एनआरएन अमेरिका: भगवान बिष्णु व: नारद उवाच
“हे नारद, पृथ्वीलोकको अमेरिका नगरीको एनआरएनको के खबर लिएर आयौ, सविस्तार भन”, कमलको फूलमा लक्ष्मीसंग आसिन भगवान बिष्णुले नारदलाइ सोध्नु हुन्छ । नारद बोल्दैनन । केहि नबोली उँधो मुन्टो लगाएका नारदले आफ्ना स्वामीको प्रश्नको जवाफ नदिएको देखेर लक्ष्मी आस्चर्य मान्दै फेरी सोध्छिन ” ठिकै त छ नि नारद पृथ्बीलोक तिर”? बिष्णु त्यसपछि लक्ष्मीको प्रश्न सुनेपछि नारद सुस्केरा हाल्छन । केहि बोल्न सक्दैनन् । टोलाई मात्र रहन्छन । भगवान बिष्णुले अमृत जलले अभिसेख गर्नु हुन्छ । नारद पुरै होसमा आउँछन् । “बिस्तार पुर्बक भन वत्स”, भगवान बिष्णुले आफ्नो जिउलाई अलि सुबिधायुक्त पार्नु हुन्छ र माता लक्ष्मीको देब्रे तर्फको आसन प्रति देखाउंदै बस्ने इसारा गर्नु हुन्छ । आफ्नो साथमा रहेको बीणा भित्तामा अडेस लगाउंदै नारद चमकदार आसनमा बस्छन । भगवान बिष्णु र माता लक्ष्मी तर्फ हेर्छन र पृथ्वीलोकको अमेरिका स्थित एनआरएनको बयान गर्न थाल्छन ।
भगवान, मलाई माफ गरिबक्सेला, आज मेरो मुखारबिन्दबाट अलि नमीठा शव्द आउन सक्छन । मैले हजुरसंग यस्तो खालका शव्द प्रयोग गरेर बोलेको पनि छैन । तर मेरो मनको ज्वारभाटा, गरिखाने अमेरिका बासि नेपालीहरुको व्यथा व्यक्त गर्न र मैले त्यो अबस्थाको ब्याख्या गर्न त्यस्ता शव्द प्रयोग गर्ने पर्ने हुनसक्छ । भद्रगोल र बेथितिको त्यो दृश्य र त्यसका कारकहरुको ब्याख्या गर्दा मैले अलिकति नमिठो बोल्नै पर्ने हुनसक्छ । माता लक्ष्मी हजुर पनि मलाई माफ गरिबक्सेला । अब म त्यो सविस्तार सुनाउँछु, ध्यानपूर्वक सुनिबक्सेला ।
हजुरको आज्ञाले म अमेरिका नगरीमा पुगें । देश असाध्यै राम्रो । बाटाहरु चिल्ला । ठुल्ठुला भवनहरु, म चकित परें । रात परेपछि त्यो ठाउँ हाम्रो बैकुण्ठ जस्तै लाग्ने । चिल्ला सडकमा गुड्ने चिल्ल्ला गाडीहरुको लस्कर हेर्दा मनै आनन्द आउने । न्यु योर्क देखि लस एन्जेलस सम्म, डालस देखि सिकागो सम्म मैले यात्रा गरें । चौबिसै घण्टा बिजुली, चौबिसै घण्टा धारामा सुद्ध पानी । कस्मेटिक अमेरिका अत्यन्त राम्रो देखें । तर मेरो उद्देस्य कस्मेटिक अमेरिका होइन, आत्माको अमेरिका हेर्नु थियो । हजुरको आज्ञा अनुसार अझ नेपालीहरुको कथा व्यथा र एनआरएन भन्ने संस्थाको आन्द्राभुँडी जान्नु थियो । त्यसैले मेरा आँखा अमेरिकाले गरेका चमत्कारिक भौतिक विकास होइन, हजारौं सपना देखेर आएका नेपालीहरुको जीवन हेर्नु थियो । अनि उनीहरुको सहयोगको लागि भनेर खोलिएको एनआरएन भनिने संस्थाले के गरेको छ भनेर हेर्नु थियो, बुझ्नु थियो । म सिधै नेपालीहरुको बाक्लो बस्ति भएको न्यु योर्क, डिसी मेट्रो एरिया, टेक्सासको डालस, ह्युस्टन, अस्टिन, सान फ्रान्सिस्को, लस एन्जलस, सिकागोका बस्तिहरुमा पुगें ।
मैले सविस्तार त्यहाँका नेपालीहरुको कथा भन्न सक्दिन । उनीहरुको दिनचर्या र परिस्थिति भन्ने हो भने मलाई ब्रम्हाजिको १०० बर्ष लाग्छ । हजार जिब्रा भएको शेषनागले पनि यो कुरा बर्णन गर्न सक्दैनन् । ठुला सपना देखेर आएका नेपालीहरुको यो पुस्ता पहिलो हो । सन् २००० पछि मात्र अमेरिकामा धेरै नेपालीहरु आए । उनीहरु धेरैजसो धेरै डिभी चिट्ठा परेर आए । कोहि बिद्यार्थी बनेर आए । कोहि घुम्न भनेर आए र यतै सरणार्थी हुम भनेर बसे । कोहि दक्षिण अमेरिकाका सबै देशहरु चहार्दै पैदलै हिंडेर आए । केहि महिना अघि लगभग दुइलाख पचास हजार नेपालीहरु अमेरिकामा रहेको तथ्यांक सार्बजनिक गरियो । त्यत्रो संख्यामा नेपाली भए पनि एनआरएन अमेरिकाले स्वतस्फुर्त सदस्य एक हजार पनि बनाउन सक्ने रहेनछ । स्थानिय संस्थाहरुले पनि धेरै नेपालीहरुलाई समेट्न सकेको देखिएन ।
ठुला शहर, साना शहर, ठुला राज्य र साना राज्य जे भनिए पनि नेपालीहरुको अवस्था निकै कठिन पाइयो । गफ गर्न भन्दा बढी नजानेको नेपालीहरु अमेरिकाको श्रम बजारमा सस्तोमा बेचिंदा रहेछन । होटेल, किराना पसलमा काम गर्ने धेरै नेपालीहरु रहेछन । त्यस्तै वेरहाउस, सपिङ्ग सेन्टरहरुमा पनि नेपालीहरुले काम गर्दा रहेछन । एउटा जागिरले खान पुग्ने जागिर खाने नेपालीहरुको संख्या न्यून रहेछ त्यहाँ । दुइतीन वटा तनावपूर्ण जागिर खाँदा उनीहरुको कपालको रौं ४० नपुग्दै फुलिसकेको, गाला च्याउरी परिसकेको रहेछ । श्रीमान श्रीमतीको भेट हुन पनि हप्तौं लाग्दो रहेछ । छोराछोरीको मुख देख्न शनिवार आउनु पर्दो रहेछ । एक छाक खान यस्तो अति ब्यस्त हुनु पर्ने हुँदा श्रीमान श्रीमतीको भेटै नभएर श्रीमती पोइल जाने क्रम पनि बाक्लिएको रहेछ । छोराछोरीलाई समय दिन नपाउंदा उनीहरु पनि आफ्नो धर्म, संस्कृति बाट बिचलित हुँदै गएका रहेछन । आर्थिक विपन्नता, सामाजिक र सांस्कृतिक बिचलनले नेपाली समाज जर्जर बन्छ कि भन्ने त्रास जताततै रहेछ । यी र यस्तै समस्याहरुको समाधानको लागि थुप्रै संस्थाहरु पनि खोलिएका रहेछन । साझा संस्था भनेर केहि बर्ष अघि देखि एनआरएन अमेरिका पनि खोलिएको रहेछ ।
अहिले एनआरएन अमेरिका चुनावको संघारमा छ । उम्मेद्वारी दिनेहरुको लामै लर्को छ । न्यु योर्क देखि क्यालिफोर्नियासम्म उम्मद्वारहरुको ताँती छ । नेपालीहरुका समस्याहरुमा सहयोग गर्न स्थापित संस्था भएपनि उम्मेदवारहरुले त्यस्तो कुरा गर्दैनन् । उनीहरु कथित नेताका धोका चहार्छन । समस्या परेको व्यक्तिलाई सहयोग गर्दै समाजमा केहि राम्रो काम गर्दै स्थापित हुनु पर्नेमा बन्द कोठाभित्र जालझेल र षड्यन्त्र गरेर पद प्राप्त गर्न खोज्छन । एनआरएनको रुपमा अमेरिकी समाजमा नेपालीहरुका समस्या के हुन् र तिनको कसरी समाधान गर्दै बिदेशी भूमिमा नेपालीहरुको कसरी जीवन यापन सरल बनाउन सकिन्छ भन्नेमा उनीहरुको कुनै ध्यान छैन । बर्षौं सम्म पदमा बस्दा पनि केहि नगर्ने तर चुनाव आयो भने आफ्नो अकर्मन्यता ठानी ठाउं खालि गर्नु पर्नेमा फेरी आफै कसिन्छन । तिनले के गरे, के गर्न सकेनन र अर्को चोटी जानु पर्ने भो भनेर आम जनतालाई भन्नु पर्दैन । केहि कोठरी भित्रका अहंकारी पात्रहरुको चित्त बुझाइदिए पुग्छ ।
एनआरएन बिशुद्ध अराजनीतिक संस्था हो । यसमै सबैको हक लाग्छ । कुनै राजनीतिक दलको पेवा यो होइन । तर एनआरएनको नेतृत्व गर्ने, त्यसलाई संचालन गर्ने जिम्मा पाएका कतिपय कुलंघारहरु संस्था भित्र दुर्गन्धित राजनीति छिराउन उद्दत छन् । नेपाल देखिको गन्धा राजनीति यसले भुलेको छैन । नैतिकता र इमान्दारिता यो बर्गले भुलिसकेको छ । नेपाल बर्बाद पार्नुमा ठुलै हात रहेको यो बर्ग अमेरिकाको नेपाली समाज पनि ध्वस्त पार्न उद्धत छ । आफ्नो संगठन ध्वस्त पारिसकेपछि बचेखुचेको एनआरएन ध्वस्त पार्न यो समूह अहिले आफ्नो न्वारन देखिको बल लगाउंदै छ जे गरेर र जुनसुकै हालतमा पनि सत्ता र पद चाहिने त्यो भुइफ़ुट्टा समुह अमेरिकाको हरेक शहरमा छ्याप्छ्याप्ती छ । त्यो समूह सामुहिक छलफल र निर्णयमा विश्वास गर्दैन । त्यसलाई थाहा छ, त्यसो गर्यो भने यस्ता पांग्दुरेहरुको कुनै खैरियत छैन । श्रीमतीको समेत भोट नपाउने ठुलो जत्था अमेरिकाको एनआरएन को ठेकेदार छ । छलफल गर्ने र उचित निर्णय गरेर लागु गर्नु पर्नेमा कोठा भित्रबाट निर्णय गर्ने र सामाजिक संजालमा भुक्ने गर्छन । यस्ता खाले गम्भीर कर्तुतबाट अमेरिकाको एनआरएन ग्रस्त छ । तर बिडम्बना यो बर्बादीको जिम्मा कसैले लिन चाहन्न ।
बिस्तार लगाउँदा लगाउंदै नारद मुनि थरथर काम्न थाल्छन । त्यो देखेर भगवान बिष्णु र माता लक्ष्मी सोध्नु हुन्छ, “मुनि, तपाईंलाइ के भयो ? किन यति संबेदनशील हुनु भएको”? नारद मुनि भन्छन “नेपालीहरुको त्यस्तो हालत छ, नेपालीको भलो गर्ने संस्थाहरुमा त्यस्तो भांडभैलो छ । अब ति बिचरा प्रबाशी नेपालीहरुको के हालत होला प्रभु ? उनीहरुले कसलाई विश्वास गरुन ? उनीहरुले कसलाई भोट हालुन ? उनीहरुले कसको भर परुन ? त्यो शान्त नेपाली समाज अब के होला ??” नारदको कुरा सुनेर भगवान मुस्कुराउनु हुन्छ अनि सम्झाउँदै भन्नु हुन्छ ।
हे मुनि, मैले त तिमीलाई अमेरिकामा रहेका नेपालीहरुको समस्या बुझ्न पो पठाएको थिएँ । तिमि त लाग्छ नेपालीहरुको दुर्दशा देखेर तिमि नै समस्यामा परेछौ । तिमीलाई पठाए पनि मैले यहाँ बाट पनि सबै कुरा हेरिरहेकै छु । मानव जातिलाई जति बुद्धि बिबेक दिएर पठाएको छु नेपालीलाइ पनि त्यति नै हो । मैले कसैलाई भेदभाव गरेको छैन । कसैले बुद्धिको सदुपयोग गरेर प्रगति गरे भने कसैले बुद्धिको दुरुपयोग गरेर नेपाली जस्तै बने । बिदेशमा आएर पनि अधिकांश नेपलिहरुकु बुद्धि फ़ेरिएन । आफ्नो उर्बर देशलाई मलजल गरेर प्रगति गर्न नसक्ने अनि बनिबनाउ देशमा आएर फेरी उही पुरानै चालले यिनले काम गरेका छन् । जसरी नेपालमा नेतालाई गाली गर्छन तर चुनाव आए पछि लुरुलुरु भोट हालेर जिताउँछन्, त्यसै गरी यी नेपाली भरिया बनेर बिदेशमा पनि त्यसै गरे भने यिनलाई जोगाउन मैले ११ औं अबतार लिए पनि सक्दिन । जव यिनले राम्रो नराम्रो छुट्टाउने छन्, असल मानवलाई भन्दा गन्हाउने भए पनि पार्टी मुखी बनेर भोट हाल्ने छैनन्, त्यति बेला मात्र यिनको कल्याण हुनेछ । त्यस भन्दा बढी नेपाल बिगार्ने पार्टीहरुको लगौटी बनेर अमेरिकामा धन्दा गर्नेहरुलाई लात हान्न सके भने मात्र नेपाली जनको अमेरिकामा भलो हुनेछ । नत्र भद्रगोल संस्थाहरुमा गतिलो मान्छे आउने र नेपालीहरुले सुख पाउने सम्भावना निकै न्यून छ ।