बस्ती विस्तारमा रोक लगाउन मतदान गर्ने राष्ट्रसँग इजरायलद्वारा नियन्त्रित सम्बन्ध राख्ने
जेरुसेलम (इजरायल), १२ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा गत शुक्रबार विवादास्पद पूर्वी जेरुसेलम र वेस्ट ल्यान्डमा इजरायलले बस्ती विस्तारमा रोक लगाउने प्रस्तावमा मतदान गर्ने सदस्य राष्ट्रसँगको इजरायली सम्बन्धलाई अस्थायी रुपमा कम गर्ने इजरायली विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इमानुयल नाहसोनले इजरायललाई असर पुग्ने गरी राष्ट्रसङ्घमा भएको उक्त निर्णयपछि मतदान गर्ने सुरक्षा परिषद्का सदस्य राष्ट्रसँगको सम्बन्ध विच्छेद गरेको भन्ने भनाई सत्य नभएको तर उक्त राष्ट्रका राजदूतावाससँग गतिविधिलाई अस्थायी रुपमा नियन्त्रण गरिएको बताउनुभयो ।
अर्को सूचना नहुँदासम्म हाम्रो ती राष्ट्रका राजदूतावाससँगको सम्बन्धलाई सीमित गरिने छ, साथै इजरायली अधिकारीद्वारा सुरक्षा परिषद्मा इजरायलको भावना विपरित मतदान गर्ने राष्ट्रका लागि तय गरिएका भ्रमण पनि रोक्न इजरायली विदेश मन्त्रालयले आग्रह गरेको जनाइएको छ ।
इजरायलद्वारा यस पहिले नै न्युजिल्यान्ड र सिनेगलका लागि आफ्ना राजदूतलाई परामर्शका लागि स्वदेश बोलाएको छ भने अफ्रिकी मुलुकका लागि तय गरेका सबै कार्यक्रम रद्द गरेको छ ।
नाहसोनले इजरायलद्वारा एङ्गोलाका लागि घोषणा गरेको सहायता रकम फ्रिज गर्ने मङ्गलबार जानकारी गराएको बताउनुभयो ।
इजरायली सञ्चारमाध्यमले इजरायली पूर्व विदेशमन्त्रीका रुपमा अनुभवी तथा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा परिषद्मा मतदान गर्ने मुलुकका लागि तय भएका कार्यक्रममा हाललाई सकेसम्म कम भ्रमण गर्न आग्रह गर्नुभएको जनाएका छन् ।
नेतन्याहूले आगामी महिना बेलायती प्रधानमन्त्रीसँग डामोसमा हुने ‘वल्र्ड इकोनोमिक फोरम’को सेरोफेरोमा गर्ने भनी तय गर्नुभएको भेटवार्ताको कार्यक्रम रद्द गरेको बताइएको छ । यद्यपि यसको औपचारिक पुष्टि भने आएको छैन ।
मतदानपछि युक्रेनी प्रधानमन्त्रीको इजरायलका लागि यसै हप्ताका लागि तय भएको भ्रमण र सिनेगाली विदेश मन्त्रीको भ्रमण रद्द भएका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो प्रशासनका अन्तिम समयमा आएर षड्यन्त्रमूलक तरिकाले इजरायली बस्ती विस्तारविरोधी सङ्कल्प प्रस्तावलाई पास गर्न सधाएको भनी यो ‘लज्जास्पद’ विषय भएको प्रतिक्रिया दिनुभएको थियो ।
अमेरिकाले अनुपस्थित हुनुको सट्टा उपस्थित भएर इजरायलको पक्षमा भिटो लगाएको भए प्रस्ताव पास हुने थिएन तर अमेरिकाले सुरक्षा परिषद्मा अनुपस्थित भई प्रस्ताव पारित गर्न दिन ‘लज्जास्पद’ अभिनय गरेको नेतन्याहूको भनाइ थियो ।