डालस एभरेस्ट लायन्स क्लबको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
डालस, मार्च १९, आइतबार । डालस एभरेस्ट लायन्स क्लबले हिजो शनिबार एक बक्तृत्वकला प्रतियोगिता सफलतापुर्बक सम्पन्न गरेको छ। ७ जना प्रतियोगी रहेको उक्त बक्तृत्वकला प्रतियोगिताको शिर्षक “डाक्टरले लेखेको औषधिको दुरुपयोग” भन्ने थियो। झट्ट सुन्दा यस्तो पनि हुन्छ र भन्ने लागे पनि प्रतियोगी युवाहरुले तथ्यांकद्वारा यो एउटा बिकराल समस्या रहेछ भन्ने स्पस्ट संदेश दिन सफल भएका छन्। यो समस्याको कारण र समाधानका शुत्र समेत प्रस्तुत गरेका सहभागीहरुले नेपाली बालबालिकाको बौद्धिक स्तर निकै माथि रहेको स्पस्ट झल्को दिएका थिए।
उक्त कार्यक्रममा मुल्यांकनकर्ताको रुपमा लायन्सकै अमेरिकन प्रबुद्ध व्यक्तित्वहरु थिए। बक्तृत्वकला शुरु हुनु अघि छोटो, मिठो र सान्दर्भिक औपचारिक कार्यक्रम गरिएको थियो। कार्यक्रमको संचालन लायन्स क्लबका महासचिव सुरेश बस्यालले सुन्दर ढंगले गरेका थिए भने सहभागी, उपस्थित र पाहुनाहरुलाई स्वागत क्लबका कोशाध्यक्ष मीना छेत्रीले गर्नु भएको थियो। पाहुना र उपस्थित व्यक्तित्वहरुको परिचय भने उपाध्यक्ष थलराज पन्तले गर्नु भएको थियो। त्यसपछि आयोजित बक्तृत्वकला प्रतियोगिताका संयोजक भोलानाथ पन्तले उही सदाबर, जोशिलो र प्रेरणादायक बक्तब्य दिएका थिए। युबाहरुको संसारका हरेक परिबर्तनहरुमा रहेको भूमिकाको चर्चा गर्दै अहिलेका युवा भोलिको भबिस्य भएकोले यी युवाहरुमा हाम्रो प्रयाप्त ध्यान र लगानी पुगेन भने भबिस्य संकटग्रस्त हुने तर्फ पनि सचेत गराउनु भएको थियो।
मलाई केहि मन पर्ने कार्यक्रमहरु मध्ये लायन्सको कार्यक्रम पनि हो। त्यहाँ समयको निकै ध्यान दिइन्छ। संस्थामा अध्यक्ष, उपाध्यक्ष, महासचिव सबै छन् तर त्यहाँ “म अध्यक्ष ठुलो” भन्ने अभिमान छैन र म सदस्य सानो भन्ने हिनताबोध छैन। संस्था चलाउन र प्रक्रिया पुर्याउन पद स्थापना गर्नु जरुरी भए पनि सबैको साझा उद्देस्य “म सेवा गर्छु” भन्ने भएकोले यहाँ सबैको समान भूमिका देखिन्छ। सेवा गर्न जाने संस्थाहरुमा पद प्राप्त गर्न पनि मरिहत्ते गर्ने, ठुलो आर्थिक चलखेल गरिने चलन ब्याप्त रहेको भए पनि लायन्समा त्यस्तो केहि भएको पाइदैन। बेला बेलामा यसले युवा लक्षित कार्यक्रम पनि ल्याउने गर्छ । अघिल्लो बर्ष देखि बक्तृत्वकला प्रतियोगिता शुरु गर्यो नेपाली किशोर किशोरी लाइ लक्षित गरेर। त्यसैको दोश्रो शृंखला हिजो भएको थियो।
प्रतियोगितामा सहभागी सबैले उत्कृस्ट प्रस्तुति दिए। सामान्यतया लागु औषधिको दुरुपयोग गैरकानुनी मानिने अहिलेको अबस्थामा डाक्टरले लेखेको औषधिको समेत दुरुपयोग हुनु चिन्ताको बिषय हो। बिशेष गरी १४ बर्ष देखि २५ बर्षसम्मका युबाहरु यो समस्याबाट पिडित देखिन्छन। यस्ता औषधिमाथिको पहुँच सजिलो हुनु नै दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको कुरा प्रतियोगीहरुले औंल्याएका थिए। साथीभाईहरुबाट सुनेर प्रयोग शुरु गर्ने यस्ता औषधिहरुले तत्काल ठुलो असर नदेखिने हुनाले पनि उनीहरु यसको वास्तविक खतरा प्रति सचेत नभएको देखिन्छ। जब यस्ता औषधिहरुको दुरुपयोग नियमित हुन थाल्छ, त्यसको आदत बस्छ बल्ल मान्छेले त्यसको नकारात्मक असर थाहा पाउछ तर त्यति बेला ढिला भैसकेको हुन्छ। विभिन्न खालका राष्ट्रिय र अन्तररास्ट्रिय संघ संस्थाहरुले गरेका अध्ययन, अनुसन्धान र सर्बेक्षणहरुको उदाहरण दिंदै प्रतियोगीहरुलो आफ्नो सारपूर्ण तर्कहरु प्रस्तुत गरेका थिए। उनीहरुको प्रस्तुति, प्रस्तुत गरेका तथ्यांक र निर्धक्कता हेर्दा भोलिको नेपाली समाज कुनै अरु समाज भन्दा कम्जोर होला जस्तो देखिन्न। खाँचो छ भने खाली यी युबाहरुलाई हाम्रा र राम्रा कुराहरुबाट समेत सुसज्जित बनाउन सकियो भने हाम्रो पहिचान अझै दरिलो हुने पक्का छ।
बक्तृत्वकला प्रतियोगितामा सफल लामिछाने, गुञ्जन भट्टराई, कृतिका पन्त, बिभुति पन्त, अभिनव संजेल, प्रियम दादा सिटौला र सृजन चापागाईंले भाग लिएका थिए। सबैको उत्कृस्ट प्रस्तुति रहे पनि प्रस्तुतिको शैली, हाउभाउ र तर्कको आधारमा प्रथम, द्वितीय र तृतीय घोषित गरिएको थियो। प्रथम हुनेमा गुञ्जन भट्टराई, द्वितीय कृतिका पन्त र सफल लामिछाने तृतीय भए। उनीहरुलाई मुल्यांकनकर्ता, डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्ले र नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले नगद, प्रमाणपत्र र प्रशंशापत्र प्रदान गर्नु भएको थियो। अन्त्यमा क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेले सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो। उक्त अवसरका केहि तस्विरहरु :