डालसका नेपाली नेपालका लागि ५ किलोमिटर हिंडे
डालस, टेक्सास। नेपाल भन्दा बाहिर बसेर पनि आफ्नो मातृभूमिको लागि केहि गर्नु पर्छ भन्ने उत्कट चाहना अनुरुप आज डालसमा वाक फर नेपाल अर्थात् नेपालको लागि यात्रा कार्यक्रम सम्पन्न भएको छ। डालस नजिकै रहेको बाक्म्यान पार्कमा दिउसो ३ बजेदेखि साढे ४ बजे सम्म उक्त हिंडाई सम्पन्न भयो। डालस वरपरका करिब २ सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रम भने १२ बजे देखि शुरु भएर ६ बजे समापन भएको थियो।
वाक फर नेपालको मुख्य आयोजक “नेपालका युवा” भन्ने संस्था हो। यसले नेपाल लगायत बिदेशमा बिशेष कार्यक्रमहरु आयोजना गर्ने गर्दछ। नेपालीहरुलाई एकजुट बनाएर नेपालको लागि केहि गर्ने उद्देश्य अनुरुप अमेरिकाका बिभिन्न शहरहरुमा पनि यस्तो वाक फर नेपाल भन्ने कार्यक्रम आयोजना गरिन्छ। बिगत ५ बर्षदेखि अर्थात् २०१२ देखि लगातार यो कार्यक्रम संचालन हुँदै आएको छ। बिगत देखि नै नेपालमा बिभिन्न परियोजनाहरुका लागि सहयोग संकलन गरेर नेपाल पठाउने गरिन्छ। यसबर्ष अशक्त बृद्ध बृद्धाहरुको लागि, बालबालिकाहरुको लागि र सरसफाई परियोजनाको लागि रकम संकलन गरिएको छ।
खुल्ला तर हावा लागेको दिन भए पनि सहभागीहरु उत्साहपुर्बक सहभागी बने। डालस वरपरका संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा सर्बसाधारणहरुको राम्रो उपस्थिति रहेको उक्त कार्यक्रम ब्यबस्थित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको थियो। किशोर, युवा, प्रौढ र बृद्ध बृद्धाहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित सबैमा नेपाली हुनुको गर्ब, नेपाली हुनको लागि पुरा गर्नु पर्ने कर्तब्य र नेपाल प्रतिको दायित्व झल्केको प्रस्ट देखिन्थ्यो। नेपालको पक्षमा लेखिएका प्लेकार्ड बोकेका, टि-शर्ट लगाएका र आफ्नो अनुहारमा नेपालको झन्डा पोतेका युबाहरु पन्चे बाजामा मस्त संग नाचेका थिए ।
वाक फर नेपाल भनेर हिडाई महत्वपूर्ण ठानिए पनि खासमा हिंडाई कार्यक्रमको अन्तिम आकर्षण मात्र हो । त्यस भन्दा अघि पर्दा पछाडी धेरै काम र गतिविधिहरु संचालित हुन्छन। संयोजक प्रदिप गिरी र उनको डालस स्थित टीम लामो समय अघि देखि नै सक्रिय रुपमा लागिपरेको थियो। प्रायोजकहरु खोज्ने र सहयोग जुटाउने काम लामो समय अघि देखि नै ब्यबस्थित रुपमा सम्पन्न भैसकेको थियो। फलस्वरूप आजको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।