सपना विनायकको रथ जात्रा सम्पन्न
काठमाडौँ, ३१ चैत । काठमाडौँको उत्तरी भेगस्थित टोखामा प्रत्येक वर्ष चैत मसान्तका दिन निकालिने सपना विनायकको रथ जात्रा आज सम्पन्न भएको छ ।
प्रत्येक नयाँ वर्षका दिन सपन तीर्थको मेला लाग्ने बेला आज स्थानीय सङ्कटा माई र सपना विनायकको भेट गराइन्छ । सङ्कटा माई र सपना विनायक आमाछोरा भएको जनविश्वास छ । शुक्रबार हुने मेलाका लागि अनुमति लिन चैत मसान्तका दिन पूजा गर्ने चलन छ । यसरी अनुमति लिएपछि मेलामा कुनै पनि बिघ्न बाधा नहुने विश्वास छ ।
नयाँ वर्षको दिन सपन तीर्थको पोखरीमा लाग्ने मेलामा एक वर्षमा एक पटक स्नान गरिएमा चर्म रोग नलाग्ने, पारिवारिक सुखशान्ति तथा समृद्धि हुने स्थानीयवासी मनिलाल डङ्गोलले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म त्यस क्षेत्रमा सञ्चालन हुने बिस्केट जात्राका लागि आवश्यक तयारी भएको व्यवस्थापन समितिका प्रतिनिधि देवराज डङेगलले जानकारी दिनुभयो । सो अवधिमा स्थानीय टोलमा गणेश, चण्डेश्वरीलगायतको जात्रा निकालिनाका साथै स्थानीय विभिन्न देवदेवीको पूजा गरिन्छ । रासस