बिजी सप्ताहन्तको निजि अनुभव: सत्य घटना र काल्पनिक पात्र
January 18, 2017 | 8:10 am    
सप्ताहन्तका दिनहरु सामान्यतया ब्यस्त हुन्छन । कुनै न कुनै कार्यक्रम भएकै हुन्छन । डालसमा नेपालीहरुको संख्या बढे संगै संघ संस्थाहरु पनि बढेका छन् र उनीहरुका गतिबिधि पनि बाक्लिंदै गएको अबस्थामा सप्ताहन्तहरु व्यस्त भएर नै बित्छन । व्यक्तिगत रुपमा पनि नेपालीहरुले बिभिन्न खाले सामाजिक र धार्मिक क्रियाकलाप गर्ने हुँदा व्यस्तता स्वाभाविक छ । हप्ता भरि काममा जोतिनु पर्ने बाध्यता भएकोले निजि, सामाजिक र धार्मिक कार्यक्रम मात्र होइन चाडबाड पनि शनिबार वा आइतबार पार्न हाम्रो खप्परमा लेखेको छ । नेपालमा जस्तो दुइ चार हजार जनसंख्या भएको समुदायको चाडमा पनि देशैभर बिदा अमेरिकामा दिइदैन । धर्म निरपेक्ष भनिए पनि यहाँ क्रिस्चियन धर्मलाई मात्र रास्ट्रिय धर्मको रुपमा रास्ट्रिय बिदा दिने गरिन्छ । हाम्रा सामाजिक, धार्मिक र सांस्कृतिक गतिविधिहरुलाई दुइदिने सप्ताहन्तमा खुम्च्याउनु पर्ने भएकोले यो समय कृषकहरुको लागि असार महिना जस्तै हुन्छ ।
गत सप्ताहन्त पनि धेरै व्यस्त दिनहरु मध्य एक रह्यो । शनिबार एनआरएन अमेरिकाको पाँचौं साधारण सभामा दिन बिताइयो । अर्को दिन अर्थात् आइतबार नेजाको कार्यक्रम, बिस्व सन्देशको कार्यक्रम र साँझ एउटा बिबाहको अबसरमा रमाइलो गर्ने अवसर जुट्यो । यी दुइ बिजी दिनका मेरा निजि अनुभव तपाईंलाइ मात्र खुसुक्क सुनाउन चाहन्छु । ध्यान दिएर पढ्नु होला होला ।
एन आर एन अमेरिकाको पाँचौं साधारण सभा ( शनिबार)
यो सास केका लागि गरिएको थियो र त्यो उपलब्धि भयो भएन पक्कै आयोजकले मुल्यांकन गर्ने छन् । समय, पैसा र मिहिनेत कति खर्च भयो, सहभागीको खल्ती कति रित्तो भयो र त्यो अनुसारको परिणाम प्राप्त भयो वा भएन भन्ने पत्ता लगाउने जिम्मा पनि आयोजकलाई नै दिनु उपयुक्त होला । एक सहभागी वा पर्यबेक्षकको रुपमा भने यसको खर्च र उपलब्धि बारे केहि भन्न मन लाग्यो । यो सभा उद्घाटन गर्न नेपाल सरकारका पररास्ट्र मन्त्रि नै आएको हुनाले यो चानचुने कार्यक्रम पक्कै होइन । डिसी स्थित नेपाली राजदुत, एनआरएन आइसीसीका उपाध्यक्ष समेत उपस्थित भएकोले यो गणनीय कार्यक्रम मै पर्छ । अमेरिकाको बिभिन्न राज्यबाट एनआरएनका पदाधिकारी, सामाजिक नेता, पत्रकार र सर्बसाधारण पनि त्यहाँ आएका थिए । ठुलो भुँडी भएका, तालु खुइलिएका पुरुषहरु देखि झकिझकाउ भएर महिलाहरु पनि आएका थिए । तर तिनले गर्न पर्ने काम गरे त ? वा गर्न नहुने काम पनि गरे कि ?
मलाई चाहिं यो कार्यक्रम अबधिभर भएका गतिविधिले निरास बनायो । शनिबार पहिलो चरणमा उद्घाटन समारोह थियो । त्यस्तै च्याप्टरहरुको गतिबिधि सम्बन्धि कार्यक्रम, नेपालमा लगानी सम्बन्धि सामग्री, बिधानमा संसोधन गर्ने सम्बन्धि फोरम थिए जुन महत्वपूर्ण हुन् । उद्घाटन समारोहमा मान्छे हलभरि टनाटन थिए । उनीहरुले पररास्ट्र मन्त्रीका कुरा सुने पनि । तर त्यसपछि भएका गतिला कार्यक्रमहरुमा उपस्थिति लाजमर्दो रह्यो । नेपालीहरुका हरेक कार्यक्रममा प्राय यस्तै हुन्छ । आयोजकहरु थुप्रै खर्च गरेर, मिहिनेत गरेर यस्ता महत्वपूर्ण अवसर जुटाउँछन् । प्रस्तोताहरु थुप्रै समय र लगाव लगाएर त्यसको लागि सामग्री तयार गर्छन । तर जब प्रस्तुत गर्ने बेला हुन्छ, सहभागीहरु हलबाहिर बसेर “थाङ्ग्ने गफ” गर्न ब्यस्त हुन्छन । बारमा बसेर रक्सीको चुस्की लिंदै र जाँडको तालमा बाझाबाझ र झगडा गर्दै महत्वपूर्ण समय खेर फाल्छन । हलभित्र दिर्घकालिन महत्व राख्ने बिषयमा कुरा भैरहेका हुन्छन भने हलबाहिर रक्सि डकार्दै गफ हाँकिरहेका पाइन्छ ।
भर्खर प्रकाशित तथ्यांक अनुसार अमेरिकामा नेपालीहरुको संख्या दुइ लाख पचास हजारको हाराहारीमा छ । त्यसमध्य एनआरएन अमेरिकाका करिब १० हजार मात्र सदस्य छन् । ती मध्ये यो कार्यक्रममा करिब ५ सयको संख्यामा उपस्थिति थियो । ती मध्ये फेरी ४५० जति बाहिर “अनाबस्यक गफ” मा ब्यस्त थिए भने भित्र जहाँ नीति नियम निर्माण गर्ने तहको छलफल भैरहेको थियो, ५० जना जति थिए । ती ५० जनामध्ये ४० जना “तालि पिट्ने” थिए भने बाँकी १० जना पाखुरा सुर्किंदै, मुढे बलको भरमा विधानका धारा र उपधारा पास वा फेल गराउने “कर्तुत” गर्छन । बिधानको संसोधन गर्न गठित व्यक्तिहरु “खल्ती” बाट अण्टसण्ट कुरा निकाल्ने र बाहिर बस्नेहरु आफ्नो “निजि चासो” लाइ ध्यानमा राखेर पाखुरा बजार्दै पास गराउन वा फेल गराउन मरिहत्ते गर्ने । लाग्थ्यो त्यहाँ सदनमा सत्तापक्ष र बिपक्ष जस्तै मन्चमा आसिनहरु सत्तापक्ष हुन् र बाहिर बस्ने प्रतिपक्ष । मलाई लाग्छ, नेपालीहरुका कार्यक्रममा हुने यस्ता “गाइजात्रा” अन्त्य गर्न आगामी दिनमा आयोजना गरिने कुनै पनि कार्यक्रममा “जाँड पानी” पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्छ । अनि बाहिर बसेर गफ गरेर समय कटाउनेहरुलाई जबर्जस्ति कार्यक्रमा उपस्थित गराउनु पर्छ । नत्र लाखौँ डलर खर्च गरेर यस्ता कार्यक्रम आयोजना गर्नुको कुनै अर्थ छैन ।
नेजाको अन्तरक्रिया कार्यक्रम (आइतबार)
आइतबार बिहान ११ बजे नेपाल अमेरिका पत्रकार संघको एउटा अन्तरक्रिया कार्यक्रम थियो । एनआरएन अमेरिकाले अहिले सम्म गरेका कामहरुको समिक्षा गर्ने र आउँदो नेतृत्व कस्तो हुनुपर्छ भन्ने बिषयमा यो अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा एनआरएनका थुप्रै पदाधिकारीहरु लगायत नेपाली समाजका मुर्धन्य व्यक्तित्वहरुले भाग लिनु भयो । नेजाका अध्यक्ष भोला आचार्य सभापति हुनुहुन्थ्यो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ अतिथि हुनुहुन्थ्यो । सम्भावित उम्मेदवारहरु गौरी राज जोशी, राम पोख्रेल, रबिना थापा, रबिन बज्राचार्य, हरिश चन्द्र हमाल लगायतले आफ्ना सारगर्भित मन्तब्य दिनुभएको थियो ।
पत्रकारहरु कै आयोजना भएकोले केहि पत्रकारहरु पनि उपस्थित हुनुहुन्थ्यो । तर डालसमै रहनु भएका केहि पत्रकारहरु भने त्यो कार्यक्रममा अनुपस्थित रहनु भयो । जुनसुकै कारणले उहाँहरु अनुपस्थित रहे पनि सहभागीहरुलाई भने कौतुहलता उत्पन्न भएको थियो । “पत्रकार भनेका त समाज परिबर्तन गर्न सक्ने क्षमता भएका बुद्धिजीवी मान्छे हुन् भनेको त यिनीहरु पनि “उही ड्याङ्गका मुला” नै रहेछन” भनेर कतिपयले भन्दै थिए । कुण्ठा र संकीर्णता मानबिय अबगुण पक्कै हुन् तर “समाज सुधार्ने” जिम्मा लिएका पत्रकारहरु पनि त्यहि रोगबाट ग्रस्त हुनु राम्रो लक्षण होइन । आफ्ना जायज चासोलाइ अर्थपूर्ण मन्चमा बहस गर्दै हल गर्नु पर्नेमा “अँध्यारा कोठा” का प्रतिष्पर्धा बिहिन छलफलमा बिस्वास गर्नु आफ्नै क्षमता माथिको अविस्वास हो । “टुरिस्ट” पत्रकारहरुको बर्चस्व भत्काउन चाहने हो भने “सहि पत्रकार” हरुले सिरक भित्रबाट मुड्की ताक्न बन्द गर्नु पर्छ र संगठन भित्रै खुल्ला रुपमा चुनौती दिन सक्नु पर्छ । नत्र कसैले चाहेर होस् या नचाहेर होस् मिसिसिपी र पोटोम्याक नदीमा पानी बगिरहन्छ । पृथ्वीको परिभ्रमण र परिक्रमण पनि चलिरहन्छ ।
बिस्व सन्देशको १० औं बार्षिकोत्सब
केहि समय अघि हामी ५ जना मिलेर एउटा पत्रिका प्रकाशन गर्ने जमर्को गरेका थियौं । तर धेरै हाम्रा आन्तरिक कमजोरी र केहि बाह्य समस्याका कारण त्यसलाई लामो समय सम्म निरन्तरता दिन सकिएन । त्यसैले केहि महिनाको अनुभवबाट पनि पत्रिका निकाल्दाको “प्रसव बेदना” मलाई थाहा छ । पत्रिकाको लागि चाहिने “अर्थपूर्ण” सामग्रीको खडेरी संगसंगै आर्थिक पक्ष यसका मुख्य चुनौतिका पहाडहरु हुन् । पत्रिका संचालनको लागि आबस्यक पर्ने बिज्ञापन दाताहरु समाजका “ठुला माछा” हरु हुन् । उनीहरु बिज्ञापन संग “बफादारी” को अपेक्षा गर्छन । स्वतन्त्र होइन “हनुमान पत्रकार” उनीहरुका “बिज्ञापन दिन लायक” पात्र मानिन्छन । चाकडी नगर्ने र कृत्रिम प्रशंशाको आत्मरति प्रदान नगर्ने पत्रकारलाइ वरिपरि देख्न नचाहने “समाजसेवी” हरुको बोलवाला भएको यो ठाउँमा ‘ठुला माछा”को भजन कृतन नगरी पत्रिका निकाल्नु “टाउकाले पहाड फुटाले जस्तै हो ।
यी र यस्तै अन्य थुप्रै विषम परिस्थितिमा १० बर्षसम्म लगातार पत्रिका निकाल्नु चानचुने कुरा होइन । यसमा “अर्थ” आर्जन गर्न के कति सम्झ्यौता गर्नु भएको छ,त्यो त उहाँहरुलाई नै थाहा होला तर जे जसरी भए पनि अमेरिकामा यति लामो यात्रा तय गर्नु आफैमा ठुलो उपलब्धि हो । नेपाली भाषा, साहित्य र समुदायको सेवा गरे बापत मित्र विजय पौडेल र रोशन ढुंगानालाइ धन्यवाद भने दिनै पर्छ । रमाइलो रेस्टुरेन्टमा भएको त्यो डिनर सन्ध्यामा पनि सबैले उहानाहरुलाई बधाई दिनु भयो । त्यो दिनको त्यो एउटा अर्थपूर्ण कार्यक्रम थियो ।
बिस्व सन्देशको कार्यक्रम पछि मित्र अंग राज तिमिल्सिनाको भाइको बिहेको “बिहेभोज” मा सामेल भैयो । भाइ नबिन र बुहारी रजनी अत्यन्त मजाका रैछन । भाइले गीत पनि गाउने रैछन । उनि अत्यन्त हँसिला र प्रतिभावान रैछन । बुहारी सुन्दर, सुसिल र भद्र रैछिन । दुबैले सबैलाई नाचगान र सौम्यताबाट द्रवित तुल्याए । बाहिर घनघोर पानी परिरहेको थियो भने भित्र संगीत र नाचको माहोल थियो । मेरो आइतबारको त्यो तिनको अन्त्य त्यो भन्दा सार्थक साँझबाट गर्न असम्भव थियो । त्यसको लागि अंगराज जीलाई मुरी मुरी धन्यवाद । यसरी मेरो बिजी सप्ताहन्त समाप्त भयो र मेरो निजि अनुभवको कहानी पनि यहीं समाप्त भयो । (लेखनाथ गौतम)