अमेरिकाज क्षेत्रबाट संयोजकमा गौरी जोशीद्वारा उम्मेद्वारी घोषणा
अक्टोबर १४, काठमाडौँ। गैर आबसिय नेपालीहरुको संस्था एनआरएनको अन्तररास्ट्रिय संयोजन समितिको आठौँ सम्मेलन काठमाडौँमा अक्टोबर १५-१७ सम्पन्न हुँदैछ। अध्यक्ष लगायत बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने कार्य समेत भैरहेको छ। यतिबेला काठमाडौँ प्रबासी नेपालीहरुको चहलपहलले व्यस्त छ। कतै रमाइलो, कतै विवाद र झमेला पनि देख्न सुन्न पाइएको छ।
अमेरिकाबाट पनि धेरै प्रतिनिधिहरु नेपाल गएका छन्। प्रतिनिधि चयन गर्न टोली गठन गरिए पनि उक्त टोलीले थाहै नपाई प्रतिनिधि चयन गरिएको कुरा समेत सुन्नमा आएको छ। जे होस् अमेरिकाबाट जे जस्ता भए पनि ठुलो संख्यामा प्रतिनिधि काठमाडौँ पुगेका छन्। बुद्धि र बिबेकमा बिर्को लागेकाहरु नपुगेको भए पक्कै पनि निर्बाचनबाट एनआरएनलाइ हाँक्न र नयाँ दिशा दिन सक्ने व्यक्तिहरु चुनिएलान। नत्र उही “कुत्सित मनसाय” भएकाहरुले फेरी बाजी मार्लान। अमेरिकाबाट पनि आइसीसीमा धेरैले आफ्नो उम्मेद्वारी दिएका छन्। अधिबक्ता खगेन्द्र जिसीले उपाध्यक्ष पदमा आफु उठ्ने घोषणा गरिसकेका छन् ।
एनआरएन अमेरिकाको निर्बाचनमा अध्यक्ष पदका प्रत्याशी बनेर अन्त्यमा हट्न बाध्य बनाइएका गौरी राज जोशीले फेरी अमेरिकाज क्षेत्रको संयोजक अर्थात आरसी पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। बर्तमान एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशब पौडेल गौरी राज जोशीको उम्मेद्वारीलाइ लिएर अदालत जान बाध्य बनाउने प्रमुख व्यक्ति हुन्। एनसिसिमा आफु हार्ने पक्का भए पछि अमेरिकाको अध्यक्ष बन्न योग्यता नपुगेको भनेर सम्पूर्ण हत्काण्डा प्रयोग गरेका पौडेलको समेत सहयोगमा गौरी राज जोशी उम्मेदवार बनेको चर्चा छ। तर आफ्नो स्वार्थ पुरा गर्न जुन स्तरमा पनि ओर्लिन तयार केशब पौडेलले कहिले सम्म जोशीलाई बोक्ने हुन् त्यो भने हेर्न बाँकी छ। सोहि पदमा एसी शेर्पाले पनि उम्मेद्वारी दिइसकेका छन्।
यहि सेरोफेरोमा गौरी राज जोशीले एक बिज्ञप्ति प्रकाशित गरेका छन् । आफ्नो एनआरएनमा रहेको योगदान, नेपाली समुदायमा गरेको सहयोग जारी राख्न र एनआरएन लाइ अझै बलियो बनाउन आफु क्षेत्रिय संयोजकको उम्मेदवार बनेको उल्लेख गर्दै बिज्ञप्तिमा सबैलाई सहयोगको लागि समेत अपिल गरेका छन्। बिज्ञप्ति जस्ताको तस्तै :
केही साता अघि एनआरएन अमेरिकाको अध्यक्ष उम्मेदवारका क्रममा मैले अमेरिका वस्ने नेपालीका लागि एनआरएन अमेरिका हुनुपर्छ भन्ने लगायतका मुद्दाहरु अगाडी सारेको यहाहरुलाई सर्वविदितै छ । एनआरएन अमेरिका नेपालीका लागि अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्था वनाउनुपर्छ भनेर मैले आफुलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको थिएं । विवाद होइन, एनआरएन अमेरिका सवै समुदायले विश्वास गर्ने सस्था हुनुपर्छ भन्ने पक्षमा म सधैं थिएं र छु ।
नियमअनुसार मैले उम्मेदवारी दिदां पनि कायम नहुदां अदालतसम्म जानु पर्यो । त्यसवेला पनि म सहमति र सहकार्यका लागि तयार भएको वताउंदै आएको थिएं । अमेरिका भरी २ सय जना भन्दा वढी उम्मेदवार, १५ हजार मतदाता भएको अवस्थामा मेरो कारणले निर्वाचन प्रकृया रोकिनु हुदैंन भनेर अन्यायमा परेको अवस्थामा पनि मैले अदालतवाट मुद्दा फिर्ता लिएको थिएं । सहमति र सहकार्यमै वढ्न मैले केन्द्रिय उपाध्यक्ष कुमार पन्तज्यू को उपस्थितिमा एनआरएन अध्यक्ष डा केशव पौडेलसंग उम्मेदवारी फिर्ता लिने सहमति गरेको थिएं । त्यसवेला पनि उहांहरु लगायत समुदायको कयौं साथिहरुको भनाई तपाई एनआरएन अभियानमा वाहिर जानु हुदैंन भन्ने थियो । सम्पर्कमा आउनुहुने सवैले मलाई एनआरएन संस्थावाट वाहिर नजान सुझाव दिईरहनु भएको थियो ।
यस विचमा मैले एनआरएनएको केन्द्रिय नेतृत्वतहसंग सम्पर्क गर्ने मौका पनि पाएं । उहांहरुले पनि मलाई सकृय रुपमा एनआरएन अभियानमा सहभागी हुन सल्लाह र सुझाव दिनु भयो । यही सल्लाह र सुझावलाई मनन गर्दै मैले काठमाडौमा अक्टोबर १४-१७ एनआरएनए विश्व सम्मेलनमा अमेरिकाज क्षेत्रका लागि क्षेत्रिय संयोजक(आरसी) पदमा उम्मेदवारी दिने निर्णय लिएको छु ।
अमेरिकामा नेपाली समुदायको गतिविधिमा मैले सधैं साथ दिदैं आए छु । प्रत्येक महिना एउटालाई गर्दै अमेरिकाका विभिन्न शहरमा वन्ने क्रममा रहेका सामुदायिक भवन निमार्णमा सहयोग दिदैं आएको छु । अव आउने दिनमा यो दायरालाई फराकिलो पार्दै अमेरिका क्षेत्रमा पर्ने मेक्सिको, क्यानडा लगायतका देशमा वस्नु हुने नेपाली समुदायका गतिविधिलाई पनि समेट्ने म यहांहरुलाई जानकारी गराउन चाहान्छु ।
अहिलेपनि मेरो उम्मेदवारी समुदायको हितका लागि नै हो । भौगोलिक दायरा अलि फराकिलो भएको छ । मेक्सिको, अमेरिका, क्यानडा लगायत अमेरिकाज क्षेत्रमा वसोबास गर्ने हामी नेपाली समुदाय विच अझ वढी निकटताको खांचो छ । एक आपसमा सुचना, सहयोग र सहकार्य वढाउनु अहिलेको आवश्यकता हो भन्ने मलाई लागेको छ । समुदायको हितका लागि हामी सवै एक भएर अघि जान सकिन्छ । यसमा म यस क्षेत्रमा वस्ने सवै नेपाली समुदायको सुझावका लागि पनि अनुरोध गर्छु । अमेरिकाज क्षेत्रमा वस्नुहुने सवै नेपाली समुदाय, विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं जानुहुने प्रतिनिधिज्यूहरु लगायत सवैलाई मेरो क्षेत्रिय संयोजक (आरसी) पदमा उम्मेदवारीलाई सहयोग र समर्थन गर्न अनुरोध गर्छु । यहाहरुले मलाई तपाईहरुकै माझ रहेर काम गर्ने अवसर दिनुहुने छ भन्नेमा विश्वस्त छु ।
अन्तिममा म सधै सहमति र सहकार्यका लागि तयार रहेको पुन प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।
गौरी राज जोशी
अमेरिकाज क्षेत्रिय संयोजक (आरसी) उम्मेदवार
टेक्सस अमेरिका ।
२१४-५९२-३२४४
९८१३१३८५७७ (Nepal)
gourijoshi@hotmail.com