एचडीएनपीका संस्थापक अध्यक्ष देवी आचार्यले पाए बियोण्ड बाउन्ड्री पुरस्कार
डालस, अमेरिका । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग अबोटको हातबाट एक नेपालीले सम्मान प्राप्त गरेका छन् । एचडिएनपी नामक संस्था स्थापना गरेर टेक्सासलाई कर्म क्षेत्र बनाइ लामो समय देखि समाजसेवामा तल्लिन उक्त संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष देवी आचार्यले बियोण्ड बाउण्ड्रिज भन्ने शिर्षकमा बार्षिक पुरस्कार प्राप्त गर्नु भएको छ । ग्रेटर डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले बर्षेनी दिने उक्त पुरस्कार पाउने पहिलो नेपाली समेत आचार्य हुन पुगेका छन् ।
देवी आचार्य डालसमा लामो समय देखि बसोबास गर्दै आएका छन् । आफु बसेको स्थानमा केहि गरौँ भन्ने चिन्तनका साथ २०१२ मा हेल्प फर डेस्पेरेट्लि निडी पिपुल अर्थात् “एकदमै आबस्यक परेका व्यक्तिहरुको लागि सहयोग” नामक संस्था गठन गरेका थिए । नेपाली र अमेरिकी नागरिकहरु समेत सक्रिय सदस्य रहेको यो संस्थाले नेपालमा पशुपतिमा रहेका बृद्धहरुलाई समेत हरेक तिन तिन महिनामा खाना खुवाउने काम गर्दछ ।
एचडिएनपी इन्टरनेसनल लामो समय देखि अमेरिकाको फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले घरबार बिहिन व्यक्तिहरुलाई २०१२ देखि प्रत्यक ३/३ महिनामा खाना खुवाउने काम गर्छ । त्यस्तै हरेक ३/३ महिनामा रक्तदान कार्यक्रम कार्यक्रमको आयोजना गर्ने गरेको छ एचडिएनपीले । त्यस्तै हरेक महिना पुराना लत्ता कपडा जम्मा पारेर घरबारबिहिनहरुलाइ दिने गरिन्छ । यसरी एचडिएनपी इन्टरनेसनल र यसका अध्यक्ष देवी आचार्य र उहाँको टीमले समाजमा एउटा अतुलनिय काम गरेको छ ।
समाज सेवा गर्न अन्त जानै पर्दैन, आफ्नै घर वरिपरि हेरे पुग्छ भन्ने यो एक उदाहरण हो । अमेरिका भनेर मात्र हुन्दैन, यहाँ पनि भोक छ, गरिबी छ र अभाव छ । हामीलाई कर्म गर्ने अवसर दिने अमेरिका र यो समाजलाई पनि हामीले केहि दिनु पर्छ, देवी आचार्य सगर्व भन्नु हुन्छ । हामीले हामी जन्मेको देश नेपाललाई पनि गर्नु पर्छ तर अमेरिकाले हामीलाई लगाएको गुन पनि हामीले बिर्सिनु हुन्न ।