एनआरएन अमेरिकाले नयाँ कार्यसमिति पायो: आशा र आशंका सहित काम थाल्दै
अन्तत अमेरिकाको चुनाव सकियो एनआरएन अमेरिकाको । जित्नेहरु यतिबेला जितको खुसियाली मनाउदै होलान, हार्नेहरु हारको कारण खोतल्दै होलान। जित्नेहरुले ३ लाख नेपाली भएको ठाउँमा जम्मा ४ हजार मत त्यो पनि साम दाम दण्ड भेद गरेर ल्याएको मतपत्रको सिरानी हालेर आफ्नो नयाँ कार्यकाल शुरु गर्नेछन भने हार्नेहरु पनि आफ्ना सबै फर्मुला असफल भएकोमा टाउको समाउदै आफ्ना काम तिर लाग्लान। कसैले धाँधली भयो पनि भन्लान। प्रबाशी नेपालीहरु भने आफ्नो दैनिकी उसै गरी बिताउनेछन। उनीहरुलाई भने केशव पौडेलले के भन्छन र के गर्छन होइन, डोनाल्ड ट्रंपले के गर्छन भन्ने कुराले बढी प्रभावित पार्नेछ।थोरै संख्यामा सदस्य बन्नु, बनेका पनि अधिकांश आफूखुसी नभई अरुखुसी बन्नु यहि कारण हो।
यसपालिको एनआरएन अमेरिकाको निर्बाचनमा भोट हाल्ने अवसर मलाई प्राप्त भएन । मेरो परिबारका 4 जना मध्ये एकजना मात्र भोट हाल्न योग्य भैयो । किन यसो भयो होला भनेर मैले ठोकुवा गर्न सक्ने अवस्था छैन । हामी सबै जना एनआरएन अमेरिकाको निर्बाचन समितिको गाइडलाइन अनुसार योग्य थियौं । ३ जनाको नाम समाबेश नभए पछि चौथो चाहिं कसरी समाबेश भयो होला भन्ने अवस्था सिर्जना भयो । मतदाता हुन उमेर, भिसाको स्टाटसले नमिलेको हो कि भन्ने अवस्था पनि देखिएन । ८ बर्ष देखि माथिकाले भोट हाल्न पाएकोले उमेरसंग र बिद्यार्थी भिसामा रहेकाले पनि भोट हालेकोले स्टाटससंग पनि केहि लेनादेना छैन भन्ने कुरा प्रस्ट भयो । मेरो मात्र होइन अन्य धेरै परिवारहरु यो अवसरबाट बन्चित भएको अबस्थामा यसलाई प्राबिधिक कमजोरी र सम्पूर्ण डाटाको प्रोसेसिङ्ग र प्रयोगमा लापरबाही गरिएको भन्न सकिन्छ ।अमेरिका जस्तो ठाउँमा साधन र श्रोत हुँदा हुँदै पनि यी समस्याहरु हटाउन प्रयत्न किन गरिएन भनेर प्रश्न गर्ने प्रशस्त ठाउँहरु छन्।
त्यसो त निर्बाचनको परिणाम आउने बेलामा गरिएको चरम लापरबाहीले फेरी अर्को पटक अहिलेको कार्यसमिति र निर्बाचन समितिको नराम्रो संग धज्जी उडाएको छ । निर्बचान समितिले समेत थाहा नपाउंदै निर्बाचनको सम्पूर्ण नतिजा सामाजिक संजालमा ब्यापक भए पछि उक्त कमजोरी अझै लापरबाहीको हदसम्म रहेको पुस्टि भएको हो । हज्जारौं व्यक्तिहरुको अत्यन्त निजी सुचनाहरु बुझाउनु पर्ने यस्तो ठाउँमा देखाइएको लापरबाही खेदजनक छ । तर अफसोस यसको जिम्मा वर्तमान नेतृत्वले लिने कुरै भएन । यो हदसम्मको लापरबाहीको पनि कुनै न कुनै तर्क गरेर अन्तै पन्छाइने छ भन्नेमा कुनै आशंका नगरे हुन्छ ।
जे होस् निर्बाचन सम्पन्न भएको छ र एनआरएन अमेरिकाले नयाँ कार्यसमिति पाएको छ। निर्बाचन जित्न कसै कसैले सबै हथकण्डा प्रयोग गरेका छन् । तर पनि जित्नेहरु चाहे भने एनआरएनलाइ योगदान गर्न सक्ने खालकै छन्। पार्टी, गुट र आफ्नो निजि स्वार्थ छोडेर समुदायको हितमा लाग्ने हो भने पक्कै यो समिति सफल हुन सक्छ। यसमा डाक्टर केशव पौडेलको नेतृत्वले अघिल्लो पटक सफल भएन। गुट उपगुट र पार्टी राजनीतिलाई खुला रुपमा छिराइयो भन्ने आरोप लाग्यो। आशा गरौँ यस्तो नहोस। समाजसेवा गर्ने उद्देस्य रहेको यो संस्थामा जो आए पनि उद्देस्य समाजसेवा नै हुनु पर्छ भन्ने कुरा चाहिं सबैले मनन गर्नु पर्छ।
अन्तमा निर्बाचनमा विजय प्राप्त गर्नु हुने अध्यक्ष केशब पौडेल, बरिस्ठ उपाध्यक्ष सुनील शाह, उपाध्यक्षहरु राधा पौडेल, रामकुमार सुबेदी, जेदु पोख्रेल, उमा कार्की थापा, महासचिव बाबुराम लामा, सचिव होमनाथ गौतम, कोशाध्यक्ष डाक्टर प्रकाश अर्याल, सह-कोषाध्यक्ष पवन योञ्जन, महिला संयोजक इन्दिरा त्रिपाठी, युवा संयोजक स्वराज खाती, बोर्ड अफ डिरेक्टरहरु अर्जुन बन्जाडे, कृष्ण लामिछाने, अमृत कट्टेल, तृष्णा शर्मा, संजय थापा, प्रिती सागर खत्री, दिव्या वली, दिपेन्द्र राज भट्टराई, बिन्दु सापकोटा निरौला, आंग निमा शेर्पा र बिष्णु शाहलाइ हाम्रो तर्फबाट सफल कार्यकालको लागि सुभकामना।