एचडिएनपीले नेपालमा बच्चा स्कुल पठाउन डालसमा डिनर कार्यक्रम गर्दै
March 31, 2017 | 5:38 am    
सायद मानबिय स्वभाव हुनुपर्छ, कुनै पनि मान्छेको नाम सुन्ने बित्तिकै त्यो व्यक्तिको बारेमा मस्तिस्कमा एउटा तस्विर आइहाल्छ । तपाईंको आफ्नो परिवेश र बुझाइ अनुसार त्यो व्यक्तिको नाम संगै स्वरुपलाई तपाईंले आफ्नै तरिकाले बुझ्नु हुन्छ । त्यो व्यक्ति तपाईंले सोंचे जस्तो हुने सम्भावना निकै कम रहन्छ । मैले मेरो ४ दशक भन्दा लामो जिन्दगीमा यो कुरा निकै भोगेको छु । नाम सुनेर र मेरो लेखाइ हेरेर मानिसहरुले मेरो बारेमा जस्तो धारणा बनाएका थिए उनीहरुले “तपाईं यस्तो पो हुनुहुँदो रहेछ, मलाई त अर्कै लागेको थियो” भनेको पाउँछु । मैले पनि कतिपय मानिसहरुको बारेमा त्यस्तो तस्विर बनाएको हुन्छु तर कहिल्यै पनि मेरो मस्त्तिस्कको तस्विर र बास्तविक व्यक्तिको वास्तविकता मिलेको सम्झना छैन ।
यो प्रसंग टेक्सासको डालस क्षेत्रमा समाजसेवाको नमुना बनेर स्थापित देवी डेविड आचार्यको नामसंग सम्बन्धित छ । डेविड भन्दा बित्तिकै अग्लो अनि गोरो होला, नेपाली बोल्दैन होला, नेपालसंग त्यति जोडिएको छैन होला भन्ने धेरैलाई लाग्न सक्छ । तर भेटे पछि त्यसको ठ्याक्कै उल्टो । सरदार उचाइ र गहुँ गोरो देवी आचार्य दाइको बाहिरी आवरणको परिचय हो । आवरणमा सामान्य देवी आचार्य काम र समाजसेवामा भने असामान्य हुनुहुन्छ । समाजसेवा गर्न गरिव देश पुग्नु पर्दैन भन्ने मान्यता राख्नु हुने देवी आचार्य डालस क्षेत्रमा अत्यन्त जरूरी परेका व्यक्तिहरुको सहयोगको लागि भनेर स्थापित एच डी एन पी का प्रमुख हुनुहुन्छ । नेपाली र अमेरिकनहरु मिलेर २०१२ स्थापित एचडीएनपीको नारा “संसार बाटै भोक हटाउँ” भन्ने रहेको छ ।
हामी नेपालीहरुका प्राय जसो संस्थाहरु नेपाल मुखी छन् जुन स्वाभाविक नै हो । आफ्नो जरो रहेको ठाउंको लागि केहि गर्न खोज्नु आबस्यक कुरा नै हो । तर कहिले काहीं आफु बसेको समुदायको सेवा गर्नु पनि महत्वपूर्ण हुन्छ । त्यसो गर्दा सम्बन्धित ठाउं प्रतिको लगाव गहिरिने र उक्त समाजको ऋण समेत चुक्ता गर्न सकिन्छ । बनिबनाउ ठाउँमा आइसकेपछि आफ्नो तर्फबाट जति सकिन्छ त्यति गर्नु अत्यन्त सह्रानीय कार्य हो । एचडीएनपीले देवी आचार्यको नेतृत्वमा डालस वरपरका घरबार बिहिनहरुको लागि हरेक तीन तीन महिनामा निशुल्क खान खुवाउने काम गर्छ । हेर्दा सानो र सामान्य कार्य लागे पनि यसको सांकेतिक महत्व धेरै ठुलो छ । अमेरिकाका मान्छेहरुलाइ पनि पैसा उठाएर खानु खुवाउनु पर्छ र भन्ने सोंच्नेहरुलाई एचडीएनपीको कार्यक्रममा देखिने लामो लाइनले स्पस्ट जवाफ दिन्छ । अन्यत्र जस्तै अमेरिकामा पनि गरिबी छ, यहाँ पनि रोगी छन् र भोका मान्छे छन् । अन्यत्रको स्तरमा नभए पनि हुँदै नभएको भन्न मिल्दैन । त्यसैले गर्दा एचडीएनपीले स्थानीय रुपमा पनि समाजसेवा गरेको छ ।
हरेक ३/३ महिनामा करिव ४ देखि ६ सय सम्म घरबार बिहिनहरुलाई आफैले पकाएर एचडीएनपीले खाना खुवाउने गरेको छ । त्यस्तै हरेक महिना जम्मा पारेका पुराना लुगाहरु अनाथालयमा प्रदान गर्ने गर्छ । हरेक ३/३ महिनामा रक्तदान शिविर संचालन गरेर धेरै मान्छेलाई मृत्युको मुखबाट समेत बचाउने काम यो संस्थाले गर्ने गर्छ । “जिन्दगीमा गर्ने भनेकै सेवा हो, मरेर जाँदा लाने केहि छैन, अरुको सेवा गरेर प्राप्त हुने खुसि नै जीवनको सहि अर्थमा सफलता हो” देवी आचार्य सगर्व भन्ने गर्नु हुन्छ । एचडीएनपीको संयोजक मा अधिबक्ता बिनोद रोका पनि हुनुहुन्छ । त्यस्तै अन्य स्थानीय अमेरिकी नागरिकहरु पनि छन् । सबैलाई भोकबाट मुक्ति दिलाउन नसके पनि यसले केहि मान्छेलाई भने पक्कै सेवा गरेको छ । थोरै थोरै मिलेर नै धेरै हुन्छ ।
अमेरिकामा मात्र होइन एचडीएनपीले नेपालमा पनि बिभिन्न काम गरेको छ । हरेक महिना काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिर परिसरमा बस्ने बृद्ध र सडक बालबालिकाहरुलाई खाना खुवाउने काम गर्ने गरेको छ । त्यस्तै झापाको मातातिर्थमा पनि त्यसरी नै खाना खुवाउने काम गर्छ ।
अब भने एचडीएनपीको सहयोग अर्को नयाँ क्षेत्रमा पुग्ने भएको छ । करिव दुइ बर्ष अघि नेपालमा ठुलो भूकम्प गयो । त्यसमा हज्जारौं मरे, लाखौँ घाइते भए, लाखौ घरबार बिहिन बने । हजारौं स्कुलहरु भत्किए । कति बालबालिकाहरु टुहुरा बने । त्यसरी टुहुरा बनेका बालबालिकाहरु आफ्नो मातापिताको मायाबाट त बन्चित भए, आर्थिक र अन्य अभावमा स्कुल जान पनि नसक्ने भए । तिनै मध्य १० जनालाई पढाउने व्यवस्था गर्न एचडीएनपी अघि सरेको छ । सिन्धुपाल्चोक जिल्लाका ती दश बिद्यार्थीहरुरुको सम्पूर्ण खर्च व्यहोरेर हाइ स्कुल सम्म पास गराउने एचडीएनपीले योजना अघि सारेको छ । तर संस्थासंग आबस्यक पैसा छैन । त्यसको लागि त्यसमा लाग्ने खर्च जुटाउनु अनिबार्य नै छ । अब त्यो पैसा उठाउन एचडीएनपी अघि सरेको छ । उक्त पुण्य कामको लागि केहि रकम उठाउन एचडीएनपी फन्ड रेजिंग गाला डिनर गर्दै छ, आगामी अप्रिल १४ गते सुक्रबार ।
उक्त फन्ड रेजिंग कार्यक्रम डीएफडब्लु एअरपोर्टको दक्षिण पट्टि अबस्थित हिल्टन गार्डेन इनमा सम्पन हुनेछ । साँझ साढे ६ देखि साढे ९ सम्म हुने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुका सुन्दर प्रस्तुतिहरु हुनेछन जसमा नाच र गायन पनि पर्छ । जम्मा $५० तिरेर मज्जाले खान पनि पाइने, रमाइलो कार्यक्रम हेर्न पनि पाइने संगसंगै बचेको पैसाले आर्थिक कारणले स्कुल जान नसक्ने बालबालिकाहरुको समेत कल्याण हुनेछ । यस्तो सुबर्ण अबसरको फाइदा उठाउन, एचडिएनपीको यस्तो पुनित कार्यमा हातमा हात मिलाउन संस्थाका अध्यक्ष देवी डेविड आचार्यले आग्रह गर्नु भएको छ । कतिपय अनावस्यक कर्यक्रममा सजिलै भाग लिने नेपाली समाज यस्तो कार्यक्रममा झन् उत्साह साथ् उपस्थित हुनेमा देवी आचार्य ढुक्क हुनुहुन्छ । त्यसैले आउनुहोस तपाईं हामी पनि उक्त दिन अर्थात् अप्रिल १४ का दिनलाई आफ्नो पात्रोमा नोट गरौँ र सहभागी बनौं । आफुले व्यक्तिगत रुपमा कुनै बालकलाई पढाउन नसके पनि आफ्नो सानो योगदानबाट कुनै बालकले शिक्षा रुपी आँखा प्राप्त गर्नु ठुलो कुरा हो । त्यसैले जान सक्नेले गएर र नसक्ने तर यस्तो पुण्य कमाउन इच्छुक व्यक्तिहरुले एचडीएनपीलाइ सोहि उद्देश्यका लागि भनेर सिधै डोनेसन पनि गर्न सक्नु हुन्छ ।