लस भेगासमा भएको गोलीकाण्डमा ५० जनाको मृत्यु, ४०० भन्दा बढी घाइते
लस एन्जेलस,२ अक्टोबर ः अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरु ४०० जनाभन्दा बढी घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी भएको छ ।
सोमबार बिहान लस भेगसको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५० पुगेको जानकारी सहितको विज्ञप्ति प्रकाशन गरेको छ । सोही गोलीकाण्डमा परी ४०० जनाभन्दा बढी गम्भीर रुपमा घाइते भएका छन् । सो होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आमहत्या गरेको प्रहरीले जनाएको छ ।
गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ बर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।