बस्ती विस्तार रोक्ने मतदान महत्वपूर्ण कदम : बान की मून
संयुक्त राष्ट्रसङ्घ, ११ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राष्ट्रसङ्घ सुरक्षा परिषद्ले इजरायल र प्यालेस्टिनीबीचको विवादास्पद भूमि वेस्ट ल्यान्ड र पूर्वी जुरुसेलममा इजरायलद्वारा बस्ती विस्तार नगर्ने विषयमा दिएको निर्णयलाई ‘एउटा महत्वपूर्ण कदम’ भएको बताउनुभएको छ ।
महासचिव बानले शुक्रबार सुरक्षा परिषद्बाट १४ मतका विरुद्ध शून्य मत अन्तरले गरिएको निर्णय विश्व समुदायबाट भएको संयुक्त प्रयास भएको जनाउनुभएको छ ।
मतदानमा सुरक्षा परिषद्का सदस्यमध्ये अमेरिका भने अनुपस्थित थियो । निर्णयले प्यालेस्टिनी र इजरायली जनता बसोबास गर्दै आएको उक्त भूमिबारे प्यालेस्टिनी तथा इलरायली पक्षको पारस्परिक पहलका आधारमा समस्याको समाधान खोज्न सकिने मार्गलाई खुला गरेको छ, बानले भन्नुभयो ।
प्रवक्ता स्टेफेन डुजारिकले भन्नुभयो, महासचिव बानद्वारा इजरायली र प्यालेस्टिनी नेताहरुलाई अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै समस्या समाधानका लागि अर्थपूर्ण पहलको वातावरण सिर्जना गर्न प्रोत्साहन भएको बताउनुभयो ।
राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी ड्याननले बस्ती विस्तारको विपक्षमा निर्णय हुनु विडम्वनापूर्ण समेत भएको बताउनुभयो ।
ड्याननले सुरक्षा परिषद्ले बस्ती विस्तारमा लगाएको रोकले उक्त क्षेत्रमा शान्ति स्थापना हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।
मतदानमा अमेरिका भने उपस्थित थिएन । सदस्यमध्ये कुनै एक सदस्यले मात्रै भिटो लगाएको भए निर्णय लिन सकिँदैनथ्यो ।