एनआरएन अमेरिकाको अध्यक्षमा टेक्सासबाट राम पोखरेलको उम्मेद्वारी
फेब्रुअरी २३, डालस, टेक्सास। एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ को चुनाव नजिकिंदै छ। संगसंगै उम्मेदवार घोषणा हुने क्रम पनि तिब्र छ। बिशेष गरी अध्यक्ष पदमा थुप्रै उम्मेदवारहरुको लर्को लागेको छ। एक कक्षा पास गरे पछि दुइ कक्षामा पढ्ने हो, एक कक्षा फेरी दोहोर्याएर पढ्ने कुरा हुन्न भन्ने विचार राख्ने वर्तमान अध्यक्ष केशव पौडेल देखि उहाँकै कार्यसमितिमा उपाध्यक्ष भएर काम गरेका राम पोख्रेल र रबिना थापाले पनि उम्मेदवारी घोषणा गरी सकेका छन् । त्यसै गरी गौरी राज जोशी, कृष्ण पोख्रेल, तेम्बा नुर्बु शेर्पा, दिल्ली भट्टराई लगायतले पनि अध्यक्ष पदको उम्मेदवार बन्ने जनाएका छन्।
टेक्सास अमेरिकाको ठुला राज्यहरुमा पर्छ। यसको क्षेत्रफ़ल, जनसंख्या र आर्थिक गतिविधिको हिसाबले टेक्सास निकै अगाडी छ।नेपालीहरुको पनि ठुलो संख्या टेक्सासमा बस्छ। त्यसमाथि डालसको नेपाली समुदाय ठुलो छ र अमेरिकामा हुने हरेक गतिविधिमा डालस निकै अगाडी छ। एनआरएनको चुनावमा पनि डालसलाइ बिशेष नजरले हेरिएको छ। लामो समयसम्म गौरी राज जोशी टेक्सासबाट अध्यक्षको उम्मेदवार हुने भन्ने कुरा अगाडी आएकोमा केहि दिन अघि उपाध्यक्ष राम पोखरेलले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। यसबाट टेक्सासको नेपाली समाज विभाजित हुने खतरा पैदा भएको छ।
यसबारेमा अध्यक्ष पदका उम्मेदवार राम पोखरेलले टेक्सासबाट एउटै उम्मेदवार हुने र त्यो उम्मेदवार आफु नै भएको स्पस्ट पारेका छन्। “मेरो उम्म्द्वारी घोषणा टेक्सासका सबै साथीहरुको सल्लाह र सहमतिमा भएको हो, यहाँ बाट एउटै मात्र उम्मेदवार मात्र हुन्छ” अझ स्पस्ट हुँदै पोखरेलले भनेका छन्। टेक्सासबासीको चाहना पनि एउटै उम्मेदवार हो। तर यो टेक्सास मात्रको चुनाव नभएको र एनआरएन अमेरिकाको अध्यक्ष अमेरिकाभरिका नेपालीहरुलाई नेतृत्व दिन सक्ने साथै आइसिसिमा समेत प्रतिष्पर्धा गर्ने खालको हुनु पर्ने भएकोले क्षेत्र भन्दा योग्यता र उम्मेदवारको भिजन महत्वपूर्ण हुने कुरा टेक्सास निबासी तथा आगामी एनआरएन अमेरिकाको कार्यकालका लागि उपाध्यक्षका उम्मेदवार भुवन आचार्य बताउनु हुन्छ।
जे होस् राम पोखरेलको उम्मेदवारी संगै टेक्सासमा चुनाव शुरु भएको महशुश गरिएको छ।