युएनएको डालसमा सम्पन्न दोश्रो सम्मेलनको आत्मसमिक्षा
May 30, 2017 | 3:20 am    
हिजो युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो अधिबेशन सफलतापुर्बकर अत्यन्त सभ्यतापुर्बक सम्पन्न भयो । यो सम्मेलन संगै कतिपय नयाँ प्रश्न जन्मेका छन्, कतिपय उत्तर प्राप्त भएका छन् भने कतिपय जीवित प्रश्न अनुत्तरित नै रहे । यो वा त्यो नाम त्यहाँ भएका कमजोरी, बिकृति र समस्याबारे भबिस्यमा छलफल होला र त्यसको निराकरण गर्न आगामी दिनमा सजगता अपनाइएला । यो अबधिभर डालसका प्रबासी नेपाली दाजुभाईहरुको भूमिका, यहाँ रहेका पत्रकार साथीहरुको भूमिका पनि पक्कै प्रत्यक्ष रुपमा मुल्यांकन नभए पनि अप्रत्यक्ष रुपमा मुल्यांकन हुनेछ भन्ने मेरो विश्वास छ । तर म यी कुराहरुमा आफ्नो समय र उर्जा खर्च गर्न चाहन्न । यसका सकारात्मक पाटोहरु मेरो यो प्रस्तुतिका सामग्री हुन् ।
करिव दुइ महिना देखि हामी यो सम्मेलनको तयारीमा लाग्यौं । काम गर्ने क्षेत्रहरु विभाजन गरेर जाने र आफ्नो आफ्नो क्षेत्रको काम आफ्नै सम्पूर्ण जिम्मामा संचालन गर्ने युएनएको मुख्य डिजाइन थियो । त्यसले नेतृत्व विकास हुन्छ र भविस्यमा उनीहरु कुनै पनि काम फत्ते गर्न योग्य हुनसक्छन भन्ने युएनए को मान्यता अनुरुप सबैले आफ्नो आफ्नो जिम्मामा रहेका कामहरु शुरु गरिए । हाम्रा नियमित हुने मिटिंगहरुको बिषय कहिल्यै पनि नकारात्मक भएन, सकारात्मक थियो । हामी सबैका आफ्ना आफ्नै कमजोरी र बाध्यता कारण कार्यसम्पादनमा त्रुटी देखिए पनि कहींबाट निरुत्साहित हुनुपर्ने अवस्था कतै देखा परेन । साना तिना बुझाइको कमीबाट भएका शव्दहरुको साटासाट बाहेक अरु कसैले पनि त्यो अवस्था भोग्नु परेन भन्ने विश्वास छ । सबैलाई बिगतको कामको अनुभव र इच्छाको आधारमा जिम्मेवारीको बाँडफांड गरिएकोले सबैले आफ्नो क्षेत्रमा ठुलो अनुभव लिएको अवस्था छ । आज सम्मेलन सकिएको अर्को दिन आफुले धेरै भोगेको, धेरै देखेको अनुभूति भएको छ । थुप्रै कमजोरीहरुको बाबजुद हामीले कसै प्रति अनुग्रही, कसै प्रति प्रुबाग्रही रुपमा व्यवहार नगरी वा निस्वार्थ दाताहरुको सहयोग लिएर निहित स्वार्थको लागि मात्र समाजसेवाको ढ्वांग गर्नेहरुस कोहि संग लम्पसार नपरी कार्यक्रम सम्पन्न भएकोमा सन्तोष लागेको छ ।
यो सम्मेलन मात्र युएनएको उद्देस्य नेपाली युबाहरुलाई अमेरिकी समाजमा सम्मानजनक पुनर्स्थापना गर्नु नै हो । उनीहरुलाई खेलको माध्यमबाट होस् वा आफ्नो कला प्रस्तुत गर्न आबस्यक श्रोत उपलब्ध गराउनु हो । यसको उद्देस्य कसैलाई नेता बनाउनु होइन । यसमा प्रत्यक्ष संलग्न व्यक्तिहरु यसअघि यो भन्दा माथिल्लो भूमिकामा रहिसकेको अबस्थामा नयाँ पुस्तालाई बाहिर प्रस्तुत हुने अवसर युएनएले प्रदान गरेको हो । यसमा पक्कै केहि नेपाली युवा हिरो बनेर निस्केका छन् । कामबाट र बोलीबाट उनीहरु आफुलाई त्यो स्थानमा पुर्याउन सफल भएका छन् । ‘जैसे करनी, वैसे भरनी’ भन्ने उखान जस्तै राम्रो काम गरेका हरेक युबाहरुले आफुले गरेको राम्रो कामको प्रतिफल अबस्य पाउनेछन । यो अबसरमा एक जना भए पनि नेपाली युवा सकारात्मक सोंच, चेतना र अनुभवबाट दिक्षित भएको छ भने युएनएको उद्देस्य पुरा भएको छ । यो एउटा सम्मेलन मात्र नभएर अभियान भएकोले आगामी दिनमा त्यहि एउटा बत्तीले अमेरिकाको नेपाली युवा समाजलाइ उज्यालो दिनेछ भन्नेमा कुनै आशंका छैन ।
यो सम्मेलनमा अमेरिकाको नेपाली युवा संगसंगै नेपालका युबाहरुको समेत सहभागिता रह्यो । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, अभिनेत्री नन्दिता केसी, मोडेलहरु सोनी राजभण्डारी र नगमा श्रेष्ठ र फेसन डिजाइनर सुबेच्छा भडेल यो अबधिमा मैले सम्बाद गर्न अवसर पाएका व्यक्तित्वहरु हुन् । उनीहरुको बारेमा केहि भनिन भने मलाई लाग्छ अरु केहि लेख्नुको कुनै अर्थ छैन । मैले आफ्नो तरिकाले उनीहरु र ‘हामी केहि’ यहाँका युबाहरुको बिचको फरक महशुस गरें । मैले एउटा कुरा भन्नै पर्छ नेपालबाट आएका यी व्यक्तित्वहरु ‘हामी केहि’ भन्दा हेराइ, बुझाइ र गराई हरेक क्षेत्रमा अगाडी छन् । हामी भन्दा उनीहरु बढी शालीन छन्, सभ्य छन्, सुसंस्कृत र सुयोग्य छन् । यहाँको जस्तो ब्यक्तिबादी, स्वयंबादी र अहमबादी बिकृतिको रोग उनीहरुमा छैन । यसको मुल्यांकन गर्न यतिबेला सम्भव पनि छैन । पारस खड्काको अभिव्यक्ति र व्यवहार, नन्दिता केसीको नृत्य प्रस्तुतिको बिषय र शैली, सोनी राजभण्डारीको पहिरन र उत्प्रेरक भनाइहरु, नगमा श्रेष्ठको प्रस्तुति र बिचार अनि सुबेच्छा भडेलको फेसनको निर्माणले उनीहरुको व्यक्तित्व, नेपालको तस्विर र नेपाली युबाहरुको मानसिकता उजागर गरेको छ । स्वरको जादु भएका हेमन्त राना र उनको शालीन स्वभाव हाम्रो लागि प्रेरणाका श्रोत हुन् । छोटो समयको सुचनाको बाबजुद अमेरिकामा रहेका युबाहरुलाई उत्प्रेरणा दिन समय र उर्जा खर्चिने यी व्यक्तिहरुलाई हामी हृदय देखि धन्यवाद दिन चाहन्छौं । तपाईंहरु प्रति हामी ऋणी छौं । तपाईंलाइ प्रयाप्त आतिथ्यता र सत्कार पुर्याउन नसकेकोमा हामी क्षमा प्रार्थी छौं ।
यो सम्मेलन सफल पार्न भित्रि रुपमा र अग्रभागमा रहेर काम गर्नेहरुको हामीले नाम लिनै पर्छ । अध्यक्ष पासाङ्ग लामाको शालीन, शान्त र स्पस्ट बिचारले हाम्रो सम्मेलन निर्देशित रह्यो । तर उहाँले कुनै पनि काममा बिग्रेको अबस्थामा बाहेक अघिपछि किचकिच कहिल्यै पनि गर्नुभएन । त्यस्तै बिएन पन्त जो यो सम्मेलनको मुख्य संयोजक हुनुहुन्थ्यो, उहाँले पनि जस्तोसुकै तनावको अबस्थामा पनि सकारात्मक सोंच सहित परिस्थितिलाइ अनुकुल बनाउनु भयो । हरेक कार्यक्रम सफल रुपमा, ब्यबस्थित रुपमा सम्पन्न गरेर आइषा ओझाले आफ्नो कार्यकुशलताको परिचय दिइन । त्यस्तै त्यति ठुलो स्तरको र ग्ल्यामरको दुनियाँका हस्तीहरु संग सहकार्य गर्दै सफलता पुर्बक सम्पन्न गर्नमा रायन कार्कीले भूमिका खेले । फेसन सो, डिजे नाइट र मेगा कन्सर्टमा देखिएको स्तरिय प्रस्तुति उनकै नेतृत्वमा सम्पन्न भयो । खेलकुदमा राम भण्डारीको अतुलनिय योगदान रह्यो । त्यति धेरै खेलहरु समयमै समापन गर्नु चानचुने कुरा होइन । त्यस्तै यी सबै व्यक्तिहरुको पछाडी वा अगाडी बसेर महत्वपुर्ण भूमिका खेल्नेहरु यो सम्मेलनका हिरोहरु हुन् । अरु थुप्रै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सक्रिय नामहरु छन्, छुटेकोमा माफी चाहन्छौं ।
अन्त्यमा पक्कै पनि यो सम्मेलनले हामीलाई धेरै कुरा सिकाएको छ । हाम्रा कतिपय नकारात्मक अनुभवका बाबजुद हामी यो यात्रामा लम्किरहने छौं । फेरी अर्को बर्ष तेश्रो सम्मेलन आयोजना गर्ने कुराको जानकारी गराउंदै कसले के गर्यो वा के गरेन भनेर होइन कि नयाँ तरिकाले कसरी काम गर्न सकिन्छ भनेर सकारत्मक उर्जाको साथी बिदा भएका छौं । ‘नमरी बाँचे कालले सांचे जिन्दगीको घुम्तीमा फेरी फेरी पक्कै भेट हुनेछ । नेपाली युवालाई अमेरिकाको मुलधारमा स्थापित गर्न उनीहरुलाई साधन, श्रोत र मैदान उपलब्ध गराउने हाम्रो अभियान हो । एक दुइ जना पनि यसबाट लाभान्वित भए भने पनि हाम्रो लक्ष पुरा भएको छ । यो एक अभियान भएकोले हाम्रो यात्रा जारी छ । बाँकी मुल्यांकन गर्ने जिम्मा तपाईंहरुकै ! अस्तु !!!