काठमाडौँलाइ स्वच्छ, सुन्दर, सभ्य र भब्य बनाउँछु : प्रगतिमान रंजित
स्थानीय निर्वाचन घोषणा सँगै सबै दलका कार्यकर्ताहरूमा खुशीयालीको रौनक छाएको छ। दुई दशक पछि मतदानमा भाग लिएर आफ्नो जनप्रतिनिधि छान्न आतुर छन् जनता। स्थानीय जनप्रतिनिधि नभएर हरेक सानासाना समस्याहरूमा दुख पाईरहेका जनता हरेक बिहान चिया पसलदेखि भट्टी पसल सम्म निर्वाचन हुने या नहुने भन्ने गफमै बित्ने गरेको छ। २०५४ सालमा १७ बर्षका नागरीक अहिले ३६ बर्षको उमेरमा पहिलो पटक स्थानीय प्रतिनिधि छान्न आफ्नो अधिकार प्रयोग गर्न पाउनेमा झनबढि खुशी हुनु स्वाभाविक हो।
यो दुई दशकमा देशमा धेरै राजनीतिक उथलपुथल भए। कति नेता तथा साथीहरू राजनीतिक असहज अवस्थाबाट अलि टाढा गएर पार्टि तथा नेताहरुलाई गाली गर्दै पार्टि छाडेर गए। कतिले असहज अवस्थालाई झेलेर भिडेर निरन्तर लागिरहे।राजनीतिमा जबजब असहज हुन्छ राजनीति गर्नेहरू पनि पातलिँदै जान्छ र जबजब सहज र पदको अवसर आउने गर्छ तबतब पदका दाबेदारहरूको भिड बढ्ने गर्दोरहेछ भन्ने कुराको आभास हाम्रो पुस्ताले पनि अनुभव गर्न पाईयो। अहिले स्थानीय निर्वाचनको घोषणा पछि पनि त्यस्तै माहौल बढ्ने क्रम जारी छ। ती छाडेर गएकाहरूको भिड फेरी बढ्ने क्रम जारी छ।
दुई दशकको अन्तराल भित्र धेरै नयाँ भाई बहिनीहरू अगाडि आईसकेको अवस्था छ। हाम्रो दौतरी साथीहरू पनि युवा अवस्था पार हुने क्रममा भईसकेका छौँ। हामीभन्दा माथिल्लो पुस्ता पनि राजनीतिमा सक्दो नसक्दो सक्रिय नै छन्। अब हाम्रो दायित्व माथि र तल्लो पुस्ता बिच पुलको भुमिका निर्वाह गरी संगठनलाई जिउँदो बनाएर अघि बढ्नु हो। यो स्थानीय निर्वाचनमा सबै पुस्ताहरुलाई समन्वय गरी निर्वाचनमा बिजय हासिल गर्न सक्नेहरूलाई पार्टिले अगाडि बढाउनु पर्छ। को, को ,कार्यकर्ता र जनता माझ लोकप्रिय छन् त्यो सुक्ष्म अध्ययन गरी त्यसलाई पार्टिको आधिकारिक उम्मेदवार तोक्नु पर्छ। केबल आफ्नो आँखा अगाडि मात्र घुम्नेलाई र निर्वाचनको मुखमा उम्मेदवार हुन नेताहरू तथा कार्यकर्ताहरुको ढोका ढोकामा चहार्नेहरूलाई उम्मेदवार बनाईयो भने पार्टिले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ।एकै पुस्ता वा ब्यक्तिले सँधै पदमा बस्ने वा दाबि गर्ने प्रबृतिले गर्दा युवाहरू राजनीतिबाट निराश बनिरहेको अवस्थाबाट मुक्त गर्ने काम अब हामीबाट शुरू गर्नुपर्छ।
५४ को निर्वाचन पछि एकैचोटि ७५ मा भएको अवस्थाले कार्यकर्ताहरू अवसरबाट बन्चित हुनपुग्यो। अबको यो निर्वाचनमा पनि निरन्तर लागिरहेका ईमान्दार कार्यकर्ताहरु अवसरबाट बन्चित हुनुपर्यो भने सबैमा निराशा छाउने मात्र हैन अहिलेको संक्रमणकाल राजनैतिक तरल अवस्थाबाट फेरी असहज परिस्थिति आउँदा लोकतन्त्रका लागि सडकमा पार्टिको झण्डा बोकेर उत्रिनेहरू (ईन्कलाबको नारा लगाउनेहरू) औला भाँचेर गन्नुपर्ने अवस्था फेरी आउनेछ र त्यस्तो अवस्थामा नेताहरूको आह्वानलाई सुन्ने कार्यकर्ता खोज्न पनि मुस्किल हुनेछ ।
यो अवस्थामा हाम्रा नेताहरूले कसैलाई अन्याय हुदैन भन्ने आशा र भरोसा गर्दै अबको निर्वाचनहरूमा ईमान्दार निरन्तर लागिरहेका प्रतिबद्ध साथीहरूलाई स्थान दिन सक्नुपर्छ। यदि यसपाली पनि ईमान्दार कार्यकर्ताहरुलाई अन्यायपूर्ण तरिकाले पाखा लगाई नयाँ तथा स्वार्थी प्रबृत्तिहरूलाई स्थान दिईयो भने पार्टिमा दिउँसै मैनबत्ति बालेर कार्यकर्ता कुर्नु बाहेक अर्को उपाय रहन्न। (यस्तो अवस्था तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेको अवस्थामा सबै पार्टिले भोग्नु परेको कसैले बिर्सेका छैनन् त्यसताका सडकमा देखिएका अवस्था र अनुहारहरू मात्रै नेताहरूले सम्झिदिए पुग्छ) सबैले ब्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्र,जनता र आफ्नो पछिका पुस्ताको भबिष्य निर्माणका लागि पनि अब हाम्रा नेताहरूबाट सहि निर्णयको आसा र भरोसाका साथ सम्पूर्ण बिदेशिएका युवाहरुलाई स्वदेश फर्काएर आफ्नो देश निर्माण गराउन सक्यो भने हामी सम्पुर्ण नेपालीहरुको भबिष्य उज्ज्वल हुनेछ।
म २०४३ सालबाट नेपाल बिद्यार्थी संघको राजनीतिमा म सक्रिय हुँदै आएको छु । अवसर पाएको खण्डमा मैले काठमाडौँलाइ स्वच्छ र सुन्दर बनाउछु । भ्रस्टाचारले आक्रान्त काठमाडौँलाइ भ्रस्टाचार मुक्त बनाउँछु । २०६२/६३ सालको आन्दोलन होस् या त्यस अघि र पछिका प्रजातान्त्रिक आन्दोलनहरुमा अग्र पंक्तिमा रहेर काम गर्दै आएको छु । नेपाल तरुण दल काठमाडौँको संस्थापक सभापति र त्यसपछि निर्बाचित भएर काम गरेको छु। त्यस्तै काठमाडौँ क्षेत्र नम्बर ६ को सचिव, महाधिबेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा समेत मैले पार्टीभित्र भूमिका निर्वाह गरेको छु।