अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न, पन्ध्र अर्ना चितवन निकुञ्जमा छाडियो
रत्ननगर (चितवन), २८ माघ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जकाअनुसार पहिलो चरणमा कोसीबाट १२ वटा र जावलाखेलको चिडियाघरबाट तीन गरी १५ वटा अर्ना ल्याएर छाडिएपछि पहिलो चरणको अर्ना ल्याउने काम सम्पन्न भएको हो । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भन्नुभयो, “पहिलो चरणको काम सकिएको छ, थप पाँच अर्ना कहिले ल्याउने भन्ने तय भएको छैन ।”विसं २०७१ मै सरकारले कोसीबाट चितवन निकुञ्जमा पाँच भालेसहित २० अर्ना ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेबाट अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो । १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको हो ।
कोसीमा अर्नाको बंश संरक्षणमा चुनौती देखिएकाले यसको संरक्षणका लागि चितवनमा अर्ना ल्याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।
चितवन निकुञ्जमा सन् १९६० को दशकअघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । पछिल्लो गणनामा कोसीमा ४३२ अर्ना भेटिएको कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्याम शाहले जानकारी दिनुभयो । चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । अब बाह्रसिङ्गे ल्याउने प्रक्रिया सुरु हुने जनाइएको छ । सरकारले शुक्लाफाँटाबाट २५ वटा बाह्रसिङ्गे ल्याउने निर्णय गरिसकेको छ । रासस