कमलमणि दीक्षित: जसले हाम्रो ज्यान बचाए
ठ्याक्कै दिन याद भएन, २०५९ सालको जाडोको महिना थियो । म सामान्यतया बिहान १० देखि ११ बजेको बिचमा च्यानल नेपालको मिनभवन स्थित अफिस पुग्थें । तर त्यसदिन बिहान नौ बजे नै एउटा रिपोर्टिंगमा जानु पर्ने थियो, त्यसैले म बिहान ८:३० बजे नै अफिस पुगिसकेको थिएँ । म हिड्न लाग्दै गर्दा समाचार प्रमुख योगेश उपाध्याय टुप्लुक्क आइपुग्नु भयो । त्यस बिहान मुग्लिन र मलेखुको बिचमा एउटा बस दुर्घटनाको खबर सुनेर त्यसको समाचार संकलनका लागि रिपोर्टर पठाउने उद्धेश्यले योगेश दाइ अफिस पुग्नु भएको थियो । सायद घरबाट त्यो सबै संयोजन हुन नसके पछि साबिकको समय भन्दा छिटो उहाँ अफिस पुग्नु भएको थियो | मलाई देख्नासाथ म जान लागेको रिपोर्टिंगमा अरु कसैलाई पठाउने भन्दै मलाई दुर्घटना स्थलमा जान अह्राउनु भयो | बास्तबमा योगेश दाइ आउनु भन्दा पहिलेनै म हिंडीसकेको हुनुपर्ने थियो । तर अघिल्लो दिन हराएको वालेटसंगै मेरो अफिसको लकरको चाबी पनि रहेकोले म संग समाचार खिच्ने क्यासेट थिएन । म अर्काइभको कुनै स्टाफ वा कुनै साथी,जसले मलाई क्यासेट उपलब्ध गराउन सक्छ, लाई कुरेर बसेको थिएँ । जसले गर्दा त्यो बिहान योगेश दाईसंग मेरो अफिसमा भेट हुन पुग्यो । सम्पादकको आज्ञा सिरोपर गर्दै म दुर्घटनाको रिपोर्टिंगका लागि हिँडे क्यामेरा म्यान किशोर थापा संगै ।
हामी गाडीमा बस्नासाथ नयाँ चालक देखे पछि मैले हामी जान लागेको ठाउँका बारेमा जानकारी गराउंदै हाईवेमा उनि अभ्यस्त भए नभएको बारेमा जिज्ञासा राखें । चालकले पहिला आफुले रात्रि बस चलाउने गरेको जानकारी गराए पछि म र किशोर ढुक्कसंग गाडीमा बस्यौं । नैकापको ओरालो लाग्दै गर्दा चालकले गाडीको गति अप्रत्यासित रूपमा बढाए पछि मैले उनलाई गाडी सामान्य गतिमा चलाउन आग्रह गरें । उनले उल्टै रात्री बस चलाएको अनुभब बताउंदै मलाई नडराई बस्न सुझाए । तर मैले नमाने पछि उनले गाडीको गति केहीबेरका लागि कम गरे । थानकोट प्रहरी चौकी काटे पछि उनले गाडीको इमर्जेन्सी लाइट बालेर फेरी गाडीको गति बढाए । मैले उनलाई चतावनीको शैलीमा गति कम गर्न आग्रह गरें, उनलाई आग्रह गर्दा गर्दै हामी चढेको मारुती भ्यान नागढुंगा चेकपोस्ट भन्दा केहि वर उकालो मोडमा उताबाट आएको एउटा बससंग ठोकियो । नागढुंगा तिर गैरहेको हुँदा हामी कुना पट्टिको लेनमा थियौं, जसले गर्दा हाम्रो गाडी भीरबाट खसेन बरु दुई बल्ड्यान्ग खाँदै कुनातिर पल्टियो । गाडीको विन्डशील्ड उछिटिएर २० फिट पर पुगेको थियो, ट्रंकको ढोका बटारिएको थियो ।
मैले आफुलाई सम्हाल्दै सर्वप्रथम टाउको छामे, टाउकोमा चोट अनुभव नगरे पछि, आफु ठिक भएको ठानी म बाहिर निस्कें । म बाहिर निस्की सक्दा ड्राइभर भागिसकेको थियो । बसबाट मान्छे ओर्लिएर किशोर लाई निकाले । दायाँ हातको औंलामा लागेको चोट बाहेक म सामान्य नै थिएँ, तर किशोरको हत्केलाबाट रगत बगिरहेको थियो । सायद उसले एउटा हातले क्यामेराको लेन्स पट्टि समातेको थियो र लेन्सले उसको हत्केलामा गहिरो गरी काटेको थियो । उसको अवस्था देख्ना साथ म चिच्याउन थालें “ हामीलाई अस्पताल पुराइदेउ”, तर त्यो उपायको संकेत सम्म पनि त्यहाँ थिएन । माओबादीको द्वन्दका कारण पैदल गस्ती गरिरहेका सैनिक र प्रहरी समेत त्यहाँ आइपुगे, उनीहरुसंग पनि सबैले आग्रह गरे तर तत्काल व्यवस्था हुन सकेन | थानकोट प्रहरी चौकीमा सम्पर्क गर्दा उनीहरुको भ्यान पनि अन्त कतै गएको जानकारी आयो | मेरो हातको चोटलाई जोडले समाएर रक्तस्राब रोकिरेहेको थिएँ तर किशोरको त्यो सम्भब भैरहेको थिएन । म किशोरको अवस्था देखेर हतोत्साहि भैरहेको थिएँ । त्यो बिचमा मैले सबै घटना योगेश दाइलाई जानकारी गराइसकेको थिएँ र अफिसबाट गाडी हामीलाई लिन हिंडिसकेको थियो । तर किशोरको अवस्था हर्दा अफिसको गाडी आइपुग्दा ढिलो हुने प्रस्ट थियो ।
त्यत्तिकैमा एउटा कार आइपुग्यो, म सिधै झम्टिन पुगेँ । गाडीमा हुनुहुन्थ्यो नेपालका एकजना मुर्धन्य साहित्यकार एवं मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षित । मेरो आग्रह सुन्नासाथ उहाँले हतार गरि गाडीमा बस्न सुझाउनु भयो । हामी दुइजना उहाँको गाडीमा बस्यौं | मैले घटना विवरण सुनाएँ । उहाँले आफ्नो चालकलाई साबधानी पुर्बक गाडीको गति बढाउन अह्राउनु भयो । मैले झस्किदै हाम्रो गाडीको चालकको क्रियाकलापका बारेमा सुनाएँ । उहाँले हामीलाई बिश्वस्त तुल्याउनु भयो । यता किशोरको हातबाट बगिरहेको रगतले गाडीको पछाडिको सिटमा बिछ्याईएको गलैचा रंगिएको थियो भने किशोर अर्धचेत अवस्थामा पुगेको थियो । मैले मेरो ज्याकेटले उसको हात बाँधेर जोडले समातिरहेको थिएँ । म निकै आत्तिरहेको थिएँ किशोरको अवस्था देखेर । ऊ पटक पटक उही कुरा सोधिरहेको हुन्थ्यो – हाम्रो गाडी “एक्सीडेन्ट” भएको हो ? अफिसमा खबर गर्यौ ? ऊ पाँच पाँच मिनेटमा त्यहि कुरा सोधि रहन्थ्यो । म झन् आत्तिरहेको थिएँ ।
थानकोट देखि बिर अस्पतालको यात्रा मलाई निकै लामो लागेको थियो । कमलमणिज्युले “अब केहीबेरमा अस्पतला पुग्छौँ, नआत्तिनुस” भन्दै सम्झाइरहनु भएको थियो । त्यो बिचमा मन बहलाउन मैले मदन पुरस्कार, मदन पुस्तकालयका बारेमा पनि कुरा गरें । अस्पताल पुगे पछि गाडी पछाडिको सिट रगत्याम्मे भएकोमा क्षमा माग्दै र सहयोगको लागि धन्यबाद दिदै गर्दा उहाँले मलाई रोक्दै भन्नु भयो ‘यो केहि ठुलो कुरा होइन, ढिला नगरी ऊ भाइलाई भित्र लिएर जानुस ।’ मैले किशोरेलाई लिएर भित्र पसें, इमर्जेन्सी कक्षमा संजय लगायतका साथीहरु आएर हामीलाई कुरेर बसेका थिए | हामी पुगेको केहीबेरमा बिर अस्पतालको आकस्मिक कक्षमा त्यहि दुर्घटनाका बिरामीको भिड लागेको थियो । उनीहरु संगै उपचार गराएर केहि घन्टाको अस्पताल बसाइ पछी हामी घर गयौं ।
एक हप्ताको आराम पछि मैले कमलमणि दिक्षितज्यूलाई फोन गरेर पुनः धन्यबाद प्रकट गरें । मेरो फोन पाएपछि उहाँले खुसि प्रकट गर्दै भन्नु भएको थियो “ अ हो लौ खुसि लग्यो, त्यो भाइ(किशोर)को अवस्था देखेर मलाइ पनि भित्र भित्रै डर लागि रहेको थियो, तपाईं झन् आत्तिनु हुन्छ भनेर मैले त्यति खेर कुनै भाब प्रकट गरिन ।”
किशोर सधै कमलमणि दिक्षितलाई सम्झिरहन्थ्यो र भन्ने गर्थ्यो “ उहाँलाई केहि सहयोग गर्न पाए वा केहि उपहार दिन पाए हुन्थ्यो ।”
त्यस पछि उहाँलाई धेरै पटक पढेको र सुनेको भएता पनि प्रत्यक्ष भेट भएन । उहाँको स्वर्गारोहणको समाचार सुन्ना साथ त्यो घटना पुरै दिमाग भारी नाचीरह्यो । वास्तबमा वहाँ त्यतिखेर हाम्रा लागि इश्वरका दुत बनेर प्रकट हुनुभएको थियो ।
नेपाली भाषा, साहित्य र इतिहासका मुर्धन्य ब्यक्तित्व एवं म र मेरो साथीका जीवन रक्षक आदरणीय कमलमणि दीक्षित प्रति हार्दिक श्रद्धासुमन । (संस्मरण:सुरेश पोख्रेल, डालस, टेक्सास)