स्वरोजगारमूलक व्यवसायका लागि बीउ पुँजी
काठमाडौँ, २९ जेठ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजत महोत्सवको अवसरमा पारेर सुरु गरेको दृष्टिविहीन स्वरोजगार कोसेढुङ्गा कार्यक्रमअन्तर्गत एक्काइस दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी प्रदान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रबद्र्धन शाखाका अधिकृत निमराज भट्टराईले छनोटमा परेका दृष्टिविहीनलाई उक्त रकम प्रदान गर्नुभयो ।
सङ्घले सरकारको सहयोगमा यस वर्षदेखि स्वरोजगारमूलक व्यवसाय गर्न चाहने दृष्टिविहीनलाई टेवास्वरुप परियोजनाका आधारमा बढीमा रु १० हजारसम्मको बीउ पुँजी उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ ।
यस वर्ष नाङ्लो पसल, प्लास्टिकजन्य हस्तकला, कपडा पसल, कुखुरा पालनलगायत व्यवसाय सञ्चालनका लागि परियोजनाका आधारमा २१ जनालाई उक्त रकम प्रदान गरिएको र आगामी वर्षमा पनि सो कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ । रासस