ट्रंपको बिदेशी नेताहरुसंग झगडा जारी: अमेरिकाका सहयोगी देशहरु त्रसित
ट्रंपले रास्ट्रपतिको पदभार ग्रहण गरेको तीन हप्ता पनि पुगेको छैन । उनी राजनीतिक पृष्ठभूमिबाट नआएकोले राजनीतिमा जान्न पर्ने धेरै कुरा छन् । प्रशासन चलाउन धेरै कुरा सिक्नु पर्ने छन् । अति सम्बेदनशिलताको कारण विदेश नीति त झन् जटिल छ । महाशक्ति रास्ट्रको रुपमा अमेरिकाको धारणा र प्रतिक्रिया हरेक साना ठुला घटनामा अपेक्षा गरिन्छ । सानो त्रुटि हुँदा पनि सम्बन्ध बिग्रिने मात्र होइन युद्ध समेत भएका घटना संसारमा छन् । तर अमेरिकी राष्ट्रपतिको रुपमा ट्रंपको सपथ ग्रहण संगै अमेरिकाको आन्तरिक र बाह्य राजनीतिमा ग्रहण लागेको प्रतित हुँदैछ ।
एक जग्गा दलालको रुपमा प्रशस्त सम्पति आर्जन गरेका ट्रंप त्यहि शैलीलाइ रास्ट्रपतिको पदमा पनि लागु गर्न खोज्दैछन । उनले आएको केहि समयमै प्रशस्त तरंग र विवाद पैदा गरेका छन् । आन्तरिक रुपमा आप्रबासी, मुसलमान र अफ्रिकन अमेरिकनललाई चिढ्याइसकेका छन् भने बिदेशी नेताहरुलाई पनि चिढ्याउने क्रम जारी राखेका छन् । शुरुशुरुमा मेक्सिकोको सीमामा पर्खाल लगाउँछु र त्यसको खर्च मेक्सिकोलाई तिराउँछु भनेर गुड्डी हाँक्दै हिंडेका ट्रंप मेक्सिकोले खरो शब्दमा प्रतिकार गरे पछि अहिले पर्खाल अमेरिकाको पैसाले बनाउने तर मेक्सिकोले त्यसको पछि भर्पाइ दिने भनेर भन्न थाले । त्यो पनि अस्वीकृत भए पछि मेक्सिकोबाट आउने समानमा भन्सार लगाएर पर्खालको खर्च मिलाउँछु भन्दै हिंड्न थाले तर पछिल्लो समय त्यसमा पनि चुप छन् ।
उनले युरोपका राष्ट्रहरुलाई पनि रिसाउने बनाए । लामो समय देखि अमेरिकाको सहयोगीको रुपमा रहेको जर्मनीकि चान्सलर मर्केललाइ भ्लादिमिर पुटिनसंग एउटै कित्तामा राखेपछि उनको तिब्र आलोचना भयो । अहिले फेरी उनले अस्ट्रेलियाका प्रधानमन्त्रि संग फोनमा झगडा गरेका छन् । एक घण्टा गर्ने भनेको फोन आधा घन्टामै उनले रिसाउँदै काटे । अस्ट्रेलिया र अमेरिकाको केहि समय अघि १२५० शरणार्थी सम्बन्धमा भएको सम्झौताको उनले बिरोध मात्र जनाएनन टर्नबुल संगको कुराकानी सबभन्दा झुर भएको भन्दै फोन काटे । उनको यो खालको चरित्रले उनको मानसिक अबस्थाको बारेमा समेत प्रश्न गर्न थालिएको छ । उनीसंग धेरै चोटी अन्तरबार्ता लिएका हवार्ड स्टर्नले ट्रंप रास्ट्रपति हुन सक्ने मानसिकताका नभएको जिकिर गर्दै भनेका छन् “उनी रमाइलो र मनपरी गर्दै हिंड्ने मान्छे हुन्, उनलाई व्हाइट हाउसको चौघेरा र राजनीतिको बन्धन भित्र बस्न सक्दैनन्” ।
अस्ट्रेलिया, जर्मनी र मेक्सिको अमेरिकाले गरेका पछिल्ला युद्धहरुमा साझेदार रहँदै आएका छन् । तर ट्रंपको यस्तो रबैयाले बिरोधि देशहरुमा त अमेरिकाको खराब छबि छँदैछ, मित्र राष्ट्रहरु पनि चिढिने र अमेरिका एक्लिंदै जाने अवस्था सिर्जना भएको छ । उनले आफ्नो ब्यापारी छविलाई राजनीतिमा पनि लागु गर्न खोजेको देखिन्छ । एउटा कम्पनिको मालिकको रुपमा उनले आफूखुसी निर्णय गर्थे । व्यापारिक डिल पनि आफ्नो कम्पनीको स्वार्थमा मात्र गर्थे । मन लागे मान्छे राख्थे, मन नलागे निकाल्थे । तर अब देशहरुसंग पनि त्यहि व्यवहार गरे भने कति देशले उनको आदेश पालन गर्लान ? सबै देश आफ्नै जनताको हितमा चल्छन । अमेरिकाले जे भन्यो त्यहि मान्ने देश धेरै छैनन् । त्यसमाथि आपसी हितमा काम गर्ने हो । धम्क्याएर र थर्काएर काम हुन्छ भन्नु ट्रंपको केटाकेटीपन हो । ट्रंपको यो चरित्रले र बिना अध्ययन र सल्लाह निर्णय लिने साथै मैले भनेको मात्र ठिक हो भन्ने जिद्धि बालकको जस्तो स्वभावले अमेरिका फेरी अर्को कुनै महँगो युद्धमा फस्न सक्ने देखिन्छ । यदि ट्रंपलाइ ठिक ठेगानमा ल्याउन अमेरिकी सदन सफल हुन सकेन भने उनले कति क्षति गर्ने हुन्, धेरै कुर्न पर्ने देखिन्न । तर आशा गरौँ, त्यसो नहोस र ट्रंपको बुद्धिको बिर्को खुलोस ।