सवारी चालक अनुमति पत्रको परिक्षामा नेपाली भाषाको प्रयोगको लागि अभियान शुरु
सेप्टेम्बर १५, डालस, टेक्सास। नेपाली समाज टेक्सासले फेरी एउटा अभियान शुरु गरेको छ, नेपालीभाषीहरुको सुबिधाको लागि। डालस क्षेत्रमा धेरै नेपालीहरु रहेको र उनीहरुलाई सवारी चालक अनुमति पत्र लिन प्रयोग गरिने परिक्षा अंग्रेजी भाषाको सट्टा नेपाली मै दिन व्यवस्था गर्नु पर्ने माग राख्दै चेन्ज डट ओआरजी मार्फत अभियान संचालन गर्न नेपाली समाज टेक्सासले पेटिसन दर्ता गरेको छ। टेक्सासको स्टेट सेक्रेटरीसंग नेपालीभाषीहरुको लागि सबारी चालक अनुमति पत्रको लिखित परिक्षा नेपाली भाषामा दिन पाउने व्यबस्थाको लागि अनुरोध गरेको थियो। त्यसको जवाफमा सेक्रेटरीले पेटिसन फाइल गर्ने, जति सक्यो धेरैको हस्ताक्षर संगलन गर्ने काम पहिले गर्न र त्यसपछि मात्र अघि बढ्न सुझाव दिए पछि पेटिसन फाइल गरिएको कुरा नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले बताउन भएको छ।
टेक्सास रिपब्लिकन पार्टीको बाहुल्यता भएको राज्य हो। रिपब्लिकनहरुलाई कन्जरभेटिभ अर्थात् परम्पराबादी पनि भनिन्छ। उनीहरु आप्रबाशीहरुसंग जहिले पनि ससंकित हुन्छन। बिदेसी भाषा, धर्म र संस्कार प्रति उनीहरु त्यति उदार हुँदैनन्। टेक्सासमा नेपालीभाषी भन्दा धेरै जनसंख्या भएका अन्य थुप्रै समुदाय छन्। भारतीय, भियतनामी लगायत अन्य भाषीहरुको राम्रो उपस्थिति टेक्सासमा रहे पनि उनीहरुको भाषालाइ समेत टेक्सासको चालक अनुमति पत्रको लिखित परिक्षामा सामेल गरिएको छैन। अंग्रेजी र स्पेनिस भाषामा मात्र यो सुबिधा उपलब्ध छ। यस्तो अबस्थामा नेपाली भाषाले त्यो मान्यता पाउने आशा निकै कम छ। तर प्रयास नगरी केहि हुँदैन। यो प्रयासको लागि नेपाली समाज टेक्सासलाइ धन्यवाद दिनै पर्छ।
यसमा आफ्नो हस्ताक्षर गर्न टेक्सासमै बसेको हुनु पर्दैन। चेन्ज डट ओआरजी मा गएर आफ्नो नाम मात्र राखे पछि तपाईंको हस्ताक्षर गरेको ठहरिन्छ। धेरै भन्दा धेरैको हस्ताक्षर गयो भने कमसेकम टेक्सासमा नेपालीहरुको कस्तो उपस्थिति छ भन्ने यहाँका सिनेटर, कांग्रेसका सदस्यहरुलाइ थाहा हुने र नेपालीहरुको पनि बेलाबखत गन्ति हुने अवस्था आउने भएकोले यो अबसरको भरपुर उपयोग गर्न पर्ने देखिन्छ।
अमेरिकामा नेपाली भाषालाइ मान्यता प्राप्त बिदेशी भाषाको रुपमा स्थापित गर्न धेरै प्रयासहरु भएका छन्। वासिंगटन स्टेटमा मोहन गुरुङको नेतृत्वमा उक्त काम सफल भएको छ। सो अनुसार नेपाली जानेका बिद्यार्थीहरुले भाषा परिक्षामा स्वतः अंक प्राप्त गर्नेछन्। त्यस्तै यो अभियान मेरिल्याण्ड राज्यमा पनि शुरु गरिएको छ। सवारी चालक अनुमति प्राप्त गर्न दिइने परिक्षामा नेपाली भाषाको प्रयोग गर्न पाइने व्यवस्था भने अहिले सम्म नर्थ डाकोटा राज्यमा मात्र छ।
https://www.change.org/p/t-adding-nepali-language-in-texas-state-driving-license-test?recruiter=782588170&utm_source=share_for_starters&utm_medium=copyLink