बाजागाजासहित अर्नाको भव्य स्वागत
रत्ननगर(चितवन), १४ माघ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गर्नुभएको छ ।
चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आज आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको एउटा परिवारको अङ्गका रुपमा अर्ना ल्याएकोसमेत उल्लेख गर्नुभयो । यसको संरक्षणका लागि सबै एकजुट हुनसमेत उहाँले आग्रह गर्नुभएको छ । सौराहामा आज अर्ना पुनःस्थापना कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले चितवन ल्याइएको ‘अर्ना हामी सबैको सम्पती हो’ भन्नुभयो । मन्त्री भण्डारीले हाल २० वटा अर्ना यहाँ ल्याउने स्वीकृत रहेको जनाउँदै अगामी दिनमा यसको सङ्ख्या बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
कोसीमा दुई दिन लगाएर समाइएको एक जोडी अर्नालाई आज उहाँले रिवन काटेर ट्रकमा राखेर निकुञ्ज प्रवेश गराउनुभएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा आज राति ७ः४५ बजे अर्नालाई खुला खोरमा लगेर छाडिएको छ ।
उहाँले कृष्णसार र बाह्रसिंगेलाई समेत चितवनमा ल्याउने तयारी गरिएको जानकारी गराउनुभयो । यस्तै मन्त्री भण्डारीले चितवन राष्ट्रिय निकुञ्जलाई कसरी राष्ट्रिय उत्पादनमा उपयोग गर्न सकिन्छ र समुदायलाई लाभ हुन्छ भन्ने विषयमा वन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । फरक प्रसङ्गमा उहाँले चितवन निकुञ्जको जङ्गलबीचमा रहेको बाँदरझुला बस्ती स्थानान्तरणका लागि सरकारले निर्णय गरेकोसमेत बताउनुभयो । कोसीबाट ल्याइएको अर्नालाई सौराहामा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । थारु समुदायले आफ्नै पोसाकमा सजिएर अर्नालाई स्वागत गरेका थिए ।(RSS)