आइफोन निर्माणको दश बर्ष पुरा: आइफोन १० (एक्स) र आइफोन ८ बजारमा
स्मार्ट फोनको दुनियाँमा बिगत १० बर्षदेखि तहल्का मच्चाउँदै आएको एप्पलले आज आइफोन १० सार्बजनिक गरेको छ। त्यस संगसंगै हरेक बर्ष सार्बजनिक गर्दै आएको नियमित शृंखला अन्तर्गत आइफोन आठ र आइफोन आठ प्लस समेत सार्बजनिक गरेको छ । आइफोन एक्स १० बर्ष पुगेको उपलक्षमा ल्याइएको बिशेष उत्पादन हो । एप्पलका सीइयो टिम कुकले आज एप्पलको केन्द्रिय कार्यालय क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एक भव्य समारोह बीच उक्त आइफोन सार्बजनिक गरेका छन् । उक्त समारोहमा बोल्दै कुकले यो दशौँ बर्षको अबसरमा निकालिएको आइफोन १० (एक्स) लाइ “एउटा अर्को चिज अर्थात् वन मोर थिङ्ग” भनेर यसमा नियमित आइफोन भन्दा बिशेष रहेको उल्लेख गरेका छन् ।
के के बिशेषता छन् आइफोन १० (एक्स) मा ??
एप्पल १० (एक्स) को साइज ५.८ इन्च छ जुन आइफोन ६ र ७ शृंखलाका प्लस शृंखला भन्दा पोइन्ट ३ इन्च ठुलो हो । दोश्रो कुरा यसमा होम बटन छैन । यो भन्दा अघिका आइफोनहरुको वरिपरि बिशेष गरेर माथि र तल पट्टि खाली ठाउं थियो तर यसमा भने त्यो पुरै भागमा स्क्रिन छ जसले गर्दा यसको स्क्रिनको साइज पहिलेको भन्दा धेरै ठुलो छ । स्क्रिन पुरै छेउ सम्म फैलिएको छ । यसको पछाडिको भाग पनि सिसाको छ । त्यसै गरी चार्जर पनि ताररहित छ । पानी र धुलोबाट यसलाई केहि असर गर्दैन अर्थात् यो पानी धुलो नपर्ने गरी निर्माण गरिएको छ ।
यो फोनको स्क्रिन ठुलो मात्र होइन कलर र अन्य हिसाबले गुणस्तरीय छ । सुपर रेटिना डिस्प्ले नाम दिइएको यो स्क्रिनमा हरेक इन्चमा ४५८ पिक्सेल छ जसले हरेक चिजमा रहेको कलरलाइ जस्ताको तस्तै हाम्रो आँखाले देख्न सक्छ ।
आइफोन एक्समा होम बटन हटाइएको छ । यो फोन खोल्नको लागि भने फेस आइडी बनाउन पर्नेहुन्छ । अर्थात् तपाईंको फेस चिनेर मात्र यो फोन खुल्नेछ । अघिल्लो क्यामेरा र सेन्सरले तपाईंको नक्सा पहिचान गर्नेछन् र तपाईं बास्तविक फोन मालिक हो भनेर छुट्टाउनेछन् र फोन खुल्नेछ । रातिको लागि भने फ्लड लाइट प्रयोग गर्नेछ जसले अँध्यारोमा समेत फेस आइडी मार्फत फोन खुल्नेछ । एप्पलका अनुसार फिंगर प्रिन्ट बाट फोन खुल्ने पुरानो पद्धतिमा ५०,००० मा एक जना गलत व्यक्तिले फोन खोल्न सक्थ्यो भने फेस आइडी बाट गलत व्यक्तिले खोल्ने चान्स एक मिलियनमा एक हुनेछ । प्रयोगकर्ताको गोपनियताको हिसाबले यो निकै क्रान्तिकारी सुरक्षा उपाय हो ।
आइफोन १० (एक्स) मा पछिल्लो भागमा दुइ वटा १२ मेगापिक्सेलका क्यामेरा हुनेछन भने पोर्टट्रेट मोडको कारण सेल्फीको दुनियाँमा क्रान्ति आउने एप्पलको अनुमान छ । आइफोन आठ, आठ प्लस र १०(एक्स) सबैमा तार रहित चार्जर को व्यवस्था गरिएको छ जसले उपभोक्ताहरुलाई तार बोकेर हिड्नु पर्ने झन्झटबाट मुक्ति दिलाउने छ । निकट भबिस्यमा बिमानास्थल, रेल्वे स्टेसन, बसपार्क, मल र अन्य यस्तै सार्बजनिक स्थानहरुमा त्यस्ता चार्जरहरु उपलब्ध गराउने एप्पलको योजना छ ।
आइफोन एक्सको बिक्रि भने नोभेम्बर ३ देखि मात्र हुनेछ । आइफोन आठ र आठ प्लस भने मंगलबार देखिनै लन्च गरिएको छ । १० (एक्स) को मुल्य $९९९ अर्थात् करिब एकलाख नेपाली रुपैयाँ हुनेछ भने आइफोन ८ र ८ प्लस भने $७०० देखि शुरु हुनेछन ।
करोडौं डलर खर्च गरेर निर्माण गरिएको स्टिभ जब्स थियटरमा बिशेष समारोहका बीच सीइयो टिम कुकले उक्त उत्पादनको घोषणा गरेका हुन् ।