समाजको एकताको लागि बलिदान गर्न तयार छु: एनआरएन अमेरिका अध्यक्ष पदका प्रत्यासी राम सी पोख्रेल
February 28, 2017 | 9:57 am    
टेक्सासको नेपाली समाज अहिले एक किसिमको अप्ठेरो अवस्थाबाट गुज्रेको छ। नेपाली समाज टेक्सासको अध्यक्ष भएर यहाँका नेपालीहरुलाई प्रतिनिधित्व गर्दै समाजसेवाको अनुपम उदाहरण पेश गरेका हाम्रा दुइ जना अगुवाहरुले एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिए पछि यस्तो स्थिति आएको हो। एकातिर बिगत करिब दुइ बर्ष देखि एनआरएनको उपाध्यक्ष भएर सफलतापुर्बक भूमिका निर्बाह गर्नुहुने राम पोख्रेल हुनुहुन्छ भने अर्को तर्फ डालसको नेपाली समाजमा एक असल समाजसेवी र सफल ब्यबसायीको रुपमा परिचय बनाउनु भएका गौरी राज अर्को तर्फ हुनुहुन्छ। संधै एकढिक्का भएर जुटेर हरेक काम गर्ने डालसको नेपाली समाजको परिचय हो। डालस बाहिरका हरेक राज्यहरुमा नेपाली बीच विभाजन देखेका त्यहाँका नेपालीहरु डालसको नेपाली समाजलाइ एक आदर्श समाजको रुपमा हेर्ने गर्छन। त्यसको लागि हामी डालस बासि गर्व गर्छौं र आगामी दिनमा पनि यस्तै एकताको अपेक्षा सबैले गरेका छन्।
हाल चर्चामा रहेका टेक्सासका उम्मेदवार मध्ये राम पोख्रेल लामो समय देखि टेक्सासको नेपाली समाजको केन्द्रबिन्दुमा छन् । ब्यबसायिक रुपमा सफल मात्र होइन उनले समाजसेवामा पनि सफलता प्राप्त गरेका छन्। नेपाली समाज टेक्सासमा देखिएको राजनीतिक चलखेललाइ समाप्त पार्दै उनले मध्यमार्गी बाटो लिएर नेतृत्व गर्न पुगेका थिए। त्यतिबेला उनी नउठेको भए सायद नेपाली समाज टेक्सास विभक्त भैसक्थ्यो। तर उनले त्यो हुन दिएनन। नेपाली समाजमा हुने हरेक कार्यक्रममा सक्रियतपुर्बक भाग लिंदै परेको बेलामा सहयोग गर्ने पोख्रेल यतिबेला भने चिन्तित हुनुहुन्छ। यस्तो मिलेर बसेको समाज यहि चुनावले बिथोल्ने त होइन भन्ने उहाँमा ठुलो चिन्ता छ। दुवै जना योग्य उम्मेदवार रहेको र समाजमा दुवै जनाको उस्तै इज्जत र प्रतिष्ठा रहेको अबस्थामा यसलाई कसरी राम्रो तरिकाले अवतरण गर्न सकिन्छ भन्ने सोंचाईमा तल्लिन राम पोख्रेलसंग मैले छोटो र अनौपचारिक कुरा गर्ने मौका पाएको थिएँ। उहाँको भनाइलाई मेरो भाषामा जस्ताको तस्तै म यहाँ राख्न चाहन्छु।
म एक सामान्य परिवारको मान्छे । भाग्यले अमेरिका अमेरिका ल्यायो। ममा सानै देखि अरुको लागि केहि गर्ने भावना थियो। आफ्नो लागि मात्र गर्नु पर्छ भन्ने कहिल्यै पनि भएन। त्यहि चाहनाको कारण अमेरिकाको नेपाली समाजमा पनि समाजसेवा गर्ने मौका मिल्यो। त्यसो त काम गर्न पद हुनु पर्छ भन्ने छैन तर पदले अलि बृहद तरिकाले काम गर्न सजिलो हुन्छ भनेर अप्ठेरो अबस्थामा टेक्सासको नेपाली समाजको अध्यक्ष बने। पार्टी वा विचार सबैको भए पनि अमेरिकाको नेपाली समाज राजनीतिक कारणले विभक्त हुनुहुन्न भन्ने मेरो गहिरो विश्वास छ। म पनि आफुलाई एक स्वतन्त्र मान्छे ठान्छु। सोहि कारणले मलाई नेपाली समाज टेक्सासको अध्यक्ष भएर यहाँको समाजलाई हाँक्ने अवसर आयो। डालसका सम्पूर्ण साथीहरुको सहयोगबाट मैले आफ्नो कार्यकालमा थुप्रै राम्रा कामहरु गरें। त्यसमा मलाई गर्व छ।
त्यसपछि पनि बिभिन्न ठाउँमा मैले आफ्नो क्षमताले भ्याए सम्म नेपालीहरुको सेवा गर्ने काम गरें। केहि समयको अन्तराल पछि एनआरएनमा गैर केहि गरूँ जस्तो लाग्यो। सम्पूर्ण साथीहरुको सहयोगमा मैले उपाध्यक्ष पदमा विजय हाँसिल पनि गरें। यो जितले मलाई ठुलो हौसला दियो। मैले उपाध्यक्षको रुपमा अमेरिकाभर हिंड्ने र थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई भेट्ने अवसर पाएँ। उहाँहरुका समस्या बुझ्ने मौका पाएँ। एनआरएन ले के गर्न सक्छ होइन के गर्नु पर्छ भन्ने मैले यो करिब दुइ बर्षको अबधिमा बुझ्ने मौका पाएँ। गृह राज्य टेक्सास र अमेरिकाका अन्य थुप्रै राज्यहरुमा मैले आफ़ो क्षमताले भ्याए सम्म काम गरें। मेरो कामबाट धेरै साथीहरु उत्साहित हुनुहुन्छ। उपाध्यक्षको रुपमा काम गर्दा अध्यक्ष बनेमा मैले गर्नु पर्ने काम र गर्न सक्ने काम राम्रो संग बुझेको छु। त्यहि आफ्नो अनुभवलाई नेपाली समुदायको हितमा प्रयोग गर्न मैले साथीहरुकै सल्लाहमा उम्मेद्वारी दिने घोषणा अघिल्लो हप्ता मात्र गरें।
अहिले माहोल फेरिएको छ। टेक्सासबाट एकजना मात्र उम्मेदवार हुनुपर्छ भन्ने ठुलो जनमत छ। यहाँका अग्रजहरुको भनाइ पनि त्यहि छ। मैले उम्मेद्वारी दिंदा अहिले उम्मेदवारी दिनु भएका मेरा अर्का मित्र गौरीराज जोशी अन्योलमा हुनुहुन्थ्यो। म संगको अनौपचारिक कुराकानीमा उहाँले तपाईं अगाडी बढ्नुस म यो झन्झटमा पर्दिन भन्नु भए पछि मैले त्यस्तो घोषणा गरेको थिएँ। टेक्सास र टेक्सास बाहिरका थुप्रै साथीहरुको दवाव र अनुरोधलाई समेत अस्विकार गर्दै मैले आफ्नो उम्मेदवारी दिन चाहिन। तर यति ठुलो जनसंख्या भएको, यति धेरै प्रतिभाहरु भएको राज्यबाट एनआरएन अमेरिकाको अध्यक्ष नहुने भए पछि मैले आफुलाई प्रस्तुत गरें। मैले विभिन्न पत्रिका मार्फत आफ्नो चाहना स्पस्ट संग अमेरिकाको नेपाली समुदाय बिचमा राखें।
तर बिगत केहि दिनदेखि फेरी माहोल परिबर्तन भएको छ। गौरी जोशी जीले उम्मेदवारी दिए पछि परिस्थिति अर्कै तिर मोडिएको छ। टेक्सासबाट दुइवटा उम्मेदवार हुनु हुन् भन्ने सबैको मान्यता छ। दुइ जना उम्मेदवार हुँदा दुवै जनाले नै बल्ढ्याङ्ग खाने स्थिति छ । टेक्सासको मत नै विभाजित भए पछि अरु राज्यबाट मात्र एकजनाले जित्न गाह्रो छ। समाजको धारणा मिलेर एक जना जानु पर्छ भन्ने छ। त्यो पदको लागि योग्य संगसंगै जित्न सक्ने उम्मेदवार उठाउनु पनि टेक्सासबासीको आबस्यकता हो। मलाई लाग्छ मेरो अनुभव र कार्यशैली अमेरिकभारका साथीहरुले देख्नु भएको छ। त्यो हिसाबले मैले आफुलाई गौरी जी भन्दा बढी सम्भावना भएको व्यक्तिको रुपमा हेरेको छु र टेक्सास का थुप्रै साथीहरुको पनि त्यहि मत छ। यो कुरालाई मध्यनजर गर्दै मित्र गौरी जीले आफ्नो निर्णयमा पुनर्विचार गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।
यसो भन्दैमा मेरो गोरुको बाह्रै टक्का भने मैले भन्दिन। टेक्सासका नेपाली समाजका अगुवाहरुले भन्नुहुन्छ भने म यो पदलाइ हाम्रो मित्रता संग साट्न चाहन्न। मेरो उम्मेदवारीले हाम्रो लामो समय देखिको एकता तोडिने अवस्था नआओस भन्ने नै मेरो चाहना छ। टेक्सासमा एनआरएन अमेरिकाको अध्यक्ष ल्याउने मेरो अभिस्ट हो। यसमा एक समाजसेवीको नाताले र यो पनि एउटा समाज सेवा नै भएकोले म नै हुनुपर्छ भन्ने मेरो मान्यता कहिल्यै पनि छैन। त्यो हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेछैन। मेरो बलिदानले नेपाली समाज टेक्सास एकताबद्ध हुन्छ र एनआरएन अमेरिकाको अध्यक्ष पनि टेक्सास मै आउंछ भने म जुनसुकै मुल्य पनि चुकाउन तयार छु। हिजो पनि मैले यस्ता थुप्रै अबसरमा समाजको लागि कुर्बानी गरेको छु। काम गर्न र समाज सेवा गर्न पद नभई हुन्न भन्ने मेरो सोंचाई पनि छैन। तर म आफ्नो उम्मेद्वारी दिइसकेको अबस्थामा फिर्ता लिनको लागि भने मेरा यी प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिनै पर्छ। यदि त्यस्तो परिस्थिति सिर्जना भएमा म बलिदान गर्न तयार छु।