न आग्रह गरे । राजिवले राम्रो र सजिलो कलेज कसरी खोज्ने अनि जीपीए कायम राख्न सजिला शिक्षकहरु कसरी खोज्ने भनेर जानकारी दिए ।
कार्यक्रमको अर्को प्रस्तुति बिशांत खड्काको थियो । उनले पनि रमाइलो शैलीमा जागीर कसरी खोज्ने र जागिरमा आफु कसरी सुरक्षित रहने भन्ने बारेमा जानकारी गराए । त्यसपछि आइन आइषा ओझा । उनले बिदेसमा पहिलो पटक आउँदा हुने तनाव र त्यसबाट कसरी मुक्त हुने भन्ने बारेमा राम्रो संग बयान गरिन । हरेक कामलाई बोझको रुपमा होइन सिक्ने अबसरको रुपमा लिंदा कामको बोझ कम हुने र त्यसमा राम्रो परिणाम पनि निस्किने बताउंदै सबभन्दा पहिला आफ्नो ख्याल गर्नु पर्ने र सबै कुरालाई सन्तुलनमा राख्नु अत्याबस्यक रहेको जानकारी गराइन । प्रबासमा बस्ने नेपालीहरुलाई मानसिक तनाव धेरै हुने र त्यसबाट धेरै समस्याहरु आउने गरेको अबस्थामा उनको यो प्रस्तुतिले धेरैले मन पराए ।
त्यसपछि फेरी अनु र गीताको टीमले नृत्य प्रस्तुत गरे । अन्त्यमा पासांग लामाले आफ्नो सफलताको कथा सुनाए । पिज्जाको होटेलमा काम गर्दा देखि अहिले ५१ वटा पसलहरुको मालिक बन्दासम्म आफुले गरेका संघर्षका साथै सफलताका सुत्रहरु प्रस्तुत गरेका थिए । उनले आफुमा विश्वास गर्नु सफलताको पहिलो पाइलो भएको उल्लेख गर्दै त्यसपछि सपना, योजना, मिहिनेत र त्यसमा लागिरहनु नै हरेक मानिसका सफलताका सुत्र हुने उल्लेख गरे । त्यसपछि सुरेनले जहाँ छन् बुद्धका आँखा भन्ने गीत गाएर सबैलाई मोहित पारे ।
अन्त्यमा बिद्यार्थीहरुको लागि चिट्ठा प्रथाद्वारा एक ल्यापटप प्रदान गरियो जुन ल्यापटप नेपाली समाज टेक्सासका वर्तमान कार्यकारी सदस्य गोविन्द ढकालले प्रयोजन गरेका थिए । त्यस्तै आजको कार्यक्रमलाई बिभिन्न इन्स्युरेन्स कम्पनीहरुले प्रायोजन गरेका थिए । अन्त्यमा सहभागीहरुलाई मिठो भोजनको व्यवस्था समेत गरिएको थियो ।
नेपाली समाज टेक्सासको नयाँ कार्यसमिति आए पछिको यो पहिलो सार्बजनिक कार्यक्रम थियो । भर्खरका युबाहरु अहिलेको कार्यसमितिमा रहेकोले त्यति ठुलो अपेक्षा पनि समुदायमा छैन । सामुदायिक संस्थाहरुमा काम गरेको राम्रो अनुभव नभएका यी जोशिला युबाहरुको सफलता नै समुदायको सफलता हो भने अहिलेको कार्यसमिति र यसको नेतृत्व पनि बाहिरी प्रभावमा नपरी आफ्नै बलबुतामा योजना निर्माण र त्यसको कार्यान्वयन गर्दै समुदायको सेवामा लागेर सबैबाट सहयोगको वाताबरण बनाउनु पर्ने देखिन्छ । (लेखनाथ गौतम)