नेजाको सार्बजनिक बहसको तालिका प्रकाशित: डालसमा अप्रिल ८ मा पहिलो बहस
अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एनआरएन अमेरिकाको चुनावमा उम्मेदवारहरु बीच बहस संचालन गर्ने भएको छ । नेपाल अमेरिका पत्रकार संगका केन्द्रिय सदस्य तथा बहस आयोजक समितिका संयोजक बाल जोशीद्वारा प्रकाशित बिज्ञप्ति अनुसार उक्त बहसहरु डालस, डिसी मेट्रो क्षेत्र, न्यु योर्क र सानफ्रान्सिस्को शहरमा आयोजना गरिनेछन । त्यसमध्ये पहिलो बहस डालसबाट अप्रिल ८ गते शनिबार हुनेछ । त्यसको सम्पूर्ण जानकारी आउन बाँकी छ । डालसको बहस बाल जोशीले संचालन गर्नेछन । बाल जोशी द्वारा प्रेसित बिज्ञप्ति जस्ताको तस्तै:
नमस्कार ।
नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपाली समुदयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ, गैर आवासीय नेपालीहरूको सङ्गठन( एनआरएन) अमेरिकाको निर्वाचन आगामी मे महिनाको अन्तिम साता हुने भएको छ। आगामी नेतृत्वका लागि दर्जनौले विभिन्न पदहरुमा आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वारहरुले नेपालीहरुको वृहत्तर हितमा आफ्नो योजना , दृष्टिकोण र योग्यतालाई प्रस्ट पार्न र समुदायलाई उम्मेद्वारहरु सँग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसार नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)ले अमेरिका प्रमुख चार सहरहरूमा स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच सार्वजनिक बहसको आयोजना गर्ने भएको छ । एनआरएन अमेरिका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय सङ्घ-संस्थाहरू सँगको सयुंक्त आयोजनामा सञ्चालनमा हुने सार्वजनिक बहसमा ( एनआरएन) अमेरिकाको भावी नेतृत्व, खास गरी, अध्यक्ष पदका आकांक्षीहरुसंग अमेरिकाको नेपाली समुदायसँग सम्बधित विभिन्न पक्षहरूमा सार्वजनिक बहस गरिनेछ। बहसको खाका, विषय तथा प्रश्नहरू नेजाको सार्वजनिक बहस समुहले तय गर्नेछ । सार्वजनिक बहसको लागि तय भएका मिति तथा सहरहरु:
अप्रिल ८ शनिवार– डालस, टेक्सस
अप्रिल २९ शनिवार – न्यु योर्क
मे ६ , शनिवार – वासिङ्टन डिसी
मे १३, शनिवार – सान फ्रान्सिस्को, क्यालिफोर्निया
धन्यवाद ।
बाल जोशी
सयोंजक, सार्वजनिक बहस
नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)