रोल्पामा निर्मित हाइड्रोलिक पम्पको सांसद अमरसिंह पुन द्वारा उद्घाटन
लिबाङ (रोल्पा), २३ पुस । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपालमै पहिलोपटक रोल्पामा एकैसाथ जडान गरिएका पाँचवटा हाइड्रोलिक ¥याम (पापा) पम्पको एक भव्य समारोहका बीच शुक्रबार उद्घाटन गर्नुभएको छ ।
कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना (आइप्याक) र रिन्युएवल वल्र्डले ¥याम (पापा) पम्प निर्माण कार्य सम्पन्न गर्नका लागि करिब रु २२ लाख आर्थिक सहयोग गरेको थियो भने बाँकी उपभोक्ता मार्फत नगद तथा जनश्रमदानबाट सम्पन्न भएको आइप्याक परियोजनाका क्षेत्रीय परियोजना अधिकृत गङ्गाप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रारम्भिक सर्वेक्षणदेखि करिब डेढ वर्षको समयावधिमा पम्पको निर्माण कार्य सम्पन्न भएको हो ।
दलित तथा विपन्न समुदायको बस्ती रहेको झेनाम गाविस वडा नं ७ को सेउलीबाङमा सांसद पुनले पम्पको उद्घाटन गर्नुभएको हो ।
पम्पले सिँचाइका लागि पानी तान्ने काम गर्छ । समुदायका ३९ घरधुरीमध्ये ३१ घरधुरीले पम्पबाट सिँचाइको सुविधा लिन सक्ने बताइएको छ । यसरी प्रतिघरधुरी दुईदेखि तीन रोपनी जमिनमा सिँचाइ गर्न सकिने परियोजनाले जनाएको छ ।
उद्घाटनका क्रममा सांसद पुनले रोल्पालीहरुको मुख्य दुष्मन भूगोल भएको बताउनुभयो । बत्तीमुनि अँध्यारो भनेझँै दाङ र सल्यानको सिमानामा रहेको झेनाम गाविस शिक्षा, स्वास्थ्य, यातायात तथा बिजुलीको उज्यालोबाट अझै पनि वञ्चित रहेको भन्दै पुनले रोल्पालीको मुख्य दुष्मन भूगोल भएको बताउनुभयो ।
यी आधारभूत आवश्यकता पूरा गर्नका लागि जनता स्वयम् सजग र सचेत बन्नु पर्नेमा सांसद पुनले जोड दिनुभयो ।
झेनामवासीलाई पुनको सुझाव थियो – “बच्चा पनि नरोई दूध खान पाउँदैन, तपाईंहरु आफ्ना आधारभूत आवश्यकता पूरा गर्नका लागि आफैँ सचेत बन्नुपर्छ । यसका लागि गाउँ परिषद् हुँदै विभिन्न चरणमार्फत जिल्ला परिषद्सम्म आफ्ना माग राख्न क्रियाशील रहनुस् ।”
यसैबीच, कार्यक्रमका विशिष्ट अतिथि स्थानीय विकास अधिकारी सुशील वैद्यले कुनै पनि योजना बन्नु महत्वपूर्ण काम भए पनि त्योभन्दा महत्वपूर्ण योजनालाई मर्मत सम्भार गरेर दिगो रुप दिनु नै हुने बताउँदै यसको संरक्षण र सम्वद्र्धन गर्न स्थानीयवासीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा आड्रा नेपालका संयोजक विद्या महत, सेउलिबाङ हाइड्रोलिक ¥याम (पापा) पम्पका उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बस्नेतलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो ।