पासाङ्ग लामाद्वारा सर्जिकल स्ट्राइक, डालसको नेपाली समाज तरंगित
डिसेम्बर १७, डालस, टेक्सास। नेपाली समाज टेक्सासको निर्बाचन आउन एक हप्ता बाँकी छ। निर्बाचन आगामी डिसेम्बर २३ आइतबार बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको भवनमा सम्पन्न हुँदैछ। करिब एक महिना अघि यो घोषणा गरिएको थियो।
निर्बाचनको घोषणा पछि सदस्यता निर्माण प्रक्रिया शुरु गरियो। उक्त प्रक्रिया मन्द तरिकाले चल्यो। दिनमा एकदुई जना गरेर सदस्य बने। हिजो सनिबार सम्म आइपुग्दा दुइसयको हाराहारीमा सदस्य बने। त्यस पछि शुरु भयो सदस्य बन्ने तिब्र प्रक्रिया। कोठाकोठामा सदस्यता निर्माण अभियान चल्यो। फलस्वरूप राती १२ बजे सदस्य संख्या १६६६ पुग्यो।
चुनाव घोषणा भए पनि निर्बाचनमा खासै धेरैको चासो देखिएको थिएन । केहि हप्ता अघि हिमालय खबरमा ४ जना इच्छुक उम्मेदवार भनेर प्रचार गरिए पनि ब्यबहारमा त्यस्तो केहि देखिएन। त्यसले कुनै हलचल पैदा गर्न सकेन। त्यहाँ चर्चा गरिएका मध्येका बिजयराज भट्टराई चुनाव लड्ने मुडमा थिएनन भने कमल सत्यालले महासचिवमा दोहोरिने विचार गरे। सुमन थापा मौन थिए भने कमल सापकोटाको मात्र उम्मेद्वारी परेको थियो। फलस्वरूप चुनावी माहोल डालसको मौसम जस्तै चिसो थियो।
शनिबार बिहान देखि भने कथाले अर्कै मोड लियो। सदस्य बन्ने क्रम तिब्र बन्यो। भटाभट सदस्य संख्या बढ्न थाले पछि फोनका घन्टीहरु बज्न थाले। होइन कसले बनाउंदै छ सदस्य, प्रश्न सबैमा गुञ्जियो। नेपाली समाज टेक्सासको नेतृत्वले पनि यो कुरा थाहा पाएन। सर्बसम्मत हुने सम्भावना रहेको अबस्थामा एकै चोटी बर्षेको सदस्यताको बाढीले सबैलाई तीनछक बनायो। त्यस पछि शनिबार ढिला मात्र दुवै तर्फबाट सदस्य बनाइए। फलस्वरूप दुइ सयको हाराहारीमा रहेको सदस्य संख्या राती बाह्र बज्दा १६६६ पुग्यो।
नेपाली समाज टेक्सासको १९९८ मा स्थापना भए देखि चुनाव लक्षित सदस्यता निर्माण अभियान चल्दै आएको छ। अघिल्लो पटकको निर्बाचनमा विजयराज भट्टराई र कृष्ण लामिछानेको कडा टक्करको कारण २४ सय भन्दा बढी सदस्य बनेका थिए। तर यतिबेला प्रतिष्पर्धीहरुको कडा टक्कर देख्न पाइएन। सम्भावित उम्मेदवार भनेर प्रचारमा आएका सुमन थापा पनि कतै देखिएका थिएनन। कमल सापकोटा र सुमन थापा एउटै कार्यसमितिमा काम गरेका र निकट रहेर काम समेत गरिसकेका हुनाले अन्त्यमा मिलेरै जानेछन् भन्ने बुझाइको कारण प्रतिष्पर्धात्मक रुपमा सदस्यता निर्माण भएन।
खेल कस्को ?
करिब ८ बर्ष अघि नेपाली समाज टेक्सासको चुनाव रणभूमि जस्तै बनेको थियो । एकातिर ब्यबसायी पासाङ्ग लामा थिए भने अर्को तिर प्राध्यापक डाक्टर प्रेम अधिकारी। यी दुइ जना बिचको त्यति बेलाको अस्वस्थ प्रतिष्पर्धा अहिले पनि धेरैले सम्झिने गर्छन। साम, दाम, दण्ड, भेद प्रयोग गरेर प्रेम अधिकारी समूहले विजय हात पार्यो भने साम, दाम, दण्ड, भेद प्रयोग गरे पनि त्यसमा अलि कमजोर भए पछि पासांग लामा पराजित भए।
विभिन्न हत्कण्डा प्रयोग गरेर हराइएको भन्ने ठानेका पासाङ्ग घाइते बाघ झैं बने। नेपाली समाज टेक्सास भन्दा अलि बाहिरै बसेर केहि गर्ने विचार गरे। एएनए मा केहि गर्ने उद्देस्यसाथ त्यहाँ लागे र डालसमा एएनएको सम्मेलन समेत सम्पन्न गरे। तर त्यसले पनि उनलाई खासै फाइदा दिएन।
आर्थिक रुपमा सम्पन्न र चतुर खेलाडी पासाङ्गले गौरी जोशीको साथ लिएर युएनए गठन गरे। क्यालिफोर्नियाको लस एञ्जलसमा रहेको एफवान ग्रुपसंग मिलेर २०१६ मा पहिले युएनए सम्मेलन सम्पन्न गरे। एफवान ग्रुपका अर्का चतुर खेलाडी बिशु बाशसंग उनको लगनगाँठो धेरै दिन टिकेन। फलस्वरूप २०१७ मा स्थानीय साथीहरुको सहयोगमा युएनएको दोश्रो सम्मेलन डालसमा सम्पन्न गरे। तर उक्त सम्मेलन सोंचे जस्तो सफल हुन सकेन। स्थानीय रुपमा आफुलाई असहयोग भएको महशुश उनले गरे। त्यसपछि विचार गरे, अब म स्थानीय रुपमा सक्रिय हुन्छु। २००९ मा नेपाली समाजका गतिविधिहरुबाट टाढै बसेका पासाङ्ग अलि अलि देखा पर्न थाले। स्थानीय कार्यक्रममा उपस्थित भएर आफ्ना विचार प्रबाह गर्न शुरु गरे।
२००९ को निर्बाचनमा घाइते भएका पासाङ्ग २०१७ को निर्बाचनको पर्खाइमा थिए। तर उनले यसपटक रणनीति बदले। पृथ्वी नारायण शाहको कृतिपुर आक्रमणको शैली अपनाउने विचार उनले गरे। भित्रभित्र काम शुरु गरे। सदस्यहरुको लिस्ट तयार पारे, उम्मेदवार तयार पारे अनि पर्खेर बसे सदस्यता निर्माणको अन्तिम दिन अर्थात् डिसेम्बर १६ शनिवार।
हो, त्यहि २००९ का घाइते पासाङ्ग लामाले सर्जिकल स्ट्राइक मार्फत फेरी नेपाली समाज टेक्सासको मैदानमा जबर्जस्त प्रभाव रहेको जनाउ दिएका छन् । समाजका युबाहरुलाई अघि बढाएर नेपाली समाजलाई सक्रिय बनाउने उनको भिजन रहेको उनी बताउने गरेका छन्। सुमन थापा एक जोशिला युवा भएको र उनको नेतृत्वमा अन्य युबाहरु समेटेर आज आइतबार उम्मेद्वारी दर्ता गर्ने कुरा पासाङ्गले जनाएका छन्।
कथाको यो पटाक्षेप संगै नेपाली समाजको दिशा परिबर्तन हुनसक्ने आंकलन संगै नेपाली समाजमा लामो समय देखि केन्द्रमा रहेका काम गरेकाहरु बीच भने हल्लीखल्ली मच्चिएको छ ।