मेक्सिको सीमामा पर्खाल निर्माण सम्बन्धमा बिभिन्न प्रतिक्रिया
वाशिङ्गटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका बखत ब्यक्त गरेका मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ मेक्सिकोको सीमाक्षेत्र एकहजार नौसय चवन्न माइल (लगभग तीन हजार एकसय सत्ताइस किलोमिटर) लम्बाइमा फैलिएको छ ।
यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला र बलिया बार, कतै काँडेदार तारका लखाकी त कतै तारजालीका बार ठड्याई एक हदसम्म सीमा सुरक्षा गरिएका छन् । तर, अब भने ती धातुका बार बेर हटाई पक्की पर्खाल निर्माण हुने भएको छ ।
पर्खाल लगाउँदा लाग्ने खर्च मेक्सिकोले नै व्यहोर्ने छ भन्ने कुरा उनले आफ्नो चुनावी अभियानको क्रममा स्पस्ट संग भनेर आफ्नो चुनावी सभालाई तताउने गरेका थिए ।
तर, अमेरिकाको यस्तो प्रस्तावले झस्केका मेक्सिकोका राष्ट्रपति इनरिक पेना नीटोले अस्विकार मात्र गरेनन त्यसो गर्ने काम मेक्सिकोको लागि लज्जाको बिषय हुने जनाएका थिए भने यसै हप्ता ट्रंपसंग भेट गर्ने कार्यक्रम समेत रद्ध गरिदिएका थिए ।
राष्ट्रपति नीटो अरबौँ डलरको लागत रहेको पक्कि पर्खाल निर्माण गर्ने कार्यको बिरोधमा रहेको र पर्खाल जसलाई चाहिएको हो उसले बनाउन पाउने तर मेक्सिकोको लागि भने त्यो अहिल्यै आबस्यक नरहेको बताएका थिए ।
मेक्सिकोले पर्खाल निर्माणको आंशिक लागत नबेहोर्ने भनी दोहो¥याई तेहो¥याई जनाएपछि राष्ट्रपति ट्रम्प पर्खाल निर्माण खर्च जुटाउने अर्कै उपाय अबलम्बन गर्नपट्टि लागेका छन् र मेक्सिकोबाट आउने समानमा बीस प्रतिशत कर लगाएर पर्खालको मुल्य चुक्ता गरिने बताउन थालेका छन् छ ।
ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले बताएअनुसार मेक्सिकोबाट अमेरिका आयात हुने सबैथरी सरसामानमा थप बीस प्रतिशत भन्सार महसुल तथा कर असुल गरी यस रकम पर्खाल निर्माणमा खर्च गरिने नयाँ प्रस्ताव राष्ट्रपति ट्रम्पले राखेका छन् । यस नयाँ प्रस्ताव सम्बन्धमा अमेरिका भित्रै र बाहिर पनि बिभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।
मेक्सिकोको सिमामा पर्खाल लगाउने ट्रंपको नारा सर्बाधिक चर्चित र उनका समर्थक माझ लोकप्रिय थियो र ट्रंपको यो कदम संगै उनका समर्थकहरु खुसि भएका छन् राजनीतिक नेताहरुले चुनावमा नारा त लगाउने तर जितेपछि अरु नै काम गर्ने नियति भोग्दै आएका मतदाताहरु उनको यो कदमले खुसि भएका हुन् ।
वारका पार पर्खाल निर्माण भएमा ठूलो परिमाणमा लागू पदार्थको तस्करी भई अमेरिका छिराउने प्रमुख मार्ग वैध वा अवैध जुनसुकै तरिकाबाट भएपनि आप्रवासीहरुको ओइरो लाग्ने द्वार सदाका लागि बन्द हुने, पारिपट्टि जहिले पनि मारपीट, गोली हानाहान, हिंसा हत्या र कहिलेकाहिँ त तस्करका दुइथरी समूहबीच चल्ने भयानक नरसंहार देख्नु, सुन्नु, बेहोर्नु नपर्ने बताउँछन् एरिजोना, क्यालिफोर्निया र टेक्सास निवासीहरु ।
यता, अमेरिकी अर्थ विश्लेषक भने मेक्सिकाली उत्पादनको आयातमा भन्सार तथा कर महसूल वृद्धि नै एक भरपर्दो र समुचित आयश्रोत नहुने बताउँछन् ।
यही आयकै भरमा पर्खाल निर्माण गर्छु भन्नु ब्यर्थको एक प्रलाप मात्र हुनजाने प्रतिक्रिया रहेको छ अर्थविद्हरुको । पर्खाल निर्माणको लागत जुटाउने सम्बन्धमा राष्ट्रपति ट्रम्पसँग ठोस कार्य योजना नभएको र विश्वसनीय आर्थिक श्रोत ठेगान लागेपछि मात्र निर्माण कार्य सुरु गर्नु बेस हुने सुझाव पनि उनीहरुले दिएका छन् । (RSS)