फूलको ब्यबसाय देखि बिबाहको सजावटसम्म पबित्र श्रेष्ठ
April 8, 2017 | 3:42 am    
फुल सायद संसारको सबभन्दा सुन्दर बस्तु हो । मानब जातिको उत्पत्ती देखि नै फुलले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । २५०० बिसी भन्दा अघि पनि इजिप्टमा फूललाई सजाउन र अन्य बिशेष अवसरहरुमा प्रयोग गरिएको पाइन्छ । फुललाइ स्वागत गर्न, धन्यवाद दिन, शुभकामना दिन, पर्व लगायतका धेरै कार्यहरुमा प्रयोग गरिन्छ । सुन्दर, असल, नरम बस्तुलाइ पनि फुलसंग तुलना गर्ने गरिन्छ । फूलले मानिसलाइ आनन्द दिन्छ । दुखमा फुलले सान्त्वना पनि दिने गर्छ । फुल मात्र होइन फुलको चित्र पनि मानव जातिको एक अभिन्न अंग बन्न पुगेको छ ।
चित्रहरुमा फूलको प्रयोग गरेर चित्र कोर्ने कला सोह्रौं शताव्दी तिर शुरु भएको पाइन्छ । फूललाई बिभिन्न खालको बिम्बको रुपमा प्रयोग गर्ने गरिन्छ । देवता र भगवानको चित्रमा प्राय रुख, जनावर वा फुलको प्रयोग गरिन्छ । फूललाई प्रकृतिको अनुपम उपहार मानिन्छ । ठुला ठुला चित्रकार कलाकारहरुले फुललाइ आफ्नो कलालाई ठुलो महत्व दिएको पाइन्छ । त्यसै गरी वास्तविक फूललाइ दबाएर कागजमा राखेर निर्माण गरिने कला पनि अस्तित्वमा छ। यसको लामो इतिहास त छैन तर यो जापान र चाइना जस्ता देशहरुमा लोकप्रिय छ भने अन्यत्र पनि यसको लोकप्रियता बढ्दै छ। हामी धेरैलाई थाहा छैन तर हामी नेपाली बीच नै एक जना कलाकार छन् जसले आफ्नो परिचय र पेशाको आधारशिला नै “प्रेस फ्लावर आर्ट्स” लाइ बनाएका छन् । उनि हुन् पबित्र श्रेष्ठ ।
पारिवारिक पृष्ठभूमि कुनै पनि व्यक्तिको भविस्य कता जान्छ भन्ने अन्दाज गर्ने राम्रो माध्यम हो। पबित्र श्रेष्ठको परिवार फूलको व्यापार गर्ने हुनाले उनले आफ्नो बाल्यकाल देखि नै फूल प्रति रुचि राख्न थाले। फूल र बंगैचा संगै हुर्किंदै जाँदा उनमा फूल प्रति रुची बढ्दै गयो। फूल र प्राकृतिक सुन्दरताबाट उनि सानै देखि प्रभावित बने। फूललाइ नजिकबाट नियालेका श्रेष्ठले आफ्ना शुरुका दिनहरुमा इकेबाना, बोन्साइ जस्ता कलाहरु सिर्जना गरे। त्यस्तै जमिनलाइ सुन्दर बनाउन गरिने ल्याण्डस्केपिंगको कला पनि सिर्जना गर्न थाले। आफ्नो कलालाई धेरैले मन पराउन थाले पछि कला लाइ नै आफ्नो पेशा बनाउने विचार गरे। २००२ मा जापानमा रहेको अन्तररास्ट्रीय प्रेस फ्लावर आर्ट सोसाइटीको सदस्य बने। त्यसपछि आफ्नो अध्ययनको शिलशिलामा जापान गए र २००४ मा जापानमा रहेका प्रेस फ्लावर आर्टिस्ट काजुको युदा मातहत रहेर प्रेस फ्लावर आर्टिस्ट इन्स्ट्रक्टरको पढाई पुरा गरे।
पवित्र श्रेष्ठले आफ्नो कलाकारिताको क्रममा धेरै वटा प्रदर्शनी गरे र धेरै पुरस्कार पनि प्राप्त गरेका छन् । २०१५ मा दक्षिण कोरियाको गोयांग सिटिमा भएको अन्तररास्ट्रीय प्रेस फ्लावर क्राफ्ट प्रदर्शनीमा उनले आफ्नो कलाको प्रतिनिधित्व गर्दै भाग लिए । सोहि बर्ष दक्षिण कोरिया कै गुरे काउन्टीमा भएको अर्को प्रदर्शनीमा भाग लिए । २०१४ मा टेक्सासको फ्रिस्कोमा सम्पन्न “साल्भेज्ड” प्रदर्शनी प्रयोग भैसकेका सामग्री प्रयोग गरेर बनाइने कलाको प्रदर्शनीमा भाग लिए । टेक्सास कै अर्भिग आर्ट सेन्टरमा २०१२ मा सम्पन्न १२ औं बार्षिक आर्ट कनेक्सन शो, डालसमा २०१२ मा सम्पन्न ३० औं एएनए कन्भेन्सनमा कला र फोटो प्रदर्शनी, २००८ मा क्यालिफोर्नियाको एनाहेममा सम्पन्न बिस्वब्यापी प्रेस्ड फ्लावर गिल्ड कन्फरेन्स, २००९ मा पेन्सिल्भानियामा सम्पन्न फ़िलाडेल्फ़िया फ्लावर शो, २००५ मा काठमाडौँमा “इटर्नल फ्लावार्स” नामक एकल कला प्रदर्शनी, २००५ मै काठमाडौँमा “रिफ्लेक्सन अफ नेचर २”, २००३ मा जापानमा सम्पन्न “सामुहिक प्रेस्ड फ्लावर प्रदर्शनी”, २००४ मा जापानको अर्को सिटि ओसाकामा “सामुहिक प्रेस्ड फ्लावर प्रदर्शनी” , २००१ मा नेपालमा “पुनर्जागरण” नामक प्रदर्शनी लगायत अनगिन्ति प्रदर्शनीमा सहभागिता जनाउंदै एक सफल कलाकारको रुपमा श्रेष्ठले आफुलाई उभ्याउन सफल भएका छन् ।
Pabitra with his own creative decoration
१९७९ मा काठमाडौँमा एक सामान्य परिबारमा जन्मेका श्रेष्ठले आफ्नो कलाकारिताको क्रममा धेरै पुरस्कार समेत प्राप्त गरे । २००४ मा हानाबोकुज्यो कल्चरल स्कुल जापानद्वारा आयोजित प्रेस्ड फ्लावर पोस्ट कार्ड प्रतियोगितामा रजत पदक, २००१ मा जापानी दुताबासद्वारा आयोजित चंगा डिजाइन प्रतियोगितामा प्रथम पुरस्कार, सन् २००० मा जापान फाउन्डेसनद्वारा आयोजित जापानी भाषा बक्तृत्वकलामा प्रथम स्थान तथा स्वर्ण पदक, १९९९मा जापानी भाषा इन्स्टिच्युटद्वारा संचालित जापानिज कोर्समा प्रथम तथा स्वर्ण पदक समेत प्राप्त गरेर कला र भाषामा पबित्रले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्।
“मेरो परिवार फूलको ब्यबसाय गर्थ्यो, काठमाडौँमा । सुकेका फूलहरु, पातहरु, हाँगाबिंगा, कपास जस्ता कुराहरुबाट निर्माण गरिने कला एक अनुपम कला हो। मैले मेरो कलामा प्रयोग गर्ने सम्पूर्ण बस्तुहरु प्राकृतिक र पुन प्रयोग गरिएका हुन्छन जुन वातावरण मैत्री छन्। म २००३ मा आफ्नो कलाकारिताको मेरो दक्षतालाइ अझ राम्रो बनाउन जापान गएँ जहाँ जापानका अत्यन्त सुपरिचित प्रेस्ड फ्लावर कलाकार काजुको युदासंग भेट्ने सुबर्ण अवसर प्राप्त गरें। जापानमा यो कलालाइ “ओशिबाना” भनिन्छ । जापानमा पढाई सके पछि म अमेरिका आएँ। अमेरिकामा ओशिबाना कलाकारहरु छन् र यो कला पढेर प्रमाणपत्र लिने म मात्रै हुँ”, श्रेष्ठ आफ्नो करियरको केहि कुरा स्पस्ट पार्दै भन्छन।
Table Decorated by Pabitra Shrestha
आफ्नो कलालाई उनले आफ्नो ब्यबसायकै रुपमा प्रयोग गर्ने थालेको भने २०१३ देखि हो। उनले सोंचे मेरो यो कलालाई किन समुदायमा हुने क्रियाकलापमा प्रयोग नगर्ने ? मेरो कलाबाट समुदायलाइ किन सुसुचित नगर्ने ? “तपाईंको होम डेकोर” को स्थापना गरेर बिबाह लगायत समुदायमा हुने सांस्कृतिक क्रियाकलापमा प्रयोग गरेर ब्यबसाय गर्न थाले। यस्ता समारोहमा सबैले सजावट त गर्छन तर उनको सजावटमा रचनात्मकता धेरै हुन्छ। उनि यहि कामको लागि अमेरिकाका बिभिन्न ठाउं पुग्छन। नेपाली, भारतीय र क्रिस्चियन समुदायमा उनले आफ्नो डेकोर ब्यबसाय गर्ने गर्छन। २०१५ र २०१६ मा अर्भिंग सिटिको वेडिंग प्लानिङ्ग बर्गमा “सर्बश्रेस्ठ साना ब्यबसाय” को पुरस्कार समेत प्राप्त गरेका छन्। उनले आफुले कमाएको पैसा समाजसेवामा पनि खर्च गरेका छन्। आफ्नो कला बेचेर कमाएको पैसा गरिव बच्चाहरुको सहयोगार्थ युनिसेफ मार्फत सहयोग गरेका छन्।
यतिबेला पबित्र श्रेष्ठ आफ्नो इभेन्ट डेकोर मार्फत समुदायको सेवामा डालस क्षेत्रमा सक्रिय छन्। हामी पनि उनको कलाकारिताको प्रगति एबम ब्यबसायिक सफलताको कामना गर्छौं। प्रस्तुति: लेखनाथ गौतम