डालसमा नयाँ बर्ष पार्कमा रमाइलो गर्दै मनाइने
डालस, मार्च २८। नेपालीहरुको नयाँ बर्ष २०७४ यहि अप्रिल १४ गते परेको छ। उक्त दिनलाई नेपालीहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन। सांगीतिक कार्यक्रम गरेर र अन्य रमाइला गतिबिधि गरेर नयाँ बर्ष मनाउने गरिन्छ। बिदेशमा झन् यसको ठुलो महत्व छ । बिदेशमा बस्ने नेपालीहरुले यो दिनलाई जनवरी १ भन्दा पनि बढी महत्वसाथ मनाउने गर्छन।
नेपाली समाज टेक्सास अमेरिकाको सबभन्दा सक्रिय र चर्चित संस्था हो। नेपालीहरुका चाडबाड मानाउने उद्देश्यका साथ् सन् १९९८ मा स्थापित यो संस्थाले त्यसपछि धेरै खुड्किला चढिसकेको छ। अहिले नेपाली समाज टेक्सास सांस्कृतिक, धार्मिक मात्र होइन आपद परेको बेला सहयोग पनि गर्ने गर्छ। आफ्नो धर्म, संस्कृति जोगाउन बिभिन्न खालका कार्यक्रम गर्छ भने हरेक बर्ष नयाँ बर्षको उपलक्षमा केहि न केहि मनोरन्जनात्मक कार्यक्रम गरेर नेपालहरुलाई आफ्नो देश प्रतिको लगावलाइ ताजा गराउने गर्छ।
प्रायजसो नेपाली समाज टेक्सासले नयाँ बर्षको उपलक्षमा सांस्कृतिक कार्यक्रम गर्ने गरेको छ। तर संधैको एउटै खाले कार्यक्रमले डालसबासी नेपालीहरु मिच्छिएका थिए। केहि नयाँ होस् भन्ने चाहन्थे। डालसबासि नेपालीहरुको सोहि चाहना पुरा गर्न नेपाली समाज टेक्सासले यो बर्ष नयाँ ढंगको कार्यक्रम तालिका बाहिर निकालेको छ। बन्द कोठा भित्र सांस्कृतिक कार्यक्रम होइन खुला पार्कमा दिनभर बिभिन्न खालका कार्यक्रम गर्दै नयाँ बर्ष मनाइने भएको छ। यस्तो खालको नयाँ बर्षको कार्यक्रम गर्ने नेपाली समाज टेक्सासको घोषणाले डालसबासि नेपालीहरुमा खुसि छाएको छ।
नयाँ बर्षको उक्त कार्यक्रम अप्रिल १५ तारिक शनिबार युलेस स्थित बियर क्रिक पार्कमा हुनेछ। प्रवेश निशुल्क रहेको उक्त कार्यक्रममा रेस्टुरेन्ट, बिमा, ट्राभल र अन्य दुकानहरु राखिनेछ। सहभागीहरुले आफ्नो इच्छा अनुसार, मन लागेको कुरा खाँदै अनि चाहिएको कुरा किन्दै र रमाइलो गर्दै नयाँ बर्ष मनाउन सकिने छ। बिहान ९ बजे देखि शुरु हुने कार्यक्रममा विभिन्न खालका सांस्कृतिक कार्यक्रमहरु दिनभर नै संचालन हुनेछन भने बच्चाहरुको लागि विभिन्न खाले खेलकुद, संस्था स्तरिय भलिबल प्रतियोगिताको समेत आयोजना गरिने कुरा नेपाली समाज टेक्सासले जनाएको छ।
नयाँ बर्षको कार्यक्रम कसरि ब्यबस्थित, सुरक्षित र मनोरन्जक बनाउन सकिन्छ भनेर गत आइतबार नेपाली समाज टेक्सासको सभा हलमा समुदायका व्यक्ति एवं संस्थाहरुसंग छलफल कार्यक्रम गरेर ब्यबस्थित कार्ययोजना तयार गर्न लागिएको कुरा महासचिव कमल सत्यालले जानकारी गराउनु भएको छ। छलफल कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष कमल सापकोटा लगायत नेपाली समाज टेक्सासका पदाधिकारी एबम डालस वरपर रहेका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। साथै उक्त अबसरमा आफ्ना बालबालिका सहित उपस्थित भएर नेपाली संस्कृतिको निरन्तरताको लागि योगदान गर्न पनि नेपाली समाज टेक्सासले डालसबासि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई बिशेष आग्रह गरेको छ।