“पूर्वी चितवन महोत्सव” शुरु
रत्ननगर, चितवन, २४ कात्तिक। चितवनको रत्ननगरमा आजदेखि पहिलो ‘पूर्वी चितवन महोत्सव’ शुरु भएको छ ।
रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलहरुकै कारण देशमा आर्थिक विकास हुन नसकेको संकेत गर्दै अब देशमा आर्थिक उन्नतिको बाटो खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
झण्डै २०० कक्ष रहेको महोत्सवमा मण्डपसहितको विवाह परिसर निर्माण गरी विवाहमा चाहिने सामग्री तथा विभिन्न जातजातिका विवाह संस्कृतिको प्रदर्शनी गरिने महोत्सव संयोजक निरज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपालि सामूहिक विवाह समारोहमा कसैको पनि नाम दर्ता नभएकाले उक्त कार्यक्रम भने स्थगित गरिएको छ । महोत्सवमा सहभागी भएका विसं २०७४ का जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेजसमेत रहेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा दुलही शृंगार, रत्यौली, मेहन्दी लगाउने प्रतियागिता, तेक्वान्दो प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, तथा नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिनुभयो ।
मंसिर ३ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकार शिव परियार, इन्दिरा जोशी, ज्योति मगर, पशुपति शर्मा, मिलन लामा, मनोज गजुरेल तथा स्थानीय कलाकारको समेत विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।
एकलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा रु ४० टिकट राखिएको र विद्यार्थीका लागि रु २५ तोकिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष मुनाकुमारी श्रेष्ठ तथा कमल सिग्देल, मञ्जरी घिमिरे, कैलाश श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसअघि आज बिहान रत्ननगरमा विभिन्न जातजातिका झाँकीसहित निकालिएको शोभायात्रामा रत्ननगर तेक्वान्दो डोजाङ र चित्रसेन आमा समूह सर्वाेत्कृष्ट भएको आयोजकले जनाएका छन् ।
छजनालाई मरणोपरान्त स्मृति सम्मान
यसैबीच, महोत्सव उद्घाटनका अवसरमा पूर्वी चितवनमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान दिएका छजनालाई आज ‘मरणोपरान्त स्मृति सम्मान’ प्रदान गरिएको छ ।
कला क्षेत्रतर्फ स्व जगतकृष्ण प्रजापति, व्यावसायिक क्षेत्रतर्फ स्व भवदत्त अधिकारी, संरक्षण क्षेत्रतर्फ स्व पुष्पराज सुवेदी, शिक्षातर्फ स्व गुणराज पाठक तथा सामाजिक क्षेत्रतर्फ स्व नाथुराम महतो र स्व किशोरचन्द्र ढुंगानालाई मरणोपरान्त स्मृति सम्मान प्रदान गरिएको थियो ।(रासस)