पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरव सम्मानित
काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई आज वसन्तपुरमा आयोजित एक कार्यक्रममा मासिक भत्ताबापतको एकमुष्ठ रकम वितरण गरेको छ ।
महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एक वर्षको हुन आउने एकमुष्ठ रकम पूर्वकुमारीलाई रु एक लाख २० हजार तथा पूर्वगणेश र भैरवलाई रु ९६ हजारका दरले प्रदान गर्नुभएको हो ।
सो अवसरमा उनीहरुलाई श्रीपद् सम्मानवाट समेत सम्मानित गर्नुभयो ।
आव २०७०÷०७१ देखि महानगरपालिकाले पूर्वकुमारीलाई मासिक रु दश हजार तथा पूर्वगणेश र भैरवलाई मासिक रु आठ हजारका दरले मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।
सो अवसरमा कार्यकारी अधिकृत तामाङले सीमित स्रोतबाट सांस्कृतिक सम्पदाको उच्चतम् संवद्र्धन र प्रवद्र्धन गर्नुपर्ने बताउँदै मूर्त सांस्कृतिक सम्पदा संरक्षण गर्न सजिलो हुने भए पनि अमूर्त सम्पदाको लगत सङ्कलन तथा अद्यावधिक कार्य जटिल रहेको धारणा व्यक्त गर्नुभयो ।
हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जीवित देवीदेवता भएर रहिसक्नु भएका श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई सम्मान गर्नु महानगरको सम्पदाप्रतिको सम्मान भएको बताउनुभयो ।
कार्यक्रममा ४८ पूर्वकुमारीमध्ये आठ जनालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पूर्वकुमारी नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानीमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य र प्रीति शाक्य हुनुहुन्छ ।
नानीमैयाँ शाक्य २०१८ देखि २०२६ सालसम्म, सुनिता शाक्य २०२६ देखि २०३५ सालसम्म, अनिता शाक्य २०३५ देखि २०४१ सालसम्म, रश्मिला शाक्य २०४८ देखि २०५८ सालसम्म र प्रीति शाक्य २०५८ देखि २०६५ सालसम्म जीवित देवी कुमारीका रुपमा कुमारी घरमा रहनुभएको थियो । अहिले मनिता शाक्य जीवित देवी कुमारीका रुपमा हुनुहुन्छ ।
यसैगरी सम्मानित हुने पूर्वगणेशमा गणेश शाक्य, पुरुषोत्तम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रमन शाक्य र कपिलरत्न शाक्य हुनुहुन्छ भने पूर्वभैरवमा इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दीपक शाक्य, बालपुरुषोत्तम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्य हुनुहुन्छ । (RSS)