ट्रंप यात्रा अतिबाद तिर उन्मुख , ७ देशका मान्छे अमेरिका आउन नपाउने
जनवरी २८, वाशिंगटन डिसी। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले विशेषाधिकार आदेशमा हस्ताक्षर गर्ने क्रम रोकिएको छैन। ओबामाकेयर, मेक्सिको पर्खाल जस्ता देश र बिदेशमा प्रत्यक्ष असर पर्ने मुद्धाहरुमा हस्ताक्षर गरिसकेका ट्रंपले आज फेरी अर्को बिबादास्पद मुद्धामा हस्ताक्षर गरेका छन्। युद्धग्रस्त र समस्याग्रस्त इस्लामिक देशहरुबाट आउन अस्थायी रुपमा प्रतिबन्ध लगाउने उनको चुनावी नारा अनुसार उनले ७ वटा इस्लामिक आतंकको छायाँमा परेका देशहरुबाट कोहि पनि आउन नपाउने आदेश जारी गरेका हुन्। इरान, इराक, लिबिया, सोमालिया, यमन, सुडान र सिरिया अस्थायी प्रतिबन्ध लगाइएका देशहरु हुन् जसमा कुल १३ करोड भन्दा बढी मानिसहरुको बसोबास छ।
आफ्नो देशको सुरक्षा गर्न पाउनु अमेरिकी सरकारको अधिकार हो। आफु सुरक्षित तरिकाले बाँच्न पाउनु अमेरिकी जनताको अधिकार पनि हो। आफ्नो देशको सिमा भित्र कसलाई छिर्न दिने र कसलाई नदिने भन्ने पनि पक्कै अमेरिकीहरुको अधिकार हो। अमेरिकी जनताको हितमा काम गर्नु अमेरिकी सरकारको दायित्व हो। तर खुल्ला अर्थतन्त्र, खुल्ला बजार, बिस्वब्यापिकरण, प्रजातन्त्र र मनाबाधिकार जस्ता एक्काइसौँ शताब्दिका आधार स्तम्भहरुको पर्याय र प्रबक्ता समेत रहेको अमेरिकाले कुनै क्षेत्र बिशेषलाइ मात्र अलग्गै नियम र व्यवहार गर्नु न्यायोचित देखिन्न। कसैलाई आस्था कै आधारमा आफ्नो भुमि प्रबेशमा रोक लगाउनु अल्पकालीन रुपमा उनको संकीर्ण सोंच लाइ बल त पुग्ला तर अन्तत्वगत्वा अतिबादलाई नै फाइदा पुग्ने देखिन्छ।