खराब मध्येका खराब मात्र डिभीबाट अमेरिका आउँछन् : डोनाल्ड ट्रंप
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसासम्बन्धमा आफू असन्तुष्ट रहेको बताएका छन् ।
उनले यस प्रणालीलाई मात्र गाली नगरेर यसका लागि निवेदन दिने गरेका हजारौँ मानिसहरुको समेत आलोचना गरेका छन् । उनको बयान सुनिसकेपछि वास्तवमा उनलाई डीभी भिसाको काम कसरी हुन्छ भन्ने नै थाहा नभएको प्रस्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
“यसरी डीभी भिसा प्रदान गर्दा जथाभावी मानिसहरु चुनिने गर्छन् । हामीले सोच्छौँ कि ती देशहरुले हामीलाई उनीहरुका सबैभन्दा दक्ष मानिस पठाउँदैछन् तर वास्तवमा उनीहरुले हामीलाई धोका दिइरहेका हुन्छन् । बधाई छ तिमी अमेरिका जाँदैछौ भन्दै तिनीहरुले हामीलाई आफ्ना देशका सबैभन्दा काम नलाग्ने मानिसहरु पठाइदिन्छन् । यो कस्तो प्रणाली हो ?,” ट्रम्पले शुक्रबार भनेका थिए ।
डीभी भिसा अमेरिकाको एउटा यस्तो कार्यक्रम हो जहाँ लाखौँ मानिसहरुले फर्म भरेर अस्थायी रुपमा अमेरिका बस्नका लागि निवेदन दिएका हुन्छन् । यो एउटा सिधा प्रक्रिया हो जहाँ निवेदकहरुले एउटा आवेदन पेश गरेर अमेरिकी राज्य विभागको वेबसाइटमा बुझाउँछन् । त्यसपछि लोटरीका लागि त्यहाँबाट ५० हजार मानिसहरु चुनिन्छन् । यसरी भिसा प्रदान गर्न मानिसहरुको छनोट गर्दा क्रमबद्ध तरिकाले गरिँदैन त्यसैले डीभी जोसुकैलाई पनि पर्न सक्छ । तर चुनिएकै भरमा उनीहरुलाई भिसा दिइँदैन ।
यसपछि उनीहरुसम्बन्धी विभिन्न जाँच गरिन्छ र यस अन्तिम परीक्षणमा सफल भएपछि मात्र उनीहरुलाई भिसा प्रदान गरिने गरिन्छ ।
अमेरिकी आप्रवासीको जनसङ्ख्यामा विविधता ल्याउनका लागि १९९० देखि यस्तो कार्यक्रम सञ्चालन गरिएको थियो । यसमा निवेदन दिन पाउने छुट्टै नियम रहेको छ ।
नेपाल जस्ता अन्य थुप्रै देश यसमा सहभागी हुन पाउँछन् तर क्यानडा, कोलम्बिया, भारत जस्ता देशहरुमा यस्तो प्रणाली लागु गरिएको छैन ।
यस्तोमा यी देशहरुले आफ्ना खराब नागरिक मात्र पठाउँछन् भन्नु सरासर गलत भनाई रहेको प्रतिक्रिया आइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस प्रक्रियामा भिसा दिने नदिने भन्ने निणर्यमा अमेरिकी सरकारको पनि हात हुन्छ । कम्प्युटरको मद्दतले चुनिने डीभीका विजेताहरुबारे ट्रम्पको यस्तो टिप्पणी पहिलेदेखि नै गलत सावित हुँदै आएको छ । किनभने २००७ मा अमेरिकी सरकारले गरेको अनुसन्धानमा यसरी लोटरी भिसामा आएका आप्रवासीहरु कुनै पनि हिंसात्मक क्रियाकलाप वा आतङ्कवादसँग संलग्न नभएको साबित भइसकेको छ ।
यसरी ट्रम्पले केबल भिसा लोटरीलाई मात्र गलत रुपमा प्रस्तुत गरेनन्, उनले डीभीमार्फत कानुनी रुपमा अमेरिका प्रवेश गरेका हजारौँ आप्रवासीहरुको समेत अपमान गरेको समाचारमा जनाइएको छ ।
हालैका दिनहरुमा अमेरिकामा बढिरहेका आतङ्की हिंसाका कारण पनि ट्रम्प आप्रवासीहरुका विरुद्धमा खडा हुने गरेका छन् । त्यसैले पनि अब उनले चाँडै नै यस्ता कार्यक्रमहरु हटाउन सक्ने अनुमान गरिएको छ ।श्रोत: बाह्रखरी डट कम