एनआरएन पैसावालाहरुको रिटायर्ड हुने संस्था हुनु हुन्न
यतिबेला अमेरिकामा रहेका नेपालीहरु जुन महिनामा हुन लागेको एनआरएन अमेरिकाको चुनावको माहोलमा छन् । उम्मेदवारीको लर्को संगै सदस्यताको लागि आबेदन पनि खुलेको छ । उम्मेदवारहरु आफ्ना सामाजिक संजालका मंचहरुमा सदस्यता लिनको लागि आग्रह गरिरहेका छन् । करिब साढे दुइ लाख नेपालीहरु भएको अमेरिकामा गत निर्बाचनमा १० हजार सदस्य बनेका थिए । त्यसमध्य कतिपय सदस्यताको लागि अनिच्छुक थिए । कतिपयले कसैको लागि, कतिपयले सित्तैमा सदस्य बन्न पाइने हुनाले सदस्यता लिएका थिए । एनआरएन संगठनका राम्रा गतिबिधि र त्यसमा रहेको आकर्षणले कसैले पनि सदस्यता लिएको थिएन । बिदेशमा बसे पछि एनआरएन भैयो भन्ने मान्यताले कतिपयलाई सदस्य बन्न प्रेरित गरेको थियो । एनआरएन भित्रको बिबाद र यसको कार्यक्षेत्रको अस्पस्टताले पनि थुप्रै नेपालीहरुलाई एनआरएन अमेरिकाको सदस्यता लिउँ लिउँ बनाउन सकेन ।
एनआरएनको सदस्यता लिनुस भनेर सार्बजनिक अपिल गर्नेहरुले कसैले पनि किन सदस्यता लिने भनेर उल्लेख गरेका छैनन् । कुनै रामबहादुर वा श्यामबहादुर लाई पद दिलाउनकै लागि यहाँ सदस्य बन्ने परम्परा पनि छ । त्यस्तोमा खास मुद्धा वा भबिस्यको योजना सहित सदस्य हुँदाको प्रत्यक्ष र अप्रत्यक्ष फाइदाको कुनै उल्लेख नगरी गरिने सदस्यता आह्वान खासै अर्थपूर्ण हुन सक्दैन । खासगरी उम्मेदवारी दर्ता गर्ने भनेर प्रचार गरेका व्यक्तिहरुले सदस्य बनेमा के कस्तो व्यक्तिगत वा समुहगत फाइदा छ त नभनी एकोहोरो सदस्य बन भनेको आधारमा मात्र यहाँ कसैले सदस्यता लिने सम्भावना निकै कम छ ।
सदस्यताको बिषयमा मैले मेरो नजिकका धेरै मान्छे संग अनौपचारिक कुरा गरेको छु । उनीहरु सबैको प्रश्न एउटै हुन्छ, “यसबाट हामीले के पाउँछौ” ? पक्कै पनि एनआरएन अमेरिकाको सदस्य बन्दा ठुलो र प्रत्यक्ष फाइदा खोज्नु जायज नभए पनि यसबाट हुने सानातिना फाइदाहरु बारे भने सबैलाई सुसुचित गर्ने पर्छ । यो कुरा बुझाउन नसक्नु एनआरएन अभियन्ताहरुको कमजोरी हो । अमेरिकाको नेपाली समाजमा रहेका अन्य संस्थामा क्रियाशील टाँठा बाठाहरु नै एनआरएनमा सक्रिय देखिन्छन । एनआरएन सबैको संगठन हो भन्ने बुझाउन नसक्दा यो पनि अर्को झगडा गर्ने संगठन हो कि भन्ने प्रश्न आम सर्बसाधारण नेपालीहरुको रहंदा यसको दयारा फराकिलो हुन सकेको छैन ।
यसै सन्दर्भमा मैले एनआरएन अमेरिकाकी वर्तमान उपाध्यक्ष रबिना थापासंग सम्पर्क गरी जिज्ञासा राखेको थिएँ । सदस्य बनेर के फाइदा छन् त भन्ने मेरो प्रश्न र अन्य सन्दर्भमा रबिना थापाले व्यक्त गरेका बिचारहरु उहाँकै शब्दमा :
हामी विदेश आउने बित्तिकै स्वत: एनआरएन हौं । अन्य स्थानिय संगठन आफ्नै तरिकाले, कोहि सैद्धान्तिक हिसाबले, कोहि जातिय हिसाबले त कुनै क्षेत्रिय हिसाबले खोलिएका छन् । उनीहरुको उद्देस्य त्यहि ठाउं वा लक्षित समुदायको सेवा गर्नु हो । तर एनआरएन सबै प्रबाशी नेपालीहरुको साझा संगठन हो । यो कुनै पार्टी बिशेष वा जाति बिशेषको संस्था होइन । सक्रियताको हिसाबले कुनै विचार राख्नेहरुको बाहुल्यता हुन त सक्ला तर यो सम्पूर्ण रुपमा सबैको हो । यसमा यो वा त्यो नाममा शंका गर्नु उपयुक्त हुँदैन । यस्तो बृहद र स्वतन्त्र संगठनको सदस्य हुने स्वतः सबैको लागि फाइदाको बिषय हो । यो नै सदस्यता लिनु पर्नुको प्रमुख कारण हो । त्यसमाथि तपाईंले आफु र आफ्नो समुदायको लागि केहि गर्नु पर्छ भन्ने चाहना छ भने यो संगठन त्यसको लागि अथाह सम्भावना भएको ठाउं हो । सहि उद्देस्य र त्यसलाई पुरा गर्ने योजना छ भने एनआरएनको प्लेटफर्ममा गर्न नसक्ने कुनै ठाउं छैन ।
यो अप्रत्यक्ष फाइदा भयो एक सदस्यको रुपमा । कतिपयले प्रत्यक्ष फाइदाको पनि अपेक्षा गर्नु अस्वाभाविक होइन । त्यसो त यो आफ्नै संगठन भएकोले यसमा आएर सबैलाई प्रत्यक्ष फाइदा हुने संगठनको रुपमा विकास गर्नु पनि सबैको कर्तब्य हो । तर सदस्यता लिन नै कसैले फाइदाको अपेक्षा गरेको छ भने पनि एनआरएन अमेरिका त्यता तर्फ पनि अघि बढेको छ । सदस्य बने बापत केहि लाभ प्रदान गर्ने दिशामा हामी अघि बढेका छौं । तर ठोस रुपमा काम भएको छैन म निर्बाचित भएँ भने आगामी कार्यकालमा हरेक सदस्यले थाहा पाउने गरी लाभ हुने काय्रक्रम ल्याउने छु । यो कुरा मेरो औपचारीक रुपमा उम्मेद्वारी घोषणा पछि स्पस्ट संग राख्ने छु । एनआरएनको सदस्य बने बापत बिभिन्न ठाउँहरुमा छुटको व्यवस्था गर्न हामीले गरेका पहलहरुलाई टुंगोमा पुर्याउने काम हुनेछ भने अन्य नेपाल लगायत अन्यत्र पनि लगानी गर्न चाहनेलाई सदस्यताले मात्र पनि योग्यता पुरा गर्ने काम गर्न सक्छ । समग्रमा एनआरएन अमेरिकाको सदस्यता लिनु कसैलाई भोट हालेर ठुलो मान्छे बनाउने काम होइन आफ्नै हितमा छ भन्ने वाताबरण बनाउनु हामी सबैको कर्तब्य हो ।
अहिले कतिपय उम्मेदवारहरु सदस्य निर्माण गर्न लागि पर्नु भएको छ । त्यसमा आफ्ना र आफुलाई भोट हाल्नेहरुलाई सदस्य बन्न प्रेरित गर्नु भएको अवस्था पनि छ । खाली भोट हाल्नकै लागि सदस्य बनाउने र त्यसपछि निस्क्रिय हुनेहरुको ठुलो जमात छ । म चाहन्छु हामी जति सदस्य बनाउन सक्छौं सक्रिय सदस्य बनाउनु पर्छ । यसमा केहि गर्न र योगदान दिन सक्ने र चाहनेहरु आउनु पर्छ । जब यो संगठनमा योग्य र सक्रिय व्यक्तिहरु आउँछन्, संगठनको आकर्षण आफै बढ्छ र सदस्यता लिन घरघर धाउनै पर्दैन । निस्क्रिय र डमी सदस्यको भरमा चुनाव जितेर आए पनि संगठन जुझारु र सक्रिय हुन सक्दैन । पैसा कमाई सकेर नाम कमाउन पद खोज्नेहरुलाई त यो ठिकै होला तर यहि ठाउंबाट समाज र देशलाई केहि दिन्छु भनेर लागेकाहरुलाई भने यस्ता निस्क्रिय र भोट हाल्न बनाइएका सदस्यहरु भएको संगठन घाँडो मात्र हुन जान्छ ।
त्यसैले यदि कोहि एनआरएनले साच्चिकै राम्रो काम गरेको हेर्न चाहनु हुन्छ भने पहिले आफै सदस्य बनेर उपयुक्त उम्मेदवारलाइ जिताउने वा आफु योग्य छु भन्ने लागेमा मैदानमा उत्रिनु पर्छ । भिजन भएका र काम गर्न सक्ने मान्छे मान्छे ल्याउन भूमिका खेल्नु पर्छ । सामुहिक लाभ संगसंगै व्यक्तिगत लाभ समेत लिन सकिने बाताबरण बनाउन यो एनआरएन आन्दोलनमा लागेका, समय समयमा काम गरेर आफ्नो दक्षता पुस्टि गरेका व्यक्तिहरुलाई समर्थन र सहयोग गर्नुपर्छ । यदि तपाईं हामी सचेत आप्रबासीहरुले यो कुरामा ध्यान दिन सकेनौ र पैसावाला हरुलाई रिटायर्ड हुने स्थलको रुपमा मात्र लिन थाल्यौं भने त्यो अवस्था एनआरएन हरुको लागि दुर्भाग्यपूर्ण हुनेछ ।