युएनएको डालसमा हुन लागेको दोश्रो सम्मेलनमा Kids Talent Show आयोजना गरिने
अप्रिल १३, डालस, टेक्सास । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो बार्षिक सम्मेलन आउन करिब ६ हप्ता बाँकी छ । सम्मेलनको दिन नजिकिंदै जाँदा त्यसको लागि आबस्यक तयारी पनि तिब्र गतिमा भैरहेको छ । बिभिन्न खाले कार्यक्रमहरुका समय तालिका प्रकाशित भैसकेका छन् । हरेक दिन डिजे हुँदैछ जसमा डिजे प्रशान्त र डिजे ममले सहभागी दर्शकहरुलाई भरपुर मनोरंजन दिनेछन । खेलकुद युएनएको रक्त संचार नै हो । त्यसको लागि पनि खेल्ने ठाउं र अन्य तयारीहरु भैरहेका छन् । सांस्कृतिक कार्यक्रम, फेसन शो को लागि पनि तयारीहरु रफ्तारमा चलिरहेका छन् ।
युएनएको प्रमुख उद्देस्य नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा सम्मानजनक र सुसंस्कृत तरिकाले स्थापित गर्नु हो । त्यसको लागि भबिस्यका कर्णधारहरुलाई पनि मौका दिनु, उनीहरुको क्षमतालाइ प्रस्फुटन हुने अवसर प्रदान गर्नु र त्यस्ता क्षमतावान बालबालिकाहरुलाई उनीहरुकै चाहना अनुरुप आबस्यक प्लेटफर्म उपलब्ध गराउनु अत्याबस्यक छ । साना बाबु नानीहरु नै हाम्रो भबिस्य हुन् । त्यसैले युएनएले बच्चाहरुको लागि अघिल्लो पटक झैँ “Kids Talent Show” संचालन गर्दै छ । उनीहरुको बुद्धिको विकासले नै भविस्य उज्ज्वल हुन सक्छ र तिनै बुद्धिमान बच्चाहरु नै भोलिको समाज र राष्ट्र हाँक्ने व्यक्तिहरु भएकोले उनीहरुमा राष्ट्र र समाजले उचित लगानी गर्न जरुरी छ । युएनएले त्यहि आफ्नो कर्तब्य पुरा गर्न यस्तो प्रतियोगिता संचालन गर्न लागेको छ ।
२७ मे शनिबारको दिन Kids Talent Show आयोजना गरिने कुरा युएनए दोश्रो सम्मेलन आयोजक समितिका संयोजक बिएन पन्तले जनाउनु भएको छ । Talent Show मा बालबालिकाहरुले आफ्नो प्रतिभा खुल्ला रुपमा प्रदर्शन गर्न सक्नेछन जसमा नाच, गान र अन्य आफुमा रहेको प्रतिभा प्रस्तुत गर्न खुल्ला हुनेछन । त्यस्तै अर्को “स्पेलिंग बी” प्रतियोगिता रहेको छ । Spelling Bee प्रतियोगितामा १० देखि १३ बर्ष सम्मका बालबालिकाहरुले भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा भाग लिन पचास डलर दर्ता शुल्क रहेको छ भने प्रथम हुनेले एक हजार डलर र दोश्रो हुनेले तीन सय पचास डलर पुरस्कार प्राप्त गर्नेछन ।
Kids Talent Show को अर्को भाग बक्तृत्वकला प्रतियोगिता रहेको छ । कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरु सहभागी हुन सक्नेछन । उक्त बक्तृत्वकलामा “सामाजिक संजालका फाइदा र बेफाइदाहरु” बारेमा आफ्नो विचार व्यक्त गर्नु पर्नेछ भने आफ्नो विचारलाइ ५ देखि ७ मिनेटको अबधिमा सम्पन्न गरिसक्नु पर्नेछ । बक्तृत्वकलामा भाग लिन पचास डलर दर्ता शुल्क निर्धारण गरिएको छ भने प्रथम हुनेले एक हजार डलर र द्वितीय हुनेले पांच सय डलर पुरस्कार सहित प्रमाणपत्र समेत प्राप्त गर्नेछन ।
हाम्रा बाबुनानिहरु जस्तिसुकै चलाख भए पनि त्यसको उपयोग मानव सेवामा हुन सकेन भने उसको चातुर्यता अर्थहीन हुन जान्छ । आफ्नो मनमा लागेको कुरा आफ्नो समुदायलाई भन्नु पनि एक किसिमको समाज सेवा नै हो । यस्तो मा अभिभावकहरुको भूमिका ठुलो हुन्छ । आफ्ना छोराछोरीलाई कस्तो बनाउने भन्ने कुरा केहि हदसम्म बाबुआमाको हातमा पनि हुन्छ । यस्ता प्रतियोगितात्मक कार्यक्रमहरुले बालबालिकाको मस्तिस्क बिकास हुने, परेको काम गर्ने आँट बिकसित हुने जस्ता अहिलेको युगमा सफल हुन आबस्यक शुत्रहरु पनि प्राप्त गर्छन । त्यसैले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई युएनएले आयोजना गरेको यस्तो कार्यक्रमहरुमा उपस्थित हुन प्रेरित गर्नु पर्छ ।
यस सम्बन्धि सम्पूर्ण जानकारीको लागि डब्लुडब्लुडब्लु डट युएनए कन्भेन्सन डट ओआरजी मा लग अन गर्ने वा युवा तथा बालबालिका सम्बन्धि कार्यक्रमकी संयोजक आइशा ओझालाइ सम्पर्क गर्न सकिन्छ ।