हाम्रो एनआरएन राम्रो एनआरएन बहस: शेष घले, अर्जुन कार्की र केशव पौडेल सहभागी हुने
अमेरिका, सेप्टेम्बर १५। एनआरएन अमेरिकाको निर्बाचन भर्खर समाप्त भएको छ। नयाँ कार्यसमितिले काम थालिसकेको छैन। आउँदो शनिबार अर्थात् सेप्टेम्बर १६ मा यो निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दैछन्। साथै सोहि अबसरमा बार्षिक साधारण सभा पनि सम्पन्न हुँदैछ। साधारण सभाका सबै कार्यक्रम सकिए लगत्तै एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न हुदैछ। नेपाल अमेरिका पत्रकार संघ र एनआरएन अमेरिकाको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष शेष घले, अमेरिकाका लागी नेपाली दुत डाक्टर अर्जुन कार्की र एनआरएन अमेरिकाका नबनिर्बाचित अध्यक्ष केशव पौडेल सहभागी हुनेछन भने कार्यक्रमको संयोजन नेजाका कार्यकारी सदस्य बाल जोशीले गर्नेछन।
हाम्रो एनआरएन राम्रो एनआरएन शिर्षक दिइएको यो कार्यक्रम पनि एनआरएन अमेरिकाको छैठौं बार्षिक साधारण सभा गरिने स्थल अर्थात् बाल्टिमोर स्थित इनर हार्भर होटेलमा अपरान्ह पांच बजे देखि ७ बजेसम्म संचालन हुनेछ।
यो बहस अहिलेको अबस्थामा अत्यन्त सान्दर्भिक हुने देखिन्छ। बिशेष गरी एनआरएन अमेरिकाको भर्खर सम्पन्न निर्बाचन अत्यन्त तिक्त र विभाजनकारी रह्यो। सदस्यता विवाद, उम्मेद्वारी बिषयमा विवाद, मतदानमा बास्तविक भन्दा अवास्तविक मतहरु प्रयोग भएको भन्ने चिन्ता आम जनमानसमा देखिएको अहिलेको सन्दर्भमा एनआरएनलाइ कसरी नेपालीहरुको इज्जत गर्न सकिने साझा संस्था बनाउन सकिन्छ भन्नेमा यो अन्तरक्रियाले केहि महत्वपूर्ण प्रश्नहरुको जवाफ दिने अपेक्षा गरिएको छ। कार्यक्रमको प्रमुख आकर्षण नै एनआरएन अध्यक्ष शेष घले हुनुले यो कार्यक्रम अत्यन्त महत्वपूर्ण हुनेछ।
धेरैलाई थाहा छ, एनआरएन अमेरिका अहिले पनि संस्थाको रुपमा बिकसित भैसकेको छैन । यसमा सिक्ने क्रम जारी छ। तर अब यति धेरै सदस्यहरु रहेको, यति धेरै नेपालीहरुले आशा गरेको एनआरएनमा सिक्ने मात्र काम हुनु हुँदैन। सदस्यता लिन चाहने बास्तविक नेपालीहरुलाई सजिलो मार्ग अपनाउने, स्थायी परिचयपत्रको व्यवस्था गर्ने, चुनाव लक्षित सदस्यता निर्माण अभियानलाई निस्तेज गर्ने, व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु नै एनआरएन अमेरिकाको पहिलो काम हुनु पर्छ । बेथिति, भद्रगोल र चोरबाटोहरु प्रयोग गर्न पाइने प्रणाली जारी राख्दा आफुलाई टिकिरहन सजिलो हुन्छ भन्ने सोंचाई सबैले त्यागेर थिति बसाल्ने तिर सबैको प्रयत्न हुनु जरुरी छ। यो बहसको बिषय यहि हुनु पर्छ भन्ने एनआरएनका सच्चा शुभचिन्तकहरुको धारणा छ।
बिषय अत्यन्त सान्दर्भिक छ । बेला अत्यन्त उपयुक्त छ। अब यो बेला र बिषयको गाम्भीर्यतालाइ सम्बन्धित पक्षले कसरी प्रयोग गर्छन भन्ने हेर्न भने बाँकी नै छ। आफ्ना बिगतका कमजोरी स्वीकार गरी सुधार्ने वा आफ्ना गल्तीहरुलाई ढाकछोप गरेर आफ्नो गल्तीहरुलाई जारी राख्ने भन्ने कुराको जिम्मा भने अहिलेको नेतृत्व कै हो। आशा गरौँ, यो छैठौं सम्मेलन र यो अन्तरक्रिया पश्चात नेपाली समाज अमेरिकाले एउटा स्पस्ट र भिजन भएको एनआरएन अमेरिका प्राप्त गर्ने छ। काम भन्दा कुरा बढी गर्ने, बाहिर भन्दा भित्र चलखेल गर्ने र संस्था भन्दा आफु ठुलो भन्ने प्रवृतिको अन्त्य यहि साधारण सभा मार्फत होस्, सबैको यहि छ कामना।