पर्यटकको गन्तव्य स्थल बन्यो पाल्पाको ‘काउँलेडाँडा’
(सुशिला रेग्मी)
रामपुर (पाल्पा), ११ माघ । झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ ।
वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो ।
छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा वन हिजोआज अम्रिसोले गर्दा इलामको चियाबगानको झल्को मेटाएको छ । काउलेडाँडा वन चियाबगानको झल्को मेटाउने भएपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ र आकर्षणको केन्द्रका रुपमा प्रख्यात बनेको छ ।
यहाँ लगाएको अम्रिसो फस्टाउँदै गएपछि अहिले यस क्षेत्र पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिन थालेको छ । काउलेडाँडाको माथिल्लो भागबाट उत्तरमा रहेका विभिन्न हिमशृङ्खला तथा तराईका विभिन्न स्थानको अवलोकन समेत गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।
अम्रिसोखेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका स्थानीयको जीवनशैलीमा पनि परिवर्तन आएको छ । एफएओको आर्थिक सहयोग, जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानीयको सक्रियतामा अम्रिसोखेती सुरु गरिएको हो ।
झन्डै २४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वनमा लगाएको अम्रिसोखेती, त्यहाँको मनोरम सुन्दर प्राकृतिक वातावरण अवलोकनका लागि हालसम्म ५६ जिल्लाबाट यहाँ आएको वन समूहका अध्यक्ष दमन थापा पाटाले बताउनुभयो ।
काउलेडाँडा वनमा लगाइएको अम्रिसोबाट २०७१ सालमा रु ७५ लाख र गत वर्ष रु ९२ लाख बराबरको आम्दानी भएको अध्यक्ष पाटाले बताउनुभयो । “सुरुमा अम्रिसोको संरक्षणमा केही समस्या आइलागे पनि पछिल्लो समय अम्रिसोबाट मनग्ये आम्दानी भइरहेको छ” उहाँले भन्नुभयो ।
अम्रिसो फुल खेल्ने समयमा बढी पर्यटकको सङ्ख्यामा वृद्धि हुने जनता प्राथमिक विद्यालय धार्केसिङका प्रधानाध्यापक भीमबहादुर रानाले बताउनुभयो ।
यस क्षेत्रको मगर संस्कृतिको संरक्षण गर्दै काउले वनसँगै झिरुवास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै अगाडि बढाउने काउलेडाँडा कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनुभयो ।
झिरुबास गाविस वडा नं ४, ६, ७, ८ र ९ का २२७ घर उपभोक्ता काउलेडाँडा वनमा आबद्ध रहेको कार्यालय सचिव वीरबहादुर पाटाले जानकारी दिनुभयो । यस वन समूहभित्र पनि १९ उपसमूह आबद्ध रहेर अम्रिसोखेती गर्दै आइरहेका छन् ।
झिरुवासमा सुरु गरिएको अम्रिसो खेती फस्टाउँदै गएपछि छिमेकी गाविस मित्याल, सहलकोटका स्थानीयले पनि खेती गर्न थालेका छन् ।
यहाँ अवलोकनका लागि आउने पर्यटकका लागि काउलेडाँडा वनको प्राकृतिक सुन्दर वातावरण अम्रिसोखेती मात्र नभई परम्परागत रुपमा लोपोन्मुख अवस्थामा रहेको कुडुले घर पनि रोचक र आकर्षक बनेको छ । यस क्षेत्रमा अहिले पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।