एनआरएनए र सरकारले सामूहिक लगानीको वातावरण बनाउन जरुरी
प्रवासीहरुको लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्थामा द्रुतगतिमा सुधार गर्दै विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुने अवस्थामा पुग्न लागेका छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको वातावरण बनाउने तर्फ विभिन्न पहल भएता पनि खासै सफलता प्राप्त हुन सकेको छैन ।
नेपालीहरू बिदेशिने र व्यापार व्यवसाय गरी स्थापित हुने क्रम बढ्दै गएतापनि चिनिया र भारतीयको झैँ अग्ररुपमा आउन सकेका छैनन् । गन्न सकिने प्रवासी नेपालीहरू मात्र ठुलो लगानी गर्न सक्ने अवस्थामा देखिए पनि देशको अस्थिरता, लगानी मैत्री नियम कानुन र वातावरण बन्न नसक्नुले गर्दा सानातिना व्यवसाय बाहेक नेपालमा लगानी भएको देखिँदैन । केही स्थापित ब्यबसायीहरुले समेत सजिलै फाइदा हुने तर देशमा खासै रोजगारी र विकाशको आधारशिला खडा नगर्ने बैङ्क, दूर सञ्चारमा बढी लगानी गरेको देखिन्छ । कति प्रवासी नेपालीहरूले नेपालमा स्वास्थ्यको क्षेत्रमा लगानी गर्ने दुवाई दिए पनि उनीहरूको पहिलो प्राथमिकतामा काठमाडौँ वा ठुला शहरमात्र परेका छन् । उनीहरू समेत आफ्नो निश्चित फाइदा हुने क्षेत्रको खोजमा मात्र रहेका छन् ।
ठुला व्यापारीले साना सँग संयोजन गरेका छैन्न भने सानाको स्वयम् लगानी गर्न सक्ने हैसियत बनेको छैन । लाखौँ नेपालीहरू प्रवासमा रहेता पनि उनीहरूसँग छरिएर रहेको रकमलाई एक ढिक्का बनाएर लगानीको वातावरण बनाउन सक्ने हो भने नेपालको उन्नति हुनसक्नेछ ।
नेपालको पानी बगेर गएको गै छ, भारतबाट बिजुली किनेर बत्ती बाल्नु परेको छ भने लोडसेडिङको समस्यामा रुमलिनु परेको छ । केही विदेशी कम्पनीले जलबिधुतमा लगानी गरेर फाइदा लगेका छन् । हामी भने बगेको पानी हेर्दै अध्यारोमा टुकी बालेर बसिरहेका छौ । छोटो रूपमा भए पनि एनआरएनको पहलमा धोर्दी खोला जल बिधुत परियोजना सुरु भएर सकिन लागेको अवस्था छ । बुट मोडलमा बनाइएको यस परियोजनामा समेत प्रवासी नेपाली र अन्य विदेशी कम्पनीहरुमा खासै अन्तर गरिएको छैन । नेपालीहरूले लगानी गर्दा यसको फाइदा नेपाली समुदायको घेरा भित्र नै घुमिरहेको हुन्छ । यसर्थ, नेपालमा परियोजना सञ्चालन गर्दा नेपालीहरूले लगानी गरेका छन् भने छुट्टै सुविधा प्रदान गर्ने हो भने विकाश परियोजना धेरै आउन सक्दछन । विदेशीले गर्ने लगानीमा व्यावसायिक भावना मात्र लुकेको हुन्छ भने नेपालीको लगानीमा तन र मन समेत समाहित भएको हुन्छ ।
लगानी मैत्री वातावरण बनाउनको लागि एनआरएनए ले प्रवासी नेपालीहरूले गर्ने लगानीको नेपाल सरकारसँग ग्यारेन्टी गर्न पहल गर्नुपर्ने देखिन्छ । भारतीय उद्दमीहरुको व्यवसायलाई ग्यारेन्टी गर्ने सरकारले प्रवासी नेपालीको लगानीको ग्यारेन्टी गर्नमा समेत खासै कठिनाइ नहुनु पर्ने हो । आफूले गर्ने व्यवसायमा ढुक्क हुने अवस्था भएमा लगानीको वातावरण स्वतः बढ्ने देखिन्छ ।
विश्वभर छरियर रहेका लाखौँ नेपालीमा सामूहिक लगानीको भावना कसरी जागृत गराउदै लैजाने र नेपालमा लगानी मैत्री वातावरण बनाउने भन्ने सम्बन्धमा समेत सोच्नुपर्ने समय आएको छ । छरियर रहेको रकमले भन्दा एकत्रित रूपमा आउने लगानीले मात्र ठोस रूपान्तरण गर्न सक्ने देखिन्छ ।
अमेरिकामा करिब दुई लाख पचास हजार नेपाली रहेको एनआरएनले प्रकाशित गरेको तथ्याङ्कमा देखिएको छ । युरोप, अस्ट्रेलिया, अफ्रिका, मध्यपुर्व लगायत एसियाका अन्य देशमा रहेका नेपालीहरू समेतलाई लिने हो भने २-४ मिलियनहुन आउदछन । विकसित देशमा रहेकाहरु राम्रों आयश्रोत गरी बसेका छन् भने रोजगारीको सिलसिलामा मध्यपुर्व, मलेसिया जस्ता देशमा गएकाहरु अपबाद बाहेक मध्यम स्तरको आम्दानी गरिरहेका छन् । यी दुई फरक स्थानमा बस्ने नेपालीको आम्दानीको साथमा सो स्थानमा स्थाई बसोबास गर्ने र काम गरेर फर्कने सोचमा समेत फरक रहेको छ ।
सबै ठाउँमा बसेकाहरुले केही न केही कमाइ रहेका छन् तर यसलाई सामूहिक लगानीको अवधारणामा अहिलेसम्म लगिएको छैन ।
अमेरिकामा रहेका नेपालीहरूले एक डलर राख्ने हो भने दुई लाख पचास हजार जम्मा हुन्छ, विश्व भरबाट एक डलर गर्दा २-४ मिलियन डलर नै सङ्कलन हुन सक्छ । आफ्नो हैसियत अनुसार सबैको सहभागिता गराउने हिसाबले लगानी गर्ने ठाउँ बनाउने हो भने मिलियन हैन विलियन समेत जम्मा हुन सक्ने अवस्था देखिन्छ । तर, उपयुक्त लगानीको अवसर केमा छ भनी सबैलाई लगाउनु जरुरत छ । अहिलेको अवस्थामा उबर्दो रूपमा रहेको आईटि क्षेत्रमा सही रूपमा लगानी गर्ने हो भने सानो लगानीबाट समेत सबै नेपालीहरूले राम्रों फाइदा लिन सकिने अवस्था देखिन्छ ।
आठ मिलियन डलर भन्दा बढी विज्ञापनबाट आम्दानी गर्ने सोसियल मिडियामा हरेक दिन प्रयोगकर्ताहरुको चाख बढ्दो छ । विश्वभर ३ विलियन भन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएकोमा २ विलियन भन्दा बढीले सोसियल मिडिया प्रयोग गर्ने, इन्टरनेट प्रयोगकर्ताको पाँच भन्दा बढी सोसियल मिडिया अकाउन्ट हुने तथा हरेक दिन एक मिलियन भन्दा बढी प्रयोगकर्ता थपीईरहेका हुन्छन् ।
Pinterest कम्पनी २०१० मा सुरु भएता २० मिलियन प्रयोगकर्ता हुँदा कयौ बिलियन डलर मूल्याङ्कन भएको छ ।
LinkedIn को २०० मिलियन प्रयोगकर्ता हुँदा १८ बिलियन मूल्याङ्कन भएको छ भने फेसबुक, ट्वीटर, व्हाट्सएप इत्यादिले छोटो समयमा नै राम्रों सफलता हात पार्दै विलियन डलर बनाएकाछन ।
हामीले समेत सबैको लागनी, सबै प्रयोगकर्ताको रूपमा सुरु गर्ने हो भने कुनै सञ्जाल केही मिलियन प्रयोगकर्ताको रूपमा सुरु गर्न सक्दछौ । यसरी लाखौँ प्रयोगकर्ता हुनु भनेको कम्पनीको मूल्याङ्कन समेत बढ्ने हुँदा सुरुमा लगानी गरेको एक डलरले हजारौँ डलरको फाइदा दिन सक्ने अवस्था सृजना हुन्छ ।
आफ्नो लगानी हुँदा अपनत्व समेत हुँदा यसमा अमेरिका मात्र नभई संसार भर रहेका नेपालीको नेटवर्क मार्फत आफ्नो आम्दानी बढाउन सकिन्छ । नेपाली बिचमा लगानी गराउने क्रममा एउटाले पेनिमा लिने शेयरलाई अर्कोलाई लाखौँ तिर्ने हिसाबमा हैन सबैको समान रूपमा सहभागिता गराउदै सामूहिक लगानीको भावना बनाउन जरुरी छ ।
यसरी योजनाबढ्द ढङ्गले आफ्नो श्रोतको सही परिचालन गर्ने हो भने दीर्घकालीन रूपमा हाम्रो समुदायलाई निश्चित रूपमा फाइदा हुनेछ । अहिले पनि हामीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छौ, जस बापत कसैले पैसा कमाइ रहेको छ, तर यसलाई सही व्यवस्थापन गर्ने हो भने सबै नेपालीहरूले आफूले गर्ने एक डलरको लगानीबाट समेत राम्रों आर्जन गर्न सक्ने अवस्था बनाउन सकिन्छ ।
नेपालीहरूका एनआरएन लगायतका सङ्घ-संस्थाले नेपालमा लगानी मैत्री वातावरण बनाउदै सामुहिकरुपमा नेपाली समुदायको विकाश र उन्नतिमा लाग्नुपर्ने जरुरत छ ।
– अग्नि चौलागाई