नुवाकोटमा सामूहिक व्रतबन्ध
त्रिशूली(नुवाकोट), १९ माघ । जिल्लाको एक मात्र संस्कृत विद्यालय सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माविले आज श्रीपञ्चमीका अवसरमा ९९ जनाको सामूहिक ब्रतबन्ध गराएको छ ।
विदुर –७ देवीघाटस्थित नीलकण्ठ धाममा गरिएको सामूहिक व्रतबन्ध थोरै शुल्कमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले बताउनुभयो । विसं २०५५ मा संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि विद्यालयलाई थोरै भए पनि आर्थिक राहत जुटाउन भनी सुरु गरिएको सामूहिक व्रतबन्धमा हालसम्म दुई हजारभन्दा बढीको सामूहिक व्रतबन्ध भइसकेको छ ।
ब्राह्मण, क्षत्री र नेवार समुदायका वटुकलाई व्रतबन्धपछि ज्योतिषी पण्डितहरुले मन्त्रोदान गराएका थिए । यस वर्ष प्रतिवटुक रु तीन हजार लिएर व्रतबन्ध गराइएको छ ।
यसैबीच यही माघ १४ देखि २४ गतेसम्म आयोजना गरिएको ‘चौथो नुवाकोट महोत्सव’मा आजसम्म एक लाखले अवलोकन गरेका छन् । महोत्सवमा लघु तथा घरेलु, हस्तकला, सेवामूलक संस्था, कृषि, पशु, माछा, जिल्लाका जनजीवन प्रदर्शनी गरिने कक्ष छन् ।
त्यस्तै सवारी साधन, वागबानी, रुद्राक्ष, केराका परिकार, भूकम्प प्रतिरोधी घर, स्वास्थ्य, शिक्षासम्बन्धी नयाँ प्रविधिको जानकारी दिने कक्ष पनि छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले महोत्सवमा जिल्लाका सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको स्पष्ट गर्नुभयो । रासस