इजरायली बस्ती विस्तारबारे गरिएको ‘ऐतिहासिक’ मतदानको जोर्डनद्वारा प्रशंसा
अम्मान (जोर्डन), ९ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्द्वारा पूर्वी जेरुसेलमसहित प्यालेस्टिनी भूमिमा इजरायलले गर्न लागेको बस्ती विस्तारलाई रोक्न भनी दिएको निर्णय स्वागतयोग्य भएको शनिबार जोर्डनले बताएको छ ।
पन्ध्र सदस्यीय सुरक्षा परिषद्को शुक्रबार भएको बैठकले प्रस्तावलाई पास गरेको थियो । प्रस्तावमाथि भएको मतदानमा अमेरिका अनुपस्थित रह्यो । इजरायलले प्रस्तावको विपक्षमा मतदान गर्नुपर्ने अडान राख्दै आएको थियो भने अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले इजरायली अडानलाई समर्थन गर्दै आउनुभएको थियो ।
जोर्डनले सुरक्षा परिषद्को निर्णयसँगै अब प्यालेस्टिनी तथा पूर्वी जेरुसेलमको भूमि विवाद दुई राष्ट्रबीच हुने सहमतिका आधारमा समाधान गरिनुपर्ने आफ्नो पूर्व अडानलाई दोहोराएको छ ।
‘ऐतिहासिक निर्णयले विश्व समुदायद्वारा इजरायली बस्ती विस्तारलाई अवैध भएको भनी मतैक्यता व्यक्त गर्नुका साथै प्यालेस्टिनी जनताको जेरुसेलम र ऐतिहासिक भूमिमा बस्न पाउने ऐतिहासिक अधिकारलाई सुनिश्चित गरेको छ, जोर्डनी सूचना मन्त्री मोहम्मद अल मोमानीले बताउनुभयो ।
विवादास्पद उक्त भूमिमा करिब चार लाख ३० हजार इजरायली जनता वेस्ट बैंकमा बसोबास गर्छन् भने करिब दुई लाख इजरायली पूर्वी जेरुसेलममा बसोबास गर्दै आएका छन् । प्यालेस्टिनी जनताले उक्त भूमिलाई आफ्नो भविष्यको राजधानीका रुपमा हेर्दै आएका छन् ।
राष्ट्रसङ्घ सुरक्षा परषद्को प्रस्तावले इजरायललाई प्यालेस्टिनी भूमिमा बस्ती विस्तार गर्ने सम्पूर्ण गतिविधिलाई तत्कालै रोक्न माग गरेको छ ।