रास्ट्रपति ट्रंपलाई फेरी अर्को झड्का, प्रस्तावित श्रम मन्त्रि पछि हट्न बाध्य
फेब्रुअरी १५, वाशिंगटन डिसी । स्वस्थानी ब्रतकथामा सतीदेवीले आफ्नै पिताको यज्ञ कुण्डमा हाम फालेर देह त्याग गर्छिन । त्यो कुरा भगवान शिवले थाहा पाउँछन् र दक्ष प्रजापतिको घर पुग्छन । त्यहाँ पुगे पछि आफ्नी प्राणभन्दा प्यारी सतीदेवीको प्राण पखेरु उडेको र सोको कारण दक्षप्रजापतिले महायज्ञमा निम्तो नगरेको थाहा पाए पछि क्रुद्ध हुन्छन र यज्ञ ध्वस्त पारिदिन्छन । सतीदेवीको मृत्युबाट आहत भएका भगवान शिव उनको शबलाई बोकेर बिक्षिप्त भै संसार चाहार्न थाल्छन । महादेवले बोकेको हुनाले सतीदेवीको शवमा कुनै कीटाणु प्रवेश गर्न नसकी लामो समय सम्म पनि जस्ताको तस्तै रहन्छ । सतीदेवीको शरीर सोहि अबस्थामा रहेसम्म महादेवले उनलाई भुल्न नसक्ने देखेपछि भगवान बिष्णुले सतीदेवीको शरीरमा किटाणु प्रवेश गराउँछन् र एक एक गर्दै सतिदेविका अंगहरु पतन हुन पुग्छन । घुम्दै जाँदा अन्त्यमा सतीदेवीको शरीरका सबै अंग पतन भैसक्छन । त्यसपछि बल्ल महादेव होसमा आउँछन् ।
स्वस्थानी ब्रतकथा केहि दिन अघि सिद्धिएको छ । तर अमेरिकी सरकार गठनको स्वस्थानी भने जारि छ । गत सोमबार रास्ट्रपति ट्रंपले २३ दिनअघि मात्र नियुक्त गरेका प्रमुख सुरक्षा सल्लाहकार माइकल फ्लिनको पतन भएको थियो । अमेरिकी गुप्तचर संस्थालाई मात्र होइन उप-रास्ट्रपति माइक पेन्सलाइ समेत झुठो विवरण दिएको भन्ने काण्ड सार्बजनिक भए पछि राजिनामा गर्न बाध्य भएका थिए । उनलाई जोगाउन अप्रत्यक्ष रुपमा रास्ट्रपति नै लागेका थिए भने प्रत्यक्ष रुपमा रास्ट्रपतिका सल्लाहकारहरु लागेका थिए । सतीदेवीको अंग पतनको कथा जस्तै ट्रंप प्रशासन पूर्ण नहुँदै त्यसका अंगहरु झर्ने क्रम शुरु भएको छ । आधुनिक इतिहासमा रास्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा सबभन्दा कम समय काम गर्ने व्यक्तिको नाम माइकल फ्लिनले प्राप्त गरेकाछन् । फेरी आज श्रममन्त्रीको रुपमा ट्रंपले प्रस्तावित गरिएका एण्ड्रियु पुज्डरको प्रस्ताब फिर्ता गर्न बाध्य भएका छन् । यो संगै ट्रंप मन्त्रीमंडलको दोश्रो व्यक्तिको नियुक्ति पूर्व नै पतन भएको छ ।
एण्ड्रियुको अहिले सम्म कुनै पनि सरकारी अनुभव थिएन । ट्रंपको बफादार अनुयायी र चुनावमा $३३२,००० दान गरेको आधारमा ट्रंपले पुरस्कृत गरेका थिए । तर उनको बिगत त्यति राम्रो थिएन । गैर कानुनि कामदारलाइ लामो समय जागिर लगाएको, कामदारहरुसंगको खराब सम्बन्ध र उनकी पूर्व पत्नीलाई घरेलु हिंसा गरेको जस्ता आरोप लगाइएको थियो । उनको पुर्बपत्निले भने उक्त मुद्धा पहिल्यै फिर्ता लिइसकेकी थिइन । यी र यस्तै नकारात्मक इतिहास रहेका एण्ड्रियु रिपब्लिकन पार्टीभित्र बाट समेत अस्वीकृत हुने अवस्था सिर्जना भएको थियो । कमसेकम ४ देखि १२ जना रिपब्लिकन सिनेटरहरुले उनको नाम अस्वीकृत गर्ने पक्का भए पछि रिपब्लिकनहरुको तर्फबाट व्हाइट हाउसलाई उनको नाम फिर्ता लिन अनुरोध गरिएको थियो । तर त्यस अघि नै एण्ड्रियुले आफ्नो नाम अनुमोदन नहुने देखे पछि व्यक्तिगत र पारिवारिक कारण देखाउंदै उक्त पदको दौडबाट आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका छन् ।
एक बक्तब्य जारी गर्दै उनले भनेका छन् “गहिरो विचार र मेरो परिवार संगको छलफल पछि श्रम शाखाको प्रमुखको जिम्मेवारीको दौडबाट मैले मेरो नाम फिर्ता लिएको छु । अमेरिकी कामदार र श्रमलाइ पहिलो स्थानमा राख्दै अमेरिकालाई आर्थिक रुपमा भरिपूर्ण बनाउने अभियानमा मेरो नाम रास्ट्रपति डोनाल्ड ट्रंपले प्रस्तावित गरेकोमा म रास्ट्रपतिलाइ धन्यवाद दिन चाहन्छु । साथै यस क्रममा मलाई पूर्ण रुपमा समर्थन गर्दै ममा विश्वास गर्ने मेरो परिवार, समर्थक, सुभेच्छुक सबैलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा मेरो जनताको सेवा गर्ने चाहना पुरा नभए पनि रास्ट्रपति र उहाँको अति योग्य उनको टीमलाई पूर्ण रुपमा सहयोग गर्नेछु” ।
स्मरण रहोस ट्रंप मन्त्रीमंडलमा जान खुट्टा उचालेका एण्ड्रियु अमेरिकाका केहि धनिहरु मध्ये एक हुन् । १९५० मा जन्मेका यी धनाढ्य सीकेइ रेस्टुरेण्ट्सका सीइओ हुन् ।